२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नयाँ पुस्ता राजनीतिमा आउनुको विकल्प छैन्



दीपक अनुरागी ।

पूर्व चर्चित पत्रकार तथा वर्तमान विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले एक अन्तर्वार्ताका क्रममा भन्नुभएको थियो– ‘एकातिर देशको राजनीति सुध्रिएन भन्छौं, अर्को तिर आफ्ना छोराछोरीलाई डाक्टर, पाइलट, इन्जिनियर बनाउने, नभएर विदेश पठाउने योजना बनाउँछौं । अनि कसरी सुध्रिन्छ देशको राजनीति ? अब देशको राजनीति सुधार्नु छ । आफ्ना छोरा छोरीलाई पनि राजनीतिमा प्रवेश गराऔं ।’

पक्कै पनि नेता मिश्रको यो भनाईमा गम्भीरता लुकेको छ ।

देश चलाउने नीति राजनीति हो । अर्को अर्थमा नीतिहरुको राजा भनेर पनि राजनीतिलाई लिइन्छ । अहिलेको आधुनिक संसारमा राजनीति विनाको मुलुकको कल्पना गर्न सम्भवत् सकिँदैन् । राजनीतिमा दर्शन कस्तो अवलम्वन गर्ने ? कस्तो दर्शनलाई समर्थन गर्ने ? कुन राजनीतिक दलमा आस्था राख्ने ? यी कुरा बैयक्तिक कुरा हुन् । जुनसुकै आस्था, विचार र सिद्धान्तलाई व्यक्तिले समर्थन गर्न र शुभेच्छा दर्शाउन पाउँछ । नेपालमा विभिन्न दर्शनलाई अगाल्ने राजनीतिक दलहरु छन् ।

नेपालको इतिहास आफ्नै किसिमको छ । भौगोलिक हिसाबले संसारको नमुना देशका रुपमा रहेको नेपाल बहुजाती, बहुभाषी, बहुधार्मिक मुलुक हो । भौगोलिक हिसाबले संसारको सुन्दर देश रहेपनि एक्काइसौं शताब्दीमा गरिबीको उपमा बोकेको देश नेपाल हुन पुगेको छ । जुन नेपालीका लागि असाध्यै दुःखको कुरा हो । अझ आधारभूत तहको अध्ययनमै नेपाल संसारको दोस्रो गरिब देश भएको कुरा गुरु, गुरु आमाले पढाएको पढाई हुनुहुन्छ । यो कुरा मेरो मनमा पनि ताजै छ । त्यो बेला खुबै घोकिन्थ्यो, संसारको इथियोपिया पहिलो गरिब देश, दोस्रो नेपाल !

००७ सालमा प्रजातन्त्र ल्याउनका लागि हाम्रा पूर्खाले राणा विरुद्ध लडेको इतिहास, ०४६/०४७ सालमा बहुदल ल्याउन पुर्खाले गरेको वलिदान र आफ्नै आँखा अगाडी देशमा लोकतन्त्र, गणतन्त्र स्थापना गर्नका लागि हाम्रा बाबुआमा, दाजुदिदीले बगाएको तातो रगतको तस्बीर मनमा ताजै छ । यति धेरै राजनीति परिवर्तन गर्न ज्यानको आहुती दिएका पूर्खाको मनमा एउटै प्रश्न थियो होला, ‘आफु मरेर के भो ? देशमा रहेको व्याप्त असमानता, वेरोजगारी र गरिबीको अन्त्य हुन्छ भने !’

अझ आधारभूत तहमा पढ्दै गरेका छोराछोरीले पढिरहेका संसारको दोस्रो गरिब देश नेपालको परिभाषा छिट्टै हट्नेछ, देश संसारको विकसित देश बन्ने छ । देशका नागरिक समृद्ध हुनेछन् । यो उद्धेश्य पनि शहीदहरुको पक्कै थियो होला ।

विडम्वना ! पुर्खाले गरेको त्याग र बुबाआमाले बगाएको रगतको मूल्यलाई देश चलाउने शासकले बुज्न नसक्दा वर्तमान परिस्थिति व्यहोर्न बाध्य छौं, हामी नेपाली ।

गएको चैत्र ४ र ५ गते नेकपा (एमाले)ले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा कपिलवस्तुबाट विद्यार्थी नेताको रुपमा प्रतिनिधि भएर त्यहाँ पुग्ने सुनौलो अवसर मिल्यो । २६ बर्षको कलिलो युवाका लागि यो राम्रै अवसर थियो । इतिहासमा पढिन्थ्यो कार्ल माक्र्सले ३० बर्षमा कम्युनिष्ट घोषणा पत्र लेखेका थिए । जननेता मदन भण्डारी ३९ बर्षको उमेरमा ठूलो कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए । भलै बुर्जवा पार्टीमा लागेकाहरु २६ बर्षको उमेरमा सांसद नै बन्न सक्लान् ! यतिमात्र होइन्, हिजो राजाका सन्तान आफ्नो नाम भन्न सक्ने हुँदा राजगद्दीमा बसेका इतिहास पनि छन् । तर सर्वहारा, श्रमजिवी वर्गको विचार बोक्ने, लेनिनवादी संगठनात्मक सिद्धान्त भएको कम्युनिष्ट पार्टीको त्यति ठूलो राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन पाउनु ठूलै अवसर थियो ।

उक्त कार्यकर्ता भेलामा तत्कालिन कोर्डिनेसन केन्द्र (कोके) हुँदै नेकपा (माले) र पछिल्लो नेकपा (एमाले) को नेतृत्व गरिसक्नुभएका आदरणीय नेताहरुको उपस्थिति र नेताहरुले दिनुभएको भाषणले मेरो मानसपटलमा ठूलै छाप पार्न सफल भएको छ । यद्यपि यो भेला नेकपा (एमाले) पार्टी भित्रको आन्तरिक जीवनमा राम्रो, नराम्रो दुवै ढंगबाट टिकाटिप्पणी हुँदै आएको छ । यता तिर नजाऔं ।

समकालिन नेपाली राजनीतिका युवा पुस्ताका चर्चित एमाले नेता पनि भेलामा सहभागी हुनुहुन्थ्यो । अग्रजहरुले भाषणका क्रममा भन्नुभएको कम्युनिष्ट पार्टीका इतिहासले मनलाई आनन्दित तुल्याएको थियो भने युवा नेताहरुले दिनुभएको क्रान्तिकारी भाषणले संसार परिवर्तन गर्न भर्खरै सकिन्छ भन्ने उर्जा भर्‍यो ।

त्यहाँ बोल्ने नेताहरु मध्ये नेकपा (एमाले)का उप–महासचिव घनश्याम भुसालको भाषणले मेरो मनमा छाप पार्न सफल भयो । नेता भुसालले भन्नुभएको थियो, ‘पछिल्लो समय एमालेको राजनीति चुनाव हुँदै चुनावसम्मका लागि मात्र छ । हामी के गर्ने भन्दा चुनाव जित्ने, कसरी जित्ने ? चुनावका लागि जित्ने, किन जित्ने ? जित्नका लागि जित्ने, फेरि चुनाव लड्ने, जित्ने ! ’

पृष्ठभूमिमा उल्लेखित रविद्र मिश्राको त्यो भनाई र घनश्याम भुसालको यो भनाईलाई अहिलेका युवापुस्ताले गहिरो गरी बुज्न सकेनौं भने हाम्रा सन्तती उही आधारभूत तहको पढाईमा जस्तै नेपालको इतिहास घोक्नेछन् ।

रविद्र मिश्राको आशय राजनीतिमा नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भन्ने हो । हामी सुन्दै आएका छौं । नेपाली राजनीतिमा असफलताको मूल कारण समाजका राम्रा भनिएकाहरुले राजनीति गरेनन् । डाक्टर, पाइलट, इन्जिनियर मात्र बन्ने सपना राखे । केहीँ गर्ने आट भएका युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता देश पलाएन भए । केहीँ पढे लेखेका सरकारी कर्मचारी भए । तर, समाजका कमजोर ठानिएका तर राजनीति चेत भरिएकाहरुले देश चलाए । विडम्वना ! अहिलेको स्थिति यस्तै भयो । जुन वर्तमानमा देखिराखेका छौं ।

यी आरोप भनौं या आक्रोस ! जे भनेपनि पढे लेखेका व्यक्तिले राजनीतिमा हात हाल्नुपर्छ भन्ने चाहीँ पक्कै साँचो हो । विद्यालय, विश्वविद्यालयमा औपचारिक रुपमा पढे लेखेका र खुल्ला विश्वविद्यालयमा अनौपचारिक रुपमा ज्ञानसंगै व्यवहारिक जीवन विताएका व्यक्तिहरुको समिश्रण राजनीतिमा हुन सक्यो भने राजनीति ठिक बाटोमा अगाडी जान्छ भन्ने लाग्छ ।

राजनीति पढे लेखेका व्यक्तिले मात्र गर्ने होइन् न, नपढेकाले मात्र गर्ने हो । पढेका व्यक्तिमा सर्वैसर्वा मै हुँ भन्ने अह्म र नपढेका व्यक्तिमा पढाईको अर्थ के हो ? यो बुज्न नखोज्दा नेपालमा अहिले भैरहेको जस्तो राजनीति हुन्छ । हिजोविहान राजा महाराजाहरुले राम्रै पढेका थिए, देश दुनियाँ बुझेका थिए, तरपनि देश र जनताको समस्या बुज्न सकेनन् । व्यक्तिगत र पारिवारिक स्वार्थ मात्र उनीहरुले बुझे । नेपाली जनताको दुःख, पीडा र भावना बुज्न सकेनन् । केहीँ बुझेका भनिएकाहरुले राणा, राजा र पञ्चायत विरोधी आन्दोलन गरेर अहिलेको राजनीति बागडोर समात्न सके । राम्रो पढेका भनिएका तर राणा, राजा र पञ्चायती परिवारमा नभएका विदेश पलायन भए । उनीहरुको राजनीतिमा हस्तक्षेप हुन सकेन्, अहिले त्यसको मूल्य देशले चुकाउँदैछ ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, युवा वैज्ञानिक तथा अविस्कार केन्द्र नेपालका अध्यक्ष महाविर पुन, यस्तै यस्तै राम्रा व्यक्तिमा जीवनको उत्तरार्धमा पनि देश बनाउने हुटहुटी छ तर, नेता हुन सकेनन् । डा. आचार्यले त राजनीतिमा हात हाल्नुभयो, सफल हुन सक्नुभएन । जीवनभर अध्ययनसंगै जागीर त खानुभयो तर उहाँमा भएको क्षमता जनताले बुज्न पाएनन् । जे जे भएपनि उहाँहरु जस्ता कतिपय विद्धान व्यक्ति देश बनाउन नभई नहुने हुनुहुन्छ । रविन्द्र मिश्रा जस्ता चर्चित पत्रकार पत्रकारिता छाडेर देश बनाउने अठोटका साथ राजनीतिमा छिर्न खोज्नुहुन्छ । भलै जनताले कति बुज्छन् हेर्न बाँकी छ ।

राजनीतिमा पछिल्ला युवा पुस्ताको पनि आकर्षण हुन सकिरहेको छैन् । कुनै राजनीतिक दलप्रति अहिलेका युवापुस्ताको गहिरो आस्था देखिन्न । अझ दुखको कुरा बर्षौ राजनीति गर्दै आएका नेताका छोराछोरी झनै राजनीति भन्दा टाढा छन् । उनीहरुमा राजनीति प्रति कत्ति रुचि देखिदैन् । नेताहरुले पनि आफ्ना छोराछोरीलाई राजनीति गर्नुपर्छ भनेर सिकाउँदैनन् । बरु राम्रो पढेर युरोप, अमेरिका छिराउन खोज्दैछन् । छात्रवृत्तीमा नेताका छोरा छोरीको प्रवेशलाई सजिलै उदाहरणको रुपमा लिन सकिन्छ ।

नेता घनश्याम भुसालको अभिव्यक्तिको आशय अलि भिन्न लाग्छ । उहाँ बचपनदेखि नै राजनीति चेतनाले भरिएको आदरणीय नेता हो । विद्यार्थीकालमा अनेरास्ववियुबाट राष्ट्रिय राजनीतिमा आउनुभएका भुसालको चिन्ता छ, ‘हामीले पार्टी त खोल्यौ कस्तो ? भन्ने देखिन्छ ।’

विश्वका सबै देशमा राजनीतिक पार्टीहरु छन् । तर ती पार्टीहरु विचार, सिद्धान्त, आस्थाका आधारमा फरक फरक छन् । कतिपय देशमा राजनीतिक दलहरुले जनताको भावना बुज्न नसकेर युद्ध सहनुपरेको छ । कतिपय देशमा क्रुर शासकको मारमा जनता पिल्सिनु परेको छ । कतिपय देशका नेताहरु भट्राचारमा चुर्लम्म डुबेपनि जनताको जीवनमाथि कुनै चिन्ता देखिदैन् । गरिबी, असमानता, बर्गीय तथा जातीय विभेदले चरम सीमा नाघ्दा पनि शासकहरु चिन्तित देखिदैनन् ।

नेता भुसालको भनाई– ‘राजनीति जनताको जीवनका लागि हुनुपर्छ भन्ने हो जस्तो लाग्छ ।’ केवल राजनीति चुनाव जित्नका लागि मात्र होइन् । चुनाव जितेर प्रधानमन्त्री, मन्त्री बन्ने मात्र राजनीति होइन् । त्यो लाभको पद हो । विचार, सिद्धान्त र कार्यक्रमले युग सुहाउँदो परिवेश समात्न सकेन् भने जनताको समृद्धि सम्भव छैन् । आजसम्मको यति ठूला ठूला राजनीति परिवर्तनमा जनजीविका किन फेरिन सकेन् ? किन देश समृद्धिको दिशामा हिड्न सकेन् ? यी यस्ता विषय गम्भीर छन् । कारण हाम्रो राजनीति चुनावदेखि चुनावसम्मका लागि मात्र भयो । हामी हाम्रो राजनीति आस्था, सिद्धान्त, विचार र कार्यक्रमलाई वाग्मतीमा बगाईदियौं । मात्र शक्ति र सत्तामात्र हेर्‍यौं ।

अब देशलाई पक्कै सुधार्ने हो भने आम पढे लेखेका युवा राजनीतिमा होमिन तयार हुनुपर्छ । विगतमा त्याग, तपस्या र वलिदान दिएका पुराना नेताहरुका अनुभवलाई खुला किताबका रुपमा बुझ्नुपर्छ । हामीले गर्ने राजनीति संस्कारसहितको हुनुपर्छ । राजनीति न, पढेकाले मात्र गर्ने हो न, नपढेकाले नै । सबैका भावना, विचारको मिलन भयो भने मात्र सफल राजनीतिक पार्टी बन्न सक्छ । त्यो सफल भयो भने मात्र आम जनताको मन जित्छ, देशको शासन गर्छ, शासन सत्ता राम्रो पार्टीको हातमा पुग्यो भने देश विकास अवश्य हुन्छ ।

देशमा १ सय हारहारीमा राजनीति दलहरु होलान् । कतिपय विधिवत् रुपमा दर्ता भएर आफ्ना गतिविधि अगाडी बढाएका छन् भने कतिपय व्यक्तिमा केन्द्रित छन् । भलै सबैको लक्ष्य उद्धेश्य देश बनाउने नै छ ।

व्यक्ति कुनै पेशामा आवद्ध हुनसक्छ । जीवनयापनका लागि जागीर खान्छ नै । पेशा, व्यवसायमा आफ्ना मूल्य, मान्यता पक्कै हुन्छन् । ती कुराको अर्थ सम्बन्धित जागीर खाएको संस्था र व्यक्तिमा निहित हुन्छ । यद्यपि सरकारी नुन तेल खाएका साथीहरुका लागि भने सार्वजनिक चासोको विषय हुनु स्वभाविक हो । यद्यपि अहिले देश बनाउने बेला आएको छ । सबै युवापुस्ताका साथीहरु राजनीति गतिविधिमा सक्रिय पूर्वक लागौं । एउटा साँधुले जसरी आफ्नो जीवनबाट धेरै कुरा त्यागेको हुन्छ, राजनीति पनि आफैमा त्यस्तै कठोर हुन सक्ला । तरपनि मुलुक बनाउन कत्तिपनि नडराऔं ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ५ : १४ बजे