९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

पीएनजीसँग नेपालको लगातार दोस्रो हार



काठमाण्डौ ।

नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट श्रृंखलामा पाहुना टोली पपुवा न्यूगिनी पीएनजीले क्लिन स्विप गरेको छ । आजको दोस्रो एकदिवसीयमा पीएनजीले नेपाललाई ३ विकेटले हरायो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । घरेलु मैदानमा पपुवा न्यूगिनीसँग नेपालको लगातार यो दोस्रो हार हो । यसअघि हिजो भएको खेलमा नेपाल ६ रनले पराजित भएको थियो ।

आज कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे । उनको यो पहिलो शतक हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि हिजो रोहित पौडेलले १ सय २६ रन बनाएका थिए । त्यस्तै सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईसँगको एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका थिए ।

आजको खेलमा देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले । खनाल र ऐरीले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउन सफल भएको थियो । हिजोको खेलमा आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको साझेदारी गरेका थिए । आज रोहित पौडेल ३५ रन बनाएर आउट भए । त्यस्तै भीम सार्कीले २६ रन जोडे । कप्तान सन्दीप लामिछाने २४ रनमा र सोमपाल कामी ३ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एकरएक विकेट लिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८ शनिबार ००:००  ५ : ३६ बजे