६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

आसन्न चुनावः युवा अवसर र स्वतन्त्र उम्मेद्वारीको औचित्य



चन्द्रकान्त न्यौपाने ।
विश्व इतिहासलाई हेर्दा विश्वको सबभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका छन् । उनले अष्ट्रियाको चामत्कारिक विकास गरेका छन् । युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् ।

न्युजिल्यान्डबाट लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमै पार्टी प्रमुख हुँदै २०१७ अगस्तमा न्युजिल्यान्डको तेस्रो महिला तथा उक्त देशको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए ।

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । वर्तमान पार्टी सभापति सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए ।

क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् भने आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पाँच जना मन्त्री पनि नियुक्त गरिन् । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् ।

विश्व राजनीतिमा रकस्टार युवा नेता जस्टिन, चार्ली, इमानुअल, ज्यासिन्डा र सनानाजस्ता युवा नेताको खाँचो छ । यी उदाहरणबाट के भन्न खोजिएको हो भने अवसर पाए सक्षम युवाले क्लव, सहकारी, विद्यालय मात्र होइन मुलुक नै हाँक्न सक्छन् । जाँगर र उर्जालाई उमेरले छेक्दैन । त्यो अवसरको सम्मुखमा अब हामी छौँ ।

यो पृष्ठभूमिभित्र ७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यस पछिका प्रदेश र संघीय चुनावमा नेपाली युवामाथि दुई ठुला अवसर छन् । निर्वाचनको मिति घोषणा भइसके पछि १८ वर्ष उमेर पुगेका करिब अडाई लाख युवा मतदातालाई मतदानबाट सक्षम ब्यक्ति छान्ने सुअवसर एकातर्फ छ भने अर्कोतर्फ युवाहरु चुनावमा उठेर परिवर्तनको सुरुवात गर्ने अर्को अवसर पनि नेपाली युवाले प्राप्त गर्दै छन् । त्यसको लागि इतिहास पढेर मात्र हुँदैन । आफै कस्सिनु पर्दछ ।

भोक लागेको बेला ‘चाउमिन’ मागिहाल्ने अनि मन परेन भनी उत्तिखेरै ‘मम’ मागेर खाए जस्तो निर्वाचन होइन । ए गलत ठाउँमा पो मत खसालेँ, म फेरि गएर अर्को मत खसाल्छु भनेर तुरुन्तै कहाँ पाइन्छ र ? अर्कोपटक यो अवसर पाउन थप ५ बर्ष कुर्नुपर्दछ । त्यसैले यी दुई अवसरबाट नेपाली युवा चुक्नु हुँदैन । यदि यो भयो भने युवा मात्रै चुक्दैनन् देश नै चुक्छ । उनीहरुको मत गलत ठाउँमा जानु भनेको बदमास र खराब ब्यक्तिलाई बुबाआमाले छोरी सुम्पनु (विहे गरिदिनु )जस्तै हो । त्यसकारण यो अवसरको कसरी सदुपयोग गर्ने भन्नेमा अब युवाले सोँच्नै पर्दछ । यति मात्रै होइन मगजमा एक पार्टीको छापले डेरा जमाइरहेका पुराना मस्तिष्क भएका आमाबु्बालाई पनि सचेत बनाउने दायित्व युवामाझ छ ।

निर्वाचन आयोगले २१ बर्ष उमेर पुगेका नेपाली नागरिकलाई निर्वाचनमा उठ्न पाउने अधिकार दिएको छ । त्यसैले शिक्षित, योजना भएका र उर्जाशिल युवाहरु पार्टी मनोविज्ञानबाट माथि उठेर वडाध्यक्ष, मेयर–उपमेयर, सांसदमा उठ्न जरुरी छ भने मत प्रकट गर्ने बेलामा निकै सुझबुझ अपनाउनु पर्ने बेला छ । अर्थात् विकास र समृद्धिका लागि युवा जनसंख्या महत्त्वपूर्ण मानिन्छ ।

अब युवाले पार्टीविना जित्तिन कि भन्ने मनोविज्ञान त्यागेर गलत पात्रका विरुद्ध सति साल झैँ ठिङ्ग उभिन सक्नु पर्दछ र आफ्नो विकासका योजनाहरु जनतामाझ सार्वजनिक गर्नुपर्दछ । बिभिन्न मुलुकको इतिहासको गर्भमा भएका निर्वाचनमा पूर्वप्रधानमन्त्री, नेता, मन्त्री सांसदले हारेका प्रशस्त उदाहरण छन् भने हामी स्वतन्त्र उठेर हार्दा हारेको मानिने छैन । युवाले जितेको नै मानिने छ । त्यसैले कुनै पनि सक्षम युवाले आफ्नो मनोविज्ञान कमजोर नबनाएर स्वतन्त्रतर्फबाट निर्वाचनमा होमिने आँट गरौँ, पार्टीका गलत प्रवृत्तिविरुद्ध । ‘निर्वाचनमा युवाको स्वतन्त्र उम्मेदवारी भनेको लामो राजनैतिक खिन्नतामाथिको उम्मेदवारी हो । ‘कुकुर’ उठाए पनि जितिन्छ भन्ने पार्टी मनोविज्ञानमाथिको दरिलो झापड हो । यसप्रकारको युवा युटर्न देशैभरी जरुरी छ ।’

नेपाली समाजमा त्यस मतलाई मात्र सदुपयोग भएको मानिन्छ जुन पार्टीमा मत खसालिन्छ र सो पार्टीको उम्मेदवारले जित्छ । यसो हो भने त यसअघि जिताएका उम्मेदवारबाट सन्तुष्ट हुनुहुनु पर्यो नि तपाईँ । होइन, भने किन चिया चोकहरुमा नेताले गरेनन् भनेर धार्नी हात लगाउनु हुन्छ ? उनीहरुले तपाईको समाज र देशको लागि विकास केही गरे त ? किमार्थ गरेनन् ।

त्यसैले यस मनोविज्ञानबाट हामी माथि उठ्दै सक्षम र योग्य युवा उम्मेदवारलाई जिताऔँ । त्यो चाहे स्वतन्त्र होओस्, चाहे पार्टीको । मैले गलत उम्मेदवारलाई मत खसालिन भनेर सन्तुष्ट हुन सक्नु नै मताधिकारको सही प्रयोग हो । मेरो पार्टीको भनेर अक्षम र गलत मान्छेलाई मत खसाल्नु भनेको मताधिकारको दुरुपयोग हो । त्यो मुलुकमाथिको चरम बेइमानी र धोका हो । मुलुक खोक्रो र निकम्म बनाउने पागलपन हो । अब फेरि यही पागलपन दोहोर्याउने हो र ?

र यस पटकको निर्वाचनमा बेइमानी र खराब चरित्र नभएका योग्य र सक्षम उम्मेदवार छैनन् भने काँग्रेस, माओवादी, एमाले, समाजवादी, राप्रपाको भनेर मत खसाल्न जरुरी छैन । स्वतन्त्रबाट सक्षम उम्मेदवार छन् भने बरु एकपटक उनीहरुलाई हेरौँ, भलै उक्त उम्मेदवारले चुनाव नजितोस् । यत्ति हो ‘तपाईँले खसालेको मतले तपाइलाई रातदिन नपोलिरहोस्, जसरी २०७४ मा खसालेको मतले आज आफ्नै छाती पोलिरहेको छ ।’

नेपालका राजनीतिक दलले युवालाई सधैँ फाइदाका लागि उपयोग गरिरहे । युवालाई विभिन्न वाद र विचारमा विभक्त गरिरहे । हामी उनीहरुका गोटी बनिरह्यौँ । उनीहरुमाथि बज्रिएको खुकुरीको रक्षा कवच (ढाल ) बनिरह्यौँ । युवा उपयोग हुनुको प्रतिफलको रुपमा विदेशिन बाध्य भइरह्यौँ ।

जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ, त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । क्यानडा, डेनमार्क, नर्वे, फिनल्यान्ड, न्युजिल्यान्ड लगायतका देश युवाहरूलाई विकासका गतिविधिमा सहभागी गराई समृद्धिमा पुगेका हुन् ।

भन्नलाई राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ भनिन्छ । तर नेपालको राजनीतिमा गर्न सक्ने सक्षम युवालाई निर्वाचन या नेतृत्व गर्ने ठाउँमा बाइकट गर्दा मुलुक अधोगतितर्फ बढिरहेको छ । यसकारण अब युवाले आफै आफ्नो अधिकार प्रयोग गर्नेतर्फ अगाडी बढ्नु पर्दछ ।

देशमा नायक होइन, कार्यकर्ता मात्र जन्मिए । राजनीतिक पार्टीहरुमा हस्तक्षेपकारी भूमिका खेल्ने युवा पंक्ति छैन । राजनीतिमा एक किसिमको सिन्डिकेट हावी छ । क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ । पछिल्लो चरणमा त राजनीति व्यापारीहरूको हातमा पुगेको छ, टिकट किनबेचका लागि । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्न गाह्रो छ ।

पढेलेखेका युवा जमात राजनीतिदेखि विस्तारै टाढा हुँदै गएका छन् । अब टाढा हुने होइन यी राजनैतिक पार्टीका बदमास उम्मेदवारविरुद्ध सयौँले उम्मेदवारी दिनुपर्दछ । जनसंख्याको आधारमा राज्यका हरेक तहमा युवाहरूको प्रतिनिधित्व र पहुँच सुनिश्चितताका लागि खबरदारी आवश्यक छ । हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छेले अवसर पाउने व्यवस्था मिलाउनुपर्छ ।

युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा मात्र होइन सामाजिक पुरातनवादी मनोवृत्तिमा पनि परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । त्यसकारण स्वतन्त्र तवरले भए पनि अबका निर्वाचनमा युवा सहभागिता जरुरी छ । नेपालका विडम्बना राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताका रूपमा मात्र भर्तिकेन्द्र बनाइरहेका छन् । यसैकारण लामो समयसम्म मुलुकको विकास हुन सकेको छैन ।

हामीकहाँ राजनीतिमा युवा सहभागिता बहसहरू परम्परागत छन् र उपयोगको नीति पनि विचित्रको छ । राजनीतिक दलले युवालाई नेतृत्व प्रदान गर्नेभन्दा मतदाता र कार्यकर्ताको थप भूमिकामा केन्द्रित गर्न चाहन्छन् । उनीहरुले युवालाई प्रयोग गर्ने भनेकै निर्वाचनको बेला मात्रै हो, त्यो पनि फ्रि डिजेल,पेट्रोल, रक्सी मासु बाँडेर । के २१ औँ शताब्दिका शिक्षित युवाको हैसियत यही नै हो त ? किमार्थ होइन । पशुको किनबेच भएजस्तै युवा र सोझसिधा सर्वसाधारणको मतलाई रातारात किनेर मुलुकको विकास हुँदैन ।

अहिले त राजनीतिक पार्टीहरूमा हस्तक्षेपकारी भूमिका खेल्ने युवापंक्ति छैन । पार्टीमा ७० बर्षसम्म नेतृत्व गर्न पाइरहने गरी बिधान बनाइएको छ । युवा नेताहरू पनि बूढा नेतापछि आफ्नो पालो कहिले आउला भनेर कुरेर बसेका छन् ? त्यसैले सके पार्टी भित्र नसके निर्वाचनको उपयोग गरेर युवा मुलुकको नेतृत्वमा पुग्नै पर्दछ ।

राजनीतिक दलले युवाहरूलाई परिचालन मात्र होइन, तिनलाई उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्दछ होइन भने ती युवाले पार्टी या बाहिरबाटै विद्रोह गर्छन् । युवाहरूको सहभागिताले राजनीतिलाई सही दिशा निर्देशन गर्न टेवा पु¥याउँछ भने समाजलाई पनि सचेत बनाउँछ ।
देशमा गणतन्त्र आयो, शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिवर्तन आएन । नेताहरूको जीवनशैलीमा परिवर्तन आयो, आलिशान घरबंगला भए तर युवाहरू आफ्नो जीविकाकै लागि विदेशिनु पर्यो । दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले सधैँ रजाइँ गर्ने स्थिति भयो । आम सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्नै सकेनन् । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व लिनैपर्छ ।

विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूक्त आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ । युवाले मौका पाए चाँडै मुलुक परिवर्तन गर्न सक्छन् भन्ने माथिको तथ्यलाई बुझेर मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो ।


लेखक न्यौँपाने, आसन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७८ आइतबार ००:००  ८ : ५२ बजे