८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा खुम्चिदै तराई केन्द्रित दल



मायादेवी अनलाइन, बाणगंगा ।
०६२/०६३ को मधेस आन्दोलनसंगै एकाएक उदाएका मधेस केन्द्रित दल र तिनका नेता डेढ दशकको बीचमा तितरवितर बनेका छन् । कपिलवस्तुमा ०७९ सालसम्म आइपुग्दा मधेस केन्द्रीत पार्टी छाड्ने नेताहरुको लहर नै चलेको छ ।

नेताहरुमा देखिएको चरम अवसरवाद, स्वार्थ केन्द्रीत राजनीति र सत्ताको स्वादमा नेताहरु रमाउदा डेढ दशक भित्रै आफैले बोकेका एजेण्डालाई तिलाञ्जली दिएको यस क्षेत्रका मधेसका अगुवा चतुर्भुजमणी त्रिपाठी बताउँनुहुन्छ ।

त्रिपाठी भन्नुहुन्छ–‘दल छ यहाँ सिद्धान्त छैन्, एजेण्डाको त कुनै भएन् । एजेण्डा एउटै छ केवल सत्तामा पुग्ने ।’

मधेस आन्दोलनको रापसहित ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा जिल्लामा मधेस केन्द्रित दलको वर्चश्व नै थियो । ५ निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक ४ निर्वाचन क्षेत्रमा मधेस केन्द्रीत दलले बाजी मारेका थिए ।

क्षेत्र नं. १ मा कांग्रेसका दीपकुमार उपाध्याय बाहेक त्यो समयका कुनै पनि राष्ट्रिय पार्टीले जिल्लामा चुनाव जित्न सकेका थिएनन् । देशभर तत्कालिन एनेकपा (माओवादी) को वर्चश्व देखिए पनि कपिलवस्तुमा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न सकेको थिएन् ।

जिल्लामा त्यस समय मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले वचश्र्व कायम राख्न सफल भएका थिए । त्यसको पछि–पछि सद्भावना पार्टीले पनि जिल्लामा दबदबा राख्थ्यो ।

पहिचानसहितको संघीयता, नागरिकता, मातृ भाषा लगायतका सवाल उनीहरुका प्रमुख एजेण्डा बन्ने गरेका थिए । राजा विरेन्द्रको हत्या हुनुपूर्व कपिलवस्तु पञ्च, राप्रपा र कांग्रेसको दबादबा भएको जिल्ला हो ।

०५६ को संसदीय चुनावमा मात्र पहिलो पटक कम्युनिष्ट पार्टीले यहाँ चुनाव जितेको थियो । तत्कालिन नेकपा (एमाले)का उम्मेद्वार दानबहादुर चौधरी कम्युनिष्ट पार्टीबाट चुनाव जित्ने पहिलो प्रतिनिधिसभाका सांसद बन्नुभएको थियो । ०५४ मा अधिकांश गाविसमा एमालेले चुनाव जिते पनि त्यस आसपास कम्युनिष्टको त्यति राम्रो पकड जिल्लामा देखिदैन् ।

जिल्लामा लामो समय पञ्च हुँदै राप्रपाकै दबदबा थियो । तौलिहवा क्षेत्रका भगवानदास गुप्ता, कृष्णनगर क्षेत्रका शाह परिवार र रजौरियाहरुको जिल्लामा एकछत्र जस्तै थियो । कृष्णनगरका शाह परिवार सुरुवाती चरणमा कांग्रेस पृष्ठभूमिका भएपनि पछि पञ्चायत र राप्रपाको बर्चश्व हुँदा त्यता पनि सक्रिय थिए । गुप्ता र रजौरिया परिवार पनि पछिसम्म राप्रपाबाटै राजनीतिमा सक्रिय भए ।

यद्यपि भगवानदास गुप्ताको निधन पश्चात पनि उहाँका छोरा वृजेशकुमार गुप्ताले ०५६ मा राप्रपाबाट चुनाव जित्नुभएको थियो । पछि राप्रपा त्यागेर गुप्ताले मधेस केन्द्रीत दलबाट राजनीति थाल्नुभयो ।

२०१५ को आम निर्वाचन पश्चात विपि कोइरालाको नेतृत्वमा बनेको सरकारमा कृष्णनगरका शाह परिवारका शिव प्रताप शाह अर्थ राज्यमन्त्री बन्नुभएको थियो ।

राजनीतिक उतार चढावका बीच ०६४ सालमा मधेस केन्द्रीत दलले जिल्लामा वर्चश्व कायम राख्न सफल भएका हुन् ।
तर, पहिलो संविधानसभाको अवसान पश्चात ०७० मा भएको दोस्रो चुनावसम्म मधेस केन्द्रीत दलका नेताहरु नै तितरवितर भए । मधेसका मुख्य शक्ति मधेसी जनअधिकार फोरम र तमलोपामा देखिएको टुटफुटले जिल्लामा पनि त्यसको प्रत्यक्ष असर पारेको देखिन्छ ।

०६४ मा ५ मध्ये ४ निर्वाचन क्षेत्रमा सानदार जित निकालेका मधेस केन्द्रीत दल ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा २ स्थानमा खुम्चिन बाध्य भए । तत्कालिन क्षेत्र नं. ३ मा तमलोपाका बृजेशकुमार गुप्ता र क्षेत्र नं. ५ मा संघीय फोरम नेपालका अभिषेक प्रताप शाहले मात्र चुनाव जित्नुभएको थियो । क्षेत्र नं. १ मा नेकपा (एमाले) का बलराम अधिकारी, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका वागी उम्मेद्वार अतहर कमाल मुसलमान र क्षेत्र नं. ४ मा नेपाली कांग्रेसकै सुरेन्द्रराज आचार्यले चुनाव जित्नुभएको थियो ।

०६४ मा क्षेत्र नं. ४ मा चुनाव जितेका तमलोपाका इश्वरदयाल मिश्रा तेस्रो स्थानमा आउनुभयो भने क्षेत्र नं. २ मा चुनाव जित्नुभएका दानबहादुर चौधरी पनि ०७० मा कमजोर बन्नुभएको थियो ।

०७० देखि ओरालोयात्रामा झर्दै गरेका मधेस केन्द्रीत दल ०७२ को संविधान निर्माण पछि झनै कमजोर बन्दै गएको देखिन्छ । संविधान निर्माणको क्रममा असहमतिका स्वरहरु सदन देखि सडकसम्म तताएका उनीहरु जनताको समर्थन विस्तारै घट्दै गएपछि कमजोर भूमिकामा देखिएका थिए । ती पार्टीमा देखिएको विभाजनको असरले जिल्लामा उनीहरुको उपस्थिति पनि कमजोर बनेको हो ।

०७४ कोे असार १४ मा भएको स्थानीय तहको निर्वाचन बहिस्कारको नीतिले तत्कालिन राष्ट्रिय जनता पार्टी (जसपा) मा संकट देखा परेको थियो । लुम्बिनी प्रदेशको निर्वाचन त्यति बेला जसपाले बहिस्कार गरेको थियो । स्थानीय चुनाव बहिस्कारले पनि मधेस केन्द्रीत दलको ओरालो यात्रा सुरु भएको राजनीतिक विश्लेषक नारायण खनाल बताउनुहुन्छ ।

जिल्लामा दबदबा राख्ने उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) पनि ०७४ मा कमजोर रुपमा देखा प¥यो । केन्द्रीय उप–महासचिवसमेत रहेका प्रभावशाली नेता अभिषेक प्रताप शाहको दल त्याग र कांग्रेस प्रवेशले यो पार्टीको शक्ति कमजोर बनेको हो । जसपाका प्रभावशाली नेता मंगल प्रसाद गुप्ता पनि एमालेमा प्रवेश गरिसक्नुभएको छ ।

तमलोपा हुँदै राजपामा सक्रिय बृजेशकुमार गुप्ता ०७४ सालमै मधेस दल त्याग गरी सूर्य चिह्नबाट चुनाव लड्नुभएको थियो । हालै मात्र उहाँ एमालेमा औपचारिक रुपमा प्रवेश गरिसक्नुभएको छ ।

लामो समय मधेस केन्द्रीत दल हुँदै पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को उपाध्यक्ष हुनुभएका दानबहादुर चौधरी हालै मात्र एमाले प्रवेश गर्नुभएको छ ।

जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अर्का प्रभावशाली नेता मधुसुदन शरण चौधरी यहीँ असोज ११ गते एमाले प्रवेश गरेका छन् । आसन्न चुनावमा प्रदेशसभामा लोसपाबाट सिफारिस हुनुभएका चौधरीलाई एमाले आफ्नो पार्टीमा ल्याएको हो ।

लामो समय माहुरी होम कपिलवस्तुको अध्यक्ष बन्नुभएका रविन्द्रनाथ ठाकुर मधेसको ‘इस्यु’ मधेसी दलका नेताहरुमा कहिल्यै नभएको बताउँनुहुन्छ । पुस्तैनी राजनीतिबाट आएका नेताले राजनीति परिवर्तनसंगै अवसर मात्र खोजेको भन्दै मधेसी जनताको अधिकारका विषयमा उनीहरुको राजनीति कहिल्यै नभएको उहाँको तर्क छ ।

‘जो जो मधेसी दलबाट राजनीतिमा उदाय ती नेताहरु मधेसको एजेण्डामा आएका थिएनन्, उनीहरु पुस्तैनी राजनीतिबाट आएका थिए, जब जब मधेस आन्दोलन चर्कियो पुराना दल छाड्दै मधेसी दलमा प्रवेश गरे, जब दल कमजोर बने दल त्यागे’, उहाँले भन्नुभयो ।

‘मधेसी जनताको पक्षमा उनीहरु थिए भने अहिले पनि उनीहरु पहाडीया समुदायको बीचमा गएर मधेसी जनता थिचोमिचोमा परेको बताएरै भोट पाउने थिए । खै उनीहरु किन अर्को समुदायलाई यथार्थ कुरा बताउन सकेनन् ? ठाकुर प्रश्न गर्नुहुन्छ ।
अहिले संघीय निर्वाचन क्षेत्र उत्तर–दक्षिण कायम भएसंगै उनीहरुको पार्टी परिवर्तन भएको उहाँको भनाई छ ।

‘उत्तर–दक्षिण निर्वाचन क्षेत्र कायम भएसंगै उनीहरुको एजेण्डा सकिने हो त ? आफ्नो माग जबसम्म पुरा हुँदैनन् तबसम्म चुनाव हारेपनि माग गरिरहनुपर्ने हो । तर यहाँ स्वार्थको राजनीति हावी हुँदा यी सब देखाउँने कुरा मात्र भए, उहाँले थप्नुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०७९ शनिबार ००:००  ८ : ४५ बजे