१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘कस्टम हाइरिङ सेन्टर’बाट लाभ लिदैँ कपिलवस्तुका किसान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा कस्टम हाइरिङ सेन्टरबाट किसानले लाभ लिन थालेका छन् । परम्परागत निर्वाहमूखी कृषि पेशा अंगालेका जिल्लाका किसानले कृषिको यान्त्रिकिकरणको प्रयोग गर्न थालेका हुन् । कृषिमा भित्रिएका विभिन्न नयाँ प्रविधिको प्रयोग गरी उत्पादन लागत घटाउन र उत्पादन बढाउन यहाँका किसान अग्रसर देखिएका छन ।

धानको सुपरजोन रहेको कपिलवस्तुमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले जिल्लाका दुई स्थानमा ‘कस्टम हाइरिङ सेन्टर’ खोलेको हो ।

मायादेवी गाउँपालिका वडा नं. ६ मा सोना एकीकृत कृषि फर्म र कपिलवस्तु नगरपालिका वडा नं. ६ मा लक्ष्मी एकीकृत कृषि फर्ममा कस्टम हाइरिङ सेन्टर छ । गत आव ०७८/०७९ मा परियोजना कार्यान्वयन इकाईले यो काम थालेको हो । दर्जनौं फर्म, कृषि समूह, सहकारीबाट यी दुई फर्म छनौटमा परी किसानलाई सहुलियत रुपमा प्रविधि दिएका हुन् ।

परियोजनाका कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सहसराम चौधरीले कष्टम हाइरिङ सेन्टरको सुविधा जिल्लामा पहिलो पटक ल्याएको बताए । किसानलाई सहुलियत दरमा कृषिको यान्त्रिकिकरणको व्यवस्था गर्नका लागि सेन्टरको परिकल्पना गरिएको र सेन्टरमा कृषिका नयाँ नयाँ प्रविधि रहने बताए ।

विकसित देशका किसानहरुले कष्टम हाइरिङ सेन्टरबाट कृषिको यान्त्रिकिकरणको प्रयोग गर्ने गरेका छन् । एकै ठाउँमा कृषिका नयाँ नयाँ प्रविधि रहने हुँदा किसानलाई आवश्यकता अनुसार प्रयोग गर्न सहज हुन्छ । एउटा प्रविधिका लागि विभिन्न स्थानमा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्दै एकै ठाउँमा धेरै कृषिका यन्त्र राख्ने ठाउँ नै कष्टम हाइरिङ सेन्टर हो ।

मायादेवी गाउँपालिका वडा नं. ६ मा रहेको सेन्टरमा ट्याक्टर, स्ट्रारिपर, डिस्क, टिजर, डटाउन्ट इस्ट्राविलर, कलचर, रोटावेटर, सुपर सिडर लगायतका कृषिका आधुनिक यन्त्र रहेका छन् ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ६ मा ट्याक्टर, सुपर सिडर, राउण्ड एक्ट्राविलर, खाल्टो खन्ने मेसिन, झार गोड्ने मेसिन, आलु रोप्ने मेसिन, मलचर, रोटावेटर रहेका छन् ।

कृषिका प्रविधि भित्त्राउँदै किसान ।

दुवै फर्ममा परियोजनाको रु बीस/बीस लाख लगानी गरेको छ । फर्मले पनि त्यतिकै रकम लगानी गरेर कृषि यन्त्र भित्त्राएको हो । ती यन्त्रले परियोजनाको कार्यक्षेत्र भित्रका किसानलाई चलेको दर भन्दा २० प्रतिशत कम रकममा सुविधा दिनुपर्छ ।

यी दुई फर्मले कार्यालयले बनाएको कार्यविधि अनुसार किसानलाई सेवा दिनुपर्छ । प्रविधिको सहस पहुँच भएको छ कि छैन भनेर कार्यालयले बेला बेला अनुगमन पनि गर्ने गरेको छ ।

धेरै किसानलाई कृषिको यान्त्रिकिकरणसंग जोड्नका लागि यस्तो काम गरिएको वरिष्ठ कृषि विकास अधिकृत चौधरी बताउँछन् । व्यवसायिक कृषि पेशा अंगालेका किसानलाई अझ व्यवसायिक बनाउन आफूहरु प्रयासरत रहेको उनले जनाए । निर्वाहमूखी कृषि पेशाले जीवन धान्न पनि समस्या भएको बेला कृषिमा भित्रिएका नयाँ नयाँ प्रविधिले उत्पादन बढाउन सघाउन पुग्ने उनी बताउँछन् ।

जिल्लामा धान सुपर जोनसंगै परियोजनाले माछा र तरकारी जोन हेर्ने गरेको छ । जिल्ला खाद्यान्न, तरकारी र माछामा आत्मनिर्भर रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०९ बजे