१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा



काठमाडौं ।
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावमा लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।

पौडेल र नेम्वाङ दुवै जना पूर्व सभामुख हुनुहुन्छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ ।

कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले संविधानको भावनालाई अक्षरसः पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।

यसअघि सभामुख तथा उपप्रधानमन्त्री भइसकेका पौडेल गएको मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । गएराती नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । यस्तै नेपाल समाजवादी पार्टी ९नेसपा० ले पनि राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई मत दिने जनाएको छ ।

नेता पौडेल मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा तनहुँ–१ बाट फराकिलो मतान्तरसहित विजयी भएर छैटौँ पटक संसदमा प्रवेश गर्नुभएको थियो । उहाँ यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसबीचमा उहाँ उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । उहाँले सभामुखको जिम्मेवारी समेत निभाउनुभएको थियो । विसं २००१ असोजमा तनहुँको साविकको रिस्ती गाविसमा पर्ने बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहनुभएका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति हुनुभएको थियो । उहाँका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांगे्रस रूपान्तरणको मार्गलगायत दर्जन पुस्तक र विभिन्न विषयमा समसामयिक लेख प्रकाशित छन् ।

त्यस्तै एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो । नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेम्वाङ एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख हुनुहुन्छ । उहाँ इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उम्मेदवारी दर्तापछि नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।

इलाम नगरपालिका–७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै अहिले उपाध्यक्ष हुनुहुन्छ । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम–२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र सभामुख तथा २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख हुनुभएको थियो ।

विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय ९वरिष्ठ अधिवक्ता० रहनुभएका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनका जानकार र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेका योग्य उम्मेदवार भएको समेत बताउनुभएको छ । फागुन २५ गते राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिंदैछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ०५ बजे