१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

छाडा चौपायाले किसानको बाली सखाप, नियन्त्रणमा उस्तै चुनौति



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा छाडा पशु चौपाया नियन्त्रण र ब्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखा परेको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको नियन्त्रणको लागि सार्थक ढंगबाट काम नगर्दा यो समस्याको मारमा किसान र यात्रु पर्ने गरेका छन् ।

कहाँसम्म भने छाडा पशु चौपाया दिनभर किसानका बालीमा चर्ने गर्दछन् भने दिउँसो, विहान र साँझमा सडक जाम नै गरेर बसेका देखिन्छन् । यसले गर्दा एकातर्फ किसानको बाली सखाप भएको छ भने सडकमा दिनदिनै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

मंगलबार एक बथान गाई र गोरु वडा नम्बर २ पिपरामा सडक जाम गरिरहेको अवस्थामा थिए । पश्चिमबाट पूर्वतर्फ हिँडिरहेका गाईलाई एक जना बैकका सुरक्षा गार्डले आफ्नो ड्युटी छाडेर गाई धपाउने ड्युटि गरेको देखियो । उनले गाईगोरु धपाइरहेका थिए, स्थानीयहरु त्यो दृश्य हेरिरहेका देखिन्थे । क्रमैसंग आफ्नो दैलो अघि आएका ती पशु चौपायालाई व्यापारी र स्थानीयवासीले दैनिक रुपमा यसैगरी धपाउने काम गरिरहन्छन् । गाईगोरु सडकको वारपार लाइन लागेर हिँड्दा सडकमा जाम नै हुने गरेको छ । सवारीले हर्न बजाए पनि ती गाईगोरुले ठाउँ नछोड्दै झरेर धपाउनु परिरहेको सवारी चालक बताउँछन् । उनीहरु भन्छन् ‘यिनै गाईको कारण सडक जाम भएर समयमै गन्तव्यमा पुग्न सकिएको छैन भने दुर्घटनाको उत्तिकै डर भइरहेको छ ।’

नगरमा छाडा पशु चौपायाको यो ताण्डव पिपरामा मात्र होइन ११ वटै वडामा ज्वलन्त रुपमा देखिएको छ । सबै वडाका स्थानीय यो समस्याले आजित छन् । बर्षेनी तयार भएको उब्जनीमा छाडा पशु मडारिँदा लाखौँको क्षति व्यहोर्नु परेको जनगुनासो छ । खास गरी हिँदको समयमा लगाइने गहुँ, तोरी, मकै, मुसुरो, सूर्यमुखी लगायतको बालीमा रातको समयमा ती पशु चौपायले क्षति पुर्‍याउने गर्दछन् । रातको समयमा किसानहरु सुत्न छोडेर गाइ र गोरुको ग्वालो नै बस्ने गरेका छन् ।

यो समस्याले हैरानी खेपेको गुनासो सर्वत्र आएपछि सामाजिक संजालदेखि बिभिन्न कार्यक्रम र अन्तरक्रियामासमेत सरोकारवालाले पटकपटक स्थानीय सरकारको ध्यानाकर्षण गराउने र आलोचना गर्दछन् तर यो विषयमा स्थानीय सरकार भने सुनेको नसुनेझैँ गरिरहेको अवस्थामा छ, बाणगंगाका बुद्धिजिवी रविराज आचार्य भन्छन् ‘छाडा पशु चौपायाले समग्र नगरलाई नै गिज्याइरहेको छ । यसको मारमा किसान परेका छन् । यिनैको कारण निम्तिएको दुर्घटनाले कतिपयको मृत्यु समेत भएको छ ।’ नगरले चाँडै यस विषयमा ठोस ढंगबाट काम नगरे धेरै समस्या आउने उनी बताउँछन् ।

गत वैशाख ३० गतेअघि ५ बर्षे कार्यकालमा छाडा पशु चौपाया नियन्त्रणमा असफल बनेको नगरपालिकाले वैशाख ३० गतेपछि पदभार ग्रहण गरेको करिब एक बर्ष हुन लाग्यो तर यो समस्या समाधानमा ठोस ढंगबाट काम गरेको देखिन्न । स्थानीयको गुनासो र उनीहरुको मुख टाल्न नगरले बाणगंगा-८ मधुवनमा गौशाला बनाएको त छ तर त्यसको उपायोगिता भने हुन सकेको छैन । स्थान निर्धारण गरे पनि त्यहाँ कर्मचारी राखेर गाईगोरु नियन्त्रण गर्ने, गौशालामा राख्ने, उनीहरुको संरक्षण गर्ने लगायतको काम नहुँदा त्यो गौशाला हात्तीको देखाउने सेतो दाँत मात्र भएको पीडित किसान बताउँछन् ।

यस विषयमा जिज्ञासा राख्दा सोही वडाका वडा अध्यक्ष बाबुराम अर्यालले भने जसरी काम गर्न नसकिएको स्विकार गरे । संरचना बनाएर मात्र समाधान नदेखिएको उनी बताउँछन् । उनले भने ‘गौशालामा बनेका गोठ पर्याप्त र सुविधायुक्त छैनन् । मान्छे छैनन् । गाई कोचेर मात्र भएन । घाँसपानीको ब्यवस्थापन गर्नुपर्यो । रेखदेख गर्नुपर्यो ।’

उनले थपे ‘हिउँदमा केही गाई मरे । अहिले यस्तै ६०/ ७० गाईगोरु होलान् । यिनको संरक्षणको लागि कर्मचारी छैनन् । । पर्याप्त कर्मचारी राख्ने नगरमा पैसा छैन । त्यसैले भनेजस्तो काम गर्न सकिएको छैन ।’

छाडा पशु चौपाया नियन्त्रणको लागि चालु आर्थिक बर्षमा करिब ५४ लाख बजेट छुट्याइएको भन्दै उनले अहिले आफ्नो वडा र वडा नम्बर २ नन्दनगरमा काम भइरहेको बताए । अहिले नन्दनगरमा पनि गौशाला बन्दै छ । २७ लाखको कम्पाउण्ड बनाउने काम मधुवनमा भइरहेको छ भने नन्दनगरमा बाँकी रकमले काम भइरहेको छ ।

बिभिन्न ठाउँका गाईगोरु नगरमा जम्मा हुने भएकाले यसको पूर्ण व्यवस्थापन गर्न नसक्ने नगरपालिका श्रोत बताउँछ । छाडा पशु चौपायाको समस्या बाणगंगाको मात्र नभएर मुलुककै प्रमुख समस्या भएको नगरका अधिकारीहरु बताउँछन् ।

छाडा पशु चौपायाको नियन्त्रण र व्यवस्थापनको बारेमा आफूले सुरुदेखि नै काम गरिरहेको नगर प्रमुख चक्रपाणी अर्याल बताउँछन् । नगरले यस विषयमा केही गरेन भन्नु गलत रहेको भन्दै यो नगरको मात्र नभएर समग्र जिल्ला र मुलुककै प्रमुख समस्या भएको उनी बताउँछन् ।

बुद्धिजिवी र अभियान्ता भने गौशाला बनाएर त्यहाँ कर्मचारी राखिन्न भने त्यसको कुनै काम र अर्थ नहुने बताउँछन् ।

गौशाला बनाउने तर कर्मचारी राख्न नसक्ने, कर्मचारी राख्न पैसा छैन भन्नु हास्यास्पद हो । हरेक वर्ष करिब डेढ अरबको बजेट भाषण ल्याउने नगरले गौशाला ब्यवस्थापनको लागि जनशक्ति राख्न श्रोत छैन भन्नु शोभनीय हुँदै हुन्न’ वडा नम्बर १ का बुद्धिसागर बेलबासे भन्छन् ‘नगरले चाहेमा गौशालालाई उत्पादनमूलक बनाउन सक्छ । यदि सक्दैन भने जग्गा दिएर हामीलाई जिम्मा देओस्, हामी गर्न सक्छौँ ।’ बेलबासेले यस विषयमा आफूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेको समेत बताए ।

उनले कनिका छरे जसरी थोरै थोरै पैसा छरेर राम्रो गौशाला बन्न नसक्ने बताए । ‘नगरले हरेक बर्ष करोडका करोडका दरले रकम विनियोजन गरे बहुउपयोगी गौशाला बनाउन सकिन्छ । हजारौँ गाईलाई राख्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । मलमूत्र र दूधलाई समेत बेचेर आम्दानी गर्न सकिन्छ । सबै कुरा छोडेर गौशाला निर्माणमा नगर अग्रसर हुनुपर्छ’, उनले थपे ।

वडा नम्बर ७ का बुद्धिजिवी तथा वकिल इश्वरराज न्यौपानेले आफूले पटकपटक बोले पनि सुनुवाई नभएको बताए । वडा नम्बर १ कै जंजिर पुरुषले नगर छाडा पशु चौपाया नियन्त्रणमा असफल भएको भन्दै आफूलाई आधिकारिक रुपमा गाई व्यवस्थापनको जिम्मा दिए तीन महिनामै समाधान गर्ने दावी गरे ।

नगरका किसानको माग पनि एउटै छ कि ‘चाँडै गाई नियन्त्रण होऊन् । लगाएको बाली छाडा पशुले खाएर सकिरहेका छन् । बरु नगरको श्रोत छैन भने हामी पनि सहयोग गर्न तयार छौँ । तर गाई नियन्त्रण हुनुपर्यो ।’

नगरले आगामी दिनमा छाडा पशु चौपायाको ब्यवस्थापन गर्न नसक्ने हो भने थप समस्या सिर्जना हुने अन्य सरोकारवाला बताउँछन् । अरु सबै काम छोडेर भए पनि छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापन सम्बन्धि नगरले सार्थक ढंगबाट काम गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति : २ चैत्र २०७९ बिहिबार ००:००  ७ : ३९ बजे