९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

नेविसंघले सिद्धार्थ क्याम्पसमा ढाल्यो अनेरास्ववियुको विरासत, यस्ता छन् कारण



मायादेवी अनलाइन, बाणगंगा ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सकिएर मतगणना हुनुपूर्व नेपाली काँग्रेसका युवा नेता चन्द्रकान्त पोख्रेलले सिद्धार्थ क्याम्पसको चमेना गृहमा चिया पिउने क्रममा भनेका थिए ‘यसपटक हामी स्ववियु चुनाव जित्छौँ ।’

बाणगंगाका केही वडामा पार्टी राम्रोसंग लागेको भए चुनावमा हारको परिकल्पना गर्नै नसकिने उनको भनाई थियो । वडा नम्बर ७ र ८ का विद्यार्थीबाट कम मत आउँछ होला । यदि त्यहाँ राम्रोसंग लागिएको छ भने चुनाव सजिलै जित्छौँ, उनले क्याम्पसका विद्यार्थीहरु वस्ने ठाउँ र त्यहाँको तथ्याङ्क हातमा देखाउँदै पोख्रेलले भनेका थिए ।

नभन्दै पोख्रेलको अनुमान अनुसार नतिजा आयो । सोमबार विहान आएको अन्तिम मत परिणाममा नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार निलकमल थारुले अनेरास्ववियुका सभापति पदका उम्मेदवार अंजित खनाललाई २९ मत अन्तरले पराजित गरेर इतिहास रचे । निलकमलले इतिहास रच्दा एमालेको इतिहास भने भत्किएको छ ।

बाणगंगा नगरपालिका वडा नं. १ बुङ्चीस्थित जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या भएको र बढी राजनैतिक दाउपेच भएको क्याम्पसमा पर्दछ सिद्धार्थ क्याम्पस । जिल्लाका अन्य क्याम्पसमा भन्दा यस क्याम्पसमा युनियनको चुनाव जित्नु दुवै संगठनको लागि निकै प्रतिष्ठाको विषय थियो ।

क्याम्पसमा अनेरास्ववियुलाई आफ्नो लामो विरासत कायम गर्नैपर्ने बाध्यता थियो । यसपटक भने नेपाल विद्यार्थी संघलाई एमालेको त्यो विरासतमाथि आफ्नो झण्डा फहराउनुपर्ने र पटकपटकका हारको बदला लिनैपर्ने चुनौति थियो ।

त्यसैले चुनाव हत्याउन दुवै संगठनका पार्टीको सिंगो जिल्ला फोर्स नै चुनावी मैदानमा परिचालित थियो । नेताहरुले गरेको घरदैलो र प्रचार देख्दा यो स्थानीय तहको चुनावभन्दा कम थिएन । अन्ततः यो खेलमा एमाले हार्‍यो र काँग्रेसले जित्यो ।

वि.सं. २०४८ सालदेखि क्यामपसमा स्ववियु चुनाव जितेको अनेरास्ववियुले नराम्रो हार खाएपछि अहिले पार्टीमा विभिन्न छलफल हुन थालेका छन् भने हारको कारण पत्ता लगाउन भन्दै पार्टीले निर्देशन दिइसकेको समेत जानकारीमा आएको छ ।

उसो त स्ववियु सभापति सुशील खत्री संगठनलाई हराउन लागेको भनी स्पष्टिकरणमा परिसकेका छन् । उनले चुनावकै दिन भनेका थिए ‘मलाई पार्टीले नहुने आरोप लगाएर स्पष्टिकरण सोधेको छ ।’

क्याम्पस संचालक समितिको अध्यक्ष एमाले, अधिकांश संचालक समितिमा एमाले नेता, अधिकांश प्राध्यापक एमाले र छैठौँ सभापतिसम्म एमालेले नै जितेको क्याम्पसमा चैत्र ५ गते सातौँ स्ववियु सभापतिको चुनाव हुँदा किन हार बेहोर्नुपर्यो ? अहिले यसैको वरिपरि बिभिन्न प्रश्न र जिज्ञासाहरु आउन थालेका छन् ।

सिद्धार्थ क्याम्पसका पहिलो सभापति एमालेका रमेश पन्थी (२०५२) भनिए पनि मायादेवी अनलाइनलाई प्राप्त सुचना अनुसार पन्थी पहिलो सभापति होइनन्, उनीभन्दा ५ बर्षअघि वि सं २०४८ सालमा भएको चुनावमा विना शाही पहिलो स्ववियु सभापति बनेका थिए । त्यसपछि भएका ५ स्ववियु चुनावमा पनि निरन्तर एमालेले नै क्याम्पसमा बाजी मारेको इतिहास छ ।

हरि शंकर पौडेल (२०५९) कमल भट्टराई (२०६२) शुशिल पौडेल (२०६५), सुशील खत्री (२०७३) ले स्ववियु लगातार जितेका थिए । तर ३१ वर्षपछि एमालेको विरासत तोड्दै काँग्रेस अर्थात् नेपाल विद्यार्थी संघ क्याम्पसको स्ववियुमा विजयी भयो ।

नेविसंघबाट सभापतिमा बाजी मारेका निलकमल आफैमा योग्य उम्मेदवार हुन् । त्यहाँ नेविसंघको संगठन पनि राम्रै छ । तर पनि अनेरास्ववियुले चुनाव हार्नुमा संगठनको शक्ति, निलकमलको अब्बलता र योग्यताभन्दा एमाले पार्टीभित्रकै थुप्रै कमजोरी रहेको जानकारीमा आएको छ ।

पहिलो कारणः क्याम्पस कमिटी अध्यक्ष गिरीले टिकट नपाउनु
आफ्नो प्यानलका सभापतिले चुनाव हार्दा सचिव पदमा अनेरास्ववियुका सचिव पदका उम्मेदवार पशुपति गिरीले भने लोकप्रिय मतसहित बाजी मारेका छन् । सभापतिले ३४२ मत ल्याउँदा उनले ४१० मत ल्याए । उनै गिरी सिद्धार्थ क्याम्पसका अध्यक्ष पनि हुन् । एमालेभित्र केपी शर्मा ओली र अर्को गुट हावी हुँदा उनी भने गुट उपगुट भन्दा पनि मिलेर जानुपर्ने मत राख्ने विद्यार्थी नेतामा पर्दछन् । उनी क्याम्पसका विद्यार्थीसंग पनि उनी लोकप्रिय थिए ।

विद्यार्थीको माग पनि गिरीलाई नै सभापतिको उम्मेदवार बनाउनुपर्ने माग थियो । तर विद्यार्थीको चाहना विपरित पार्टीले रातारात टिकट दियो अनेरास्ववियुका जिल्ला अध्यक्ष समेत रहेका अंजित खनाललाई । पार्टीकै एकजना नेता भन्छन् ‘उनै अंजितले टिकट पाउँदा संगठनले आफ्नो इतिहास गुमायो ।’

उनले थपे ‘अंजित नराम्रा मान्छे होइनन् तर पार्टीभित्र केपी ओली गुटका मान्छे हुन् । जिल्लामा ओली निकटसंग उनको राम्रो हिमचिम छ । उनी राष्ट्रिय सभा सदस्य विमला घिमिरेका स्वकिय सचिव हुन् । एउटा विद्यालयका प्रिन्सिपल पनि हुन् ।

विद्यार्थीका अध्यक्ष पनि छन् । गुटका नाममा उनैले टिकट पाउनु पर्ने कारण के थियो ? उनी राजनैतिक व्यक्ति नभए पनि जिल्लाका शीर्ष नेतासंग राम्रो सम्बन्ध भएकै कारण टिकट पाएका हुन् । उनीभन्दा कैयौँ गुणा असल पशुपति गिरी थिए ।

एक्कासी नचिनेको मान्छेलाई ल्याएर सभापतिमा उठाउँदा विद्यार्थीले कसरी भोट दिन्छन् । त्यसैले हामीले चुनाव हार्यौँ । यो विषयमा अब पार्टीमा गम्भिर समिक्षा गर्न जरुरी छ ।’

ती नेताले भनेजस्तै अरु एमाले नेताले पनि सही उम्मेदवार नछान्दा एमालेले आफ्नो विरासत गुमाएको टिप्पणी गरिरहेका छन् । कतिपय नेताले इकाई अध्यक्षलाई टिकट दिनुपर्ने सार्वभौम मूल्यमान्यतालाई पार्टीले कुल्चेपछि चुनाव हारेको बताउँछन् । मत खसाल्ने विद्यार्थीहरुले पनि अंजितलाई आफूहरुले नचिनेको मायादेवीलाई बताएका थिए ।

दोश्रो कारणः पार्टी फुटको असर
सिद्धार्थ क्याम्पसमा एमालेले चुनाव हार्नुको पछाडी पार्टी फुटले पनि काम गरेको बताइन्छ । क्याम्पसमा वि सं २०६२ सालमा अनेरास्ववियुबाट स्ववियु जितेका कमल भट्टराई अहिले नेकपा (एकिकृत समाजवादी) मा छन् ।

भट्टराई उतिबेलाका सक्रिय विद्यार्थी नेता दीपक अनुरागी लगायत यसपटक खुलेर संयुक्त प्यानलका उम्मेदवार विज्ञान क्षेत्रीलाई जिताउन लागे । त्यसको साथमा एमालेबाट विभत्त भएर समाजवादीमा लागेका अरु नेता पनि यसपटक संयुक्त प्यानललाई समर्थन गरेर जिताउन लागे ।

त्यसको असर अहिले अनेरास्ववियुलाई परेको नेकपा एसका नेता कमल भट्टराई बताउँछन् । किनकि अंजितले थोरै मत अन्तरले हारेका छन् । त्यो सबै शक्ति एक ठाउँ हुन्थ्यो भने अंजितले चुनाव जित्न सक्थे ।

‘क्याम्पसमा एमालेहरुको घमण्ड, वाममोर्चा बनाऔँ भन्दा नमान्ने नेताहरुको अनावश्यक अडान इत्यादिले यसपटक उनीहरुले चुनाव हार्नुपर्दथ्यो । आखिर त्यही भयो । वाममोर्चा बनाएको भए सायद एमालेको यो सर्वनाक हार हुँदैनथ्यो ।

उहाँहरुको घमण्डपनले आज लामो इतिहास मेट्नुभएको छ । अब त्यो त्यो इतिहास रच्न एमालेलाई सकस हुने देखिन्छ । सिद्धार्थ क्याम्पसको चुनाव हार्दा एमालेको ओली गुटले नै चुनाव हारेको छ’ भट्टराई भन्छन् । उनको विचारमा अब जिल्लामा विस्तारै ओली गुट कमजोर हुँदै गएको छ ।

तेश्रो कारणः त्रिपक्षिय प्रतिस्पर्धा
विगतमा चुनाव हुँदा द्धिपक्षीय प्रतिस्पर्धा देखिन्थ्यो क्याम्पसमा । त्यसैले एमालेले जित्थ्यो । तर यसपटक भने त्रिपक्षीय प्रतिस्पर्धा भयो । अनेरास्ववियु यसपटक अरु दुई विद्यार्थी संगठन (अखिल छैठौँ, क्रन्तिकारी बहुमत) लाई लिएर चुनावमा होमिएको थियो भने नेविसंघ सिंगल थियो । संयुक्त प्यानलका विज्ञान क्षेत्रीलाई नेकपा एस र अहिले क्रान्तिकारीले समर्थन गरेका थिए ।

उम्मेदवारको योग्यतामा अनेरास्ववियुका अंजित खनालभन्दा नेविसंघ र संयुक्त प्यानलका निलकमल थारु र विज्ञान क्षेत्री राम्रा थिए । यो भनाई मत खसाल्ने विद्यार्थीको हो । बाहिर पनि ब्यक्तिका रुपमा अंजित अरु दुई उम्मेदवारभन्दा कमसल रहेको कुरा आउँथ्यो । यो डर स्वयम् एमाले नेतामा थियो । तर क्याम्पसमा संगठन बलियो भएका कारण जित्छौँ भन्नेमा उनीहरु ढुक्क थिए ।

विज्ञान पनि आफैमा राजनैतिक चेत भएका उम्मेदवार मानिन्छन् । उनले पनि जित्ने दावी गरिरहेका थिए । यता नेविसंघलाई पनि विज्ञान उठ्दा फाइदा थियो । त्यसमाथि एमालेबाट विभाजित नेकपा एसको समर्थन पनि विज्ञानलाई थियो । विज्ञानले जति मत काट्छन् त्यति जित्नेमा ढुक्क थियो नेविसंघ ।

नेताहरुले अनौपचारिक कुरा गर्दा पनि आफ्नो जितको आधार नै यही रहेको बताएका थिए । नेपाली कांग्रेस नगर सचिव सूर्य बराल भन्छन् ‘विज्ञानले सय मत काटेको खण्डमा हामीले चुनाव जित्छौँ भन्नेमा ढुक्क थियौँ । नभन्दै विज्ञान जिले १२० मत ल्याउनुभयो । नतिजा पनि हामीले अनुमान गरे अनुसार नै भयो । सभापतिका उम्मेदवार पनि हरेक हिसाबमा अब्बल हुनुहुन्थ्यो । पढाईमा तेज हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वलाई पनि विद्यार्थीले रुचाए ।’

विविध कारण
सिद्धार्थमा अनेरास्ववियुले हार्नुका पछाडी अरु कारण पनि छन् । लामो समय एमालेको रजगज हुँदा क्याम्पसमा एमाले शक्तिको एकाङ्की छ । ‘क्याम्पसको आन्तरिक प्रशासन, प्राध्यापकहरुको नियुक्ति, संचालक समिति चयन, छात्रवृत्ति वितरण लगायतमा एमालेको वर्चस्व छ । यसबाट विद्यार्थी स्वयम् पनि प्रताडित थिए । वहालवाला स्ववियू सभापतिका कतिपय क्रियाकलाप पनि विद्यार्थीलाई मन परेको थिएन । लामो समय चुनाव नहुँदा विद्यार्थीले यसको विकल्प खोज्ने सकेको अवस्था थिएन’ नेकपा एसका नेता कमल भट्टराई थप्छन् ‘अहिलेको चुनावमा ती सबै विभेद र विसंगतिको बदला विद्यार्थीले चुनावमार्फत लिन सफल भएका हुन् । यसपटक एमालेले केही पाठ सिकेको हुनुपर्दछ ।’ सिद्धार्थ क्याम्पसमा हार भए पछि एमाले नेताहरुको निद्रा हराम भएको बताइन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ९ : २३ बजे