१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

तिलौराकोट उत्खननः विहार क्षेत्रमा भेटियो गजुर



तौलिहवा ।
शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेला परेको छ । कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ ।

कपिलवस्तुको उत्खननमा यस खालको वस्तु पहिलो पटक भेटिएको पुरातत्वविद्को दाबी छ। भेटिएको गजुर कुन समयमा बनेको भन्ने परीक्षणपछि मात्र थाहा हुने बताइएको छ। साथै माटोबाट बनेको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पनि फेला परेका छन्।

तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार नजिक कन्थक स्तूप छ। कन्थक स्तूपको दक्षिणतर्फ सन् २०१४ मा भूभौतिक सर्वेक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो। त्यस ठाउँमा विहारको र पोखरीको संरचना फेलापरेको उहाँले बताउनुभयो। उहाँका अनुसार सन् २०१५ मा त्यस क्षेत्रमा उत्खनन गर्दा विहार र पोखरीको सानो भागको उत्खनन गरिएको थियो। पोखरी र विहारका पर्खाल उत्खननमा मौर्या कालका इँटाबाट बनेको पाइएको हो।

विहार उत्खननका क्रममा सन् २०१५ मा तेस्रो शताब्दीका ४९७ वटा मौर्याकालीन चाँदीका पञ्चमार्क सिक्का भेटिएको थियो। त्यसपछि लामो समयसम्म सो क्षेत्रमा कुनै पनि उत्खननका कार्य भएका थिएनन्। पछि आएर सन् २०१७ मा विहार र पोखरीको क्षेत्रमा भूभौतिक सर्वेक्षण गर्दा थप संरचना भेटिएका थिए।

शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा राजदरबार त्याग गर्दा कन्थक नामक घोडाको सवार गरी अनोमा नदीसम्म पुग्नुभएको थियो। अनोमा नदी हाल भारत उत्तर प्रदेशको बस्ती जिल्लामा पर्छ। सो नदीलाई अहिले भारतमा अमी नदीको नामले चिनिन्छ। कन्थक घोडामा सवार भई अनोमा नदीसम्म पुगेका राजकुमार सिद्धार्थ नदी किनारमा सबै आभूषण तथा पोसाक त्यागी संन्यास जीवन सुरु गरी ज्ञानको खोजीमा निस्कनुभएको थियो।

अनोमा नदीबाट फर्केको कन्थक घोडा तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेटनजिक आइपुगेपछि स्वेच्छाले देह त्याग गरेको बौद्ध धर्मग्रन्थमा उल्लेख छ। कन्थक घोडाले देह त्याग गरेको स्थानमा कन्थक स्तूप निर्माण गरिएको पुरातत्वविद्को भनाइ छ। गजुर मन्दिरको माथिल्लो भागमा राखिने गरिन्छ। गजुरको स्वरूप मन्दिरका देवीदेवता अनुरूपको फरक हुने गर्छ। जस्तै हिन्दु मन्दिरको माथिल्लो भागमा कलश र त्यसमाथि दण्डी स्वरूपको गजुर राख्ने चलन छ भने बौद्धस्तूप एवं विहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ।

उत्खनन कार्यमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोलीलगायतको सहभागिता छ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ७ : ०७ बजे