१६ जेष्ठ २०८१, बुधबार | Thu May 30 2024

आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह



रुकुमपूर्व ।
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।

यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज छैन । गए पनि बसाइ व्यवस्थापन असहज छ । प्रचार–प्रसारको पनि अभाव छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै रोल्पा, सल्यान, दाङका केही ठाउँबाट पनि अवलोकन गर्न सकिन्छ । गुप्ता दह केही समय अघिसम्म गुमनाम अवस्थामा थिए । पछिल्लो समय सिस्ने हिमालसँगसँगै गुप्ता दहको नाम पनि जोडिएर आउन थालेको छ । आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्दै गएको छ ।

जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ । अहिले सामान्यतया मानिसले बढी प्रयोग गर्ने मार्ग रुकुमकोट–नायगाड–भट्टेचौर–ओख्रेना–दमार–गुप्ताको मार्गबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुगिन्छ । डाँडाकाँडा घुम्दै र रमाउँदै हिँड्ने हो भने बाटोमा मात्रै तीन दिन पनि छुट्याउनुपर्ने हुन्छ ।

वारिपट्टि हावाको बेगसँगै गुप्ताको पानी वारिबाट पारि पल्टिँदा उत्तरतर्फ लहरै लाइन लागेका सिस्ने हिमाल, द्धवारी हिमाल ९द्धवारी भन्ज्याङ० सँगै अन्य हिमाल टलक्क टल्किँएको दृश्यले लोभ्याउँछ । सिस्ने हिमालको उचाइ पाँच हजार नौ सय ११ मिटर छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ ।

किन भनियो गुप्ता ?

गुप्ता दह पनि एउटामा सीमित छैन । सानो र ठूलो गरी दुई छन् । दर्जन बढी ताल रहेको यस ठाउँमा यी दुई दह गुमनाम अर्थात् गुप्त अवस्थामा रहेका कारण यी दहको नाम गुप्त रहेको वडा नं १ का वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो । पछि सबै मानिसले गुप्त छाडेर गुप्ताभन्दा अहिले गुप्ता दहको नामले यो ठाउँ परिचित भएको उहाँको भनाइ छ । उहाँका अनुसार, गुप्ता दह अवस्थित ठाउँलाई लिरुमारे पनि भनिने गरेको छ । परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ ।

यो वडामा नौ ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताललगायतका अन्य हिमताल पनि छन् । केही सीमिति व्यक्ति यी ठाउँमा पुगे पनि नौ दह ताल, दोसान्त ताल, रक्त ताल कस्ता छन् भन्ने कुरा धेरैलाई थाहा छैन ।

गुप्ता पुग्न र बस्न समस्या

गुप्ता पुग्न र त्यहाँ पुगिसकेपछि बस्नलाई भने समस्या छ । गुप्तासम्म पुग्न सहज बाटोको व्यवस्था नहुँदा त्यहाँ जान खोज्ने मानिस पनि बाटोमै अलमलिने अवस्था छ । अहिलेसम्म गुप्ताको गन्तव्य तय गरेकाहरू स्थानीयलाई साथमा लिएर जाने गरेका छन् । स्थानीयलाई साथमा नलिएकाहरु बाटो हराउँदै जङ्गलमा भौतारिएर त्यहाँसम्म पुग्ने गरेको सिस्ने–१ का बासिन्दा परिमल बुढाले बताउनुभयो । पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भए पनि आवश्यक विकास र प्रचार–प्रसारको अभावले यो क्षेत्र पछि परेको उहाँको बुझाइ छ ।

अहिलेसम्म सडक सञ्जालमा जोडिन नसकेको यस वडामा पर्यटकीय गन्तव्य अथाह भए पनि तिनीहरूको खोज, अध्ययन, विकास, व्यवस्थापन र प्रचार–प्रसार हुन नसक्दा महत्व बोकेका ठाउँ बाहिर आउन नसकेको सिस्ने–१ स्थित हिमालय मावि पाखापानीका प्रधानाध्यापकसमेत रहनुभएका उमेश खड्काले बताउनुभयो ।

पर्यटन क्षेत्रको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके त्यसैबाट यहाँका नागरिकको जीवनस्तर माथि उठ्ने र पालिकासँगै जिल्लाको आर्थिक अवस्था बलियो हुनसक्ने उहाँको भनाइ छ । अहिले गुप्तासम्म पुग्न कठिन बाटो, पुगिसकेपछि पनि खान र बस्नको उचित व्यवस्था नहुँदा यहाँसम्म पुग्ने मानिसले समस्या खेप्नुपरेको खड्काले बताउनुभयो । अहिले गुप्तामा पाहुनाघर भनेर भवन निर्माण गरे पनि व्यवस्थित नभएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “खानेपानीको पनि समस्या छ, दहबाट अलि टाढा एउटा मुहान भए पनि त्यसमा बर्खामा मूल फुट्ने र हिउँदमा सुक्ने हुँदा गुप्ता पुग्नेले दहको पानी पिउनुपर्ने अवस्था छ ।”

तीन दिनको पैदलयात्रापछि गुप्ता पुग्नुभएका सिस्ने गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत अच्युत पन्थीले पैदलमार्गलाई व्यवस्थित गरिदिए मात्र पनि यहाँसम्म पुग्ने पर्यटकलाई सहज हुने बताउनुभयो । यसका साथै गुप्तामा पुगिसकेपछि बसाइ व्यवस्थापनका लागि केही लगानी गरिए मात्रै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न सक्ने उहाँको बुझाइ छ । यहाँका स्थानीयले पनि गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर काम गर्न आग्रह गरेका छन् । स्थानीयले तत्काललाई पाहुनाघरमा गएका मानिसलाई बस्न लत्ताकपडाको व्यवस्थापन गरिदिन माग गरेका छन् । यहाँ भएको एउटा मूल संरक्षण गरी पिउनेपानी व्यवस्था गरिदिन अनुरोधसमेत स्थानीयको माग छ ।

सिस्ने–१ मा अन्य थुप्रै पर्यटकीय गन्तव्य रहेको तर तिनीहरूको पहिचान हुन बाँकी रहेको वडाध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार नौ ताल मिलेर बनेको नौ दह ताल, दोसान्त ताल, रक्त तालका बारेमा अझै पनि आम मानिस जानकार नै छैनन् । टाढा पर्ने, पैदल हिँड्नुपर्ने, बसाइ व्यवस्थापन सहज नहुनु, सुरक्षा चुनौतीलगायत कारण यी ठाउँ अझै पनि गुप्त अवस्थामा रहेका उहाँ बताउनुहुन्छ । यी र यस्तै क्षेत्रको पहिचान तथा विकास गर्न वडा सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै पालिका, प्रदेश र सङ्घ सरकारसँग पनि सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले गुप्ता र सिस्ने वरपरको दृश्यलाई बाहिर ल्याउन अति नै आवश्यक रहेको बताउनुभयो । यी पर्यटकीय गन्तव्य कुनै एउटा वडा, पालिकाको मात्र नभएर देशकै सम्पत्ति भएकाले यस्ता क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उहाँको भनाइ छ । गुप्तामा गाउँपालिकाले निर्माण गरेको तीनकोठे पाहुनाघरलाई पनि व्यवस्थित गरिने उहाँले बताउनुभयो ।

कसरी पुग्ने गुप्ता ?

गुप्ता पुग्न तीन मार्ग छन् । यीमध्ये सबैभन्दा सजिलो रुकुमकोटबाट सुरु भएको मार्ग हो । रुकुमकोटबाट ३०–४५ मिनेट गाडीमा यात्रा गरी देउखोलासम्म पुग्न सकिन्छ । त्यहाँबाट पदैलयात्रा सुरु गरेकाहरू तिप्तारा–नायगाड–सुद्री–भङ हुँदै भट्टेचौर गएर बास बस्छन् । त्यहाँबाट अर्को दिन पाखापानी–ओख्रना–दमार गाउँ हुँदै त्यसभन्दा माथि जङ्गलको बाटो भएर गुप्ता पुगिन्छ ।

यो ठाउँमा मध्यपहाडी लोकमार्ग हुँदै पोखरा काठमाडौँबाट समेत रुकुमकोट आएर गुप्ता जान सकिन्छ । पोखराबाट रुकुमकोटसम्म दुई सय ४३ किलोमिटरको दूरी १२ घण्टामा पूरा हुन्छ । गुप्ता घुम्ने उपयुक्त समय चैत, वैशाख, जेठ, असोज, कात्तिक र मङ्सिर हो ।

रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा रहेको रुकुमपश्चिमको प्रसिद्ध ताल स्यार्पुबाट खालटी हुँदै दुई दिनमा यहाँ पुग्न सकिन्छ । त्यस्तै बाफिकोटबाटै आठबीसकोट नगरपालिका–१ को थुम, रोकाजा, ओख्ले हुँदै तीन दिनको पैदलयात्राबाट पनि यहाँ पुग्न सकिन्छ । जेठदेखि भदौ, असोजसम्म भेँडा लिएर गोठाला यो ठाउँमा जाने गर्छन् ।

लुम्बिनी प्रदेशको रुकुमपूर्व तथा कर्णाली प्रदेशमा पर्ने रुकुमपश्चिमको तीन स्थानीय तहको भू–भाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ पदयात्रा ‘सिस्ने राउन्ड’को अन्वेषण पनि पूरा भएको छ । यही राउन्डले गुप्तालाई छोएको सिस्ने राउन्डको नेतृत्व गर्नुभएका हिमाल आरोही मनबहादुर खत्रीले बताउनुभयो । अहिले अन्वेषणको काम मात्र पूरा भएको र राउन्डमा काम गर्न भने पूरै बाँकी रहेको उहाँको भनाइ छ । सिस्ने राउन्डको कामलाई पूर्णता दिन स्थानीय सरकारको सहयोगसँगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग पलह भइरहेको खत्रीले बताउनुभयो । रासस

प्रकाशित मिति : २४ चैत्र २०७९ शुक्रबार ००:००  ९ : २३ बजे