९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

बगर खेतीबाट आत्मनिर्भर बन्दै राप्तीका किसान



दाङ, रासस ।
कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो। लरामपुरको दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ ।हेर्दा बालुवामाथि फलेको देखिने खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दैछ । बोटमै गएर किन्ने ग्राहकले यसबाट आनन्द महशुस गरेका छन् । उनीहरु आफूहरुले नै टिपेर किन्नका लागि त्यहाँसम्म पुगेको बताउँछन् ।

बलरामपुर गाउँका अरू दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

पौरखी किसानमध्येकी लमही नगरपालिका-४ को सिम्रहवामा बस्दै आएकी ४९ वर्षीया सनकुमारी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन् । उनी भन्छिन्, ‘पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पा¥यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्न र घरखर्च चलाएका मात्र होइन छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ।’

‘२० वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर बगायो, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्‍यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबै गाउँलेहरुले सल्लाह गर्‍यौँ र यो खेती गर्ने कार्यक्रम बनायौँ’, कृषक चौधरी भन्छिन् ।

ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफैँ लखपति भएका छन् । उनीहरु आफैंले मनग्ये आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा पनि गरेका छैनन् । तीन वर्षसम्म खासै आम्दानी नभएको र अहिले पाँचौँ वर्षमा आफूहरुले मनग्ये आम्दानी लिन सफल भएको उनीहरूको भनाइ छ ।

कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ । बगर सुनसान ठाउँमा छ । बस्ती नभएको यस ठाउँमा गरिएको खेती चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको ठाउँमा तल बालुवा भएकाले त्यहाँ निकै तातो भए पनि फुसको घरमा रातको समयमा सुत्ने गरेका छन् ।

हाम्रो आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारी बताउँछिन् । ‘बेमौसममा पानीको समस्या हुने भएकाले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता छ भने नजिकमा बजार नपाउँदा उत्पादित बस्तु विक्रीका लागि उत्तिकै समस्या हुँदै आएको छ,’ किसानहरु भन्छन्, ‘खरबुजा खेतीका लागि यो जमिन राम्रो छ । स्वास्थ्यका लागि फाइदासमेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो । यस्तै मल र बीउकोपनि व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।’

अहिले यहाँका किसानले खरबुजा बारीबाट प्रतिकेजी रु ७०मा विक्री गर्छन् भने र बजारमा प्रतिकेजी रु ८० मा फुटकरमा बिक्री हुने गर्दछ । स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगर खेतीका लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ तर त्यो पर्याप्त नभएकाले मल तथा बीउ किनेर खेती गरिरहेको र दुःख भएपनि बालुवामा सुन फलाउन सकेको महसुस गरेको ती किसानको भनाइ छ ।

कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ ।
सोही ठाउँकी ३५ वर्षीया रीता चौधरी पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । उनी भन्छिन्, ‘सुरूवातमा त निराशा पनि आयो किनभने हामीले यो बालुवामा के फलाउन सकौँला जस्तो पनि लागेको थियो । राम्रो भएन अहिले आम्दानीबाट घरपरिवार पाल्न, पढाउन र आम्दानी बचत गर्न पाउँदा खुसी लागेको छ।’

राप्ती नदीले जग्गा कटान गरेर लगेपछि गाउँमा मजदुरी, ज्यालादारी गरेर घर खर्च चलाएका उनीहरु अहिले भने आफैं उद्यमी बन्न सफल छन् । ‘दुःख त छ तर पनि खुसी छौँ’, रीताले भनिन् । उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेकी छिन् ।

तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको र सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ ।

लमही नगरपालिका-४ की ३७ वर्षीय माया चौधरी पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताउँछन् । राप्ती नदीले बितण्डा मच्चायो, आफूहरुको धान हुने खेत सबै बगाएर बगर बनायो । अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौँ। खरबुजा र तरकारीको उत्पादन राम्रै छ तर बजार पाउन सकेका छैनौँ, उनको गुनासो छ ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा र दुई हजार १८ जना किसानहरुले एक सय दुईवटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । उक्त संस्थाले तालिम तथा प्रशिक्षणसमेत दिँदैछ ।

त्यस्तै सो संस्थाले किसानहरुलाई बिना धितो सामूहिक जमानामा ऋणसमेत दिँदै आएको छ । एक नगरपालिका र दुई गाउँपालिकाका दुई हजारभन्दा बढी किसानले बगर खेतीबाटै एकै याममा प्रतिकिसानले रु ८० हजारदेखिरु चार लाखसम्म आम्दानी गर्न सफल भएको उनीहरु बताउँछन् ।

राप्ती नदीले कटान गरेर एक सय हेक्टरभन्दा बढी जमिनलाई बगर बनाइदिएको थियो । त्यसैमा खरबुजा र तरकारी खेती गरेर त्यहाँका विपन्न समुदायका किसानहरुले यति बेला राम्रो कमाई गरिरहेको स्थानीयवासी शान्ता गुरुङ बताउँछिन् ।

राप्ती नदीले पटकपटक कटान गरी बगर बनाएको जमिन किसानहरुकै पौरखले गर्दा अहिले हरियाली हुनाका साथै आम्दानीको मुख्य स्रोत बन्न सफल भएको समेत उनी बताउँछिन् ।

प्रकाशित मिति : ९ बैशाख २०८० शनिबार ००:००  ७ : ५९ बजे