१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गर्मीसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो



काठमाडौं ।
गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको डाक्टरले बताएका छन् ।

यतिबेला औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

उनीहरुका अनुसार प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र पानी पाइने फलफूल खानुपर्छ ।

यस्तै, सडक छेउछाउमा खुला रुपमा राखिएका खानेकुरा, बासी तथा सडेगलेका खाना नखान र खाना खानु अघि सफासँग साबुनपानीले हात धुन उहाँको सुझाव छ ।

यस्ता सामान्य कुरामा ध्यान दिन सके झाडापखाला, हैजा, जण्डिस जस्ता रोगबाट जोगिन सकिने डाक्टर पुनले बताउनुभयो ।

यस्तै, औलो, डेंगी, कालाजार जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्नु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ ।

घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्न र सुत्ने बेलामा झुल टांग्न डाक्टर मरासिनीको सुझाव छ ।

प्रकाशित मिति : २८ बैशाख २०८० बिहिबार ००:००  ११ : २८ बजे