१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

ट्युबेलमार्फत बाह्रै महिना सिँचाइ, हराभरा खेतबारी



चितवन ।
चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए । उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उनले जानकारी दिए । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताए ।

आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् ।

“चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ”, स्याङ्बोल भने, “किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।” यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उनले बताए । “ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन”, उनले भने । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ ।

चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए ।

बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी छन् । “बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो”, उनले भने, “आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।” एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उनले अनुभव सुनाए ।

पाँच कठ्ठा जमिनमा मकै लगाएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग छिन् । “अहिले तोरी पनि राम्रो भयो”, ढकालले भनिन्, “मकै यति राम्रा भएका छन् ।” बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताइन् ।

भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताए।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। “भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्”, उनले भनिन्, “भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ ।” अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उनले बताइन्। भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म दुई हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  ९ : १७ बजे