३ असार २०८१, आइतबार | Sun Jun 16 2024

‘किसानलाई सम्मान र प्रोत्साहन मिल्ने वातावरण बनाऊँ’



काठमाडौं ।
डा. बेदुराम भुसालले नेकपा एमालेमा रहेर लामो समय काम गरे । सादगी र अध्ययनशील नेताका रूपमा परिचित भुसाल पछिल्लो पटक एमालेमा आएको विभाजनमा भने माधवकुमार नेपाललाई साथ दिँदै एकीकृत समाजवादीमा जोडिएका छन् । एमालेमा हुँदा कहिल्यै मन्त्री बन्ने अवसर नपाएका भुसाललाई एकीकृत समाजवादीले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र हाँक्ने कृषि तथा पशुपन्छी विकास मन्त्री बनाएर पठाएको छ । सबै मिलेर कृषिलाई सम्मान र प्रोत्साहन मिल्ने वातावरण बनाउनुपर्ने मत राख्ने भुसाल कृषिलाई हुनुपर्ने व्यवहार नभएको स्वीकार गर्छन् । मन्त्रालयको नेतृत्वमा आएदेखि नै किसान र कृषि क्षेत्रको चिन्ता र चिन्तना गरिरहेका भुसालसँग समग्र कृषि क्षेत्रको अवस्था, मन्त्रीका रूपमा उनका भावी योजनालगायत विषयमा केन्द्रित रहेर गरेको विशेष कुराकानीः

यहाँ देशको समग्र कृषि क्षेत्रको विकास गर्ने जिम्मेवारीमा हुनुहुन्छ । मन्त्री हुनुअघि नेपालको कृषि क्षेत्रलाई कसरी हेर्नुभएको थियो । र, अहिले मन्त्रालयको नेतृत्व गर्दैगर्दा कस्तो पाउनु भएको छ ?

मैले मन्त्री हुनुभन्दा पहिले पनि नेपालको कृषि क्षेत्रलाई हाम्रो अर्थतन्त्रको मेरुदण्डकै रूपमा बुझेको थिएँ । त्यही हिसाबले हेर्थेँ, व्याख्या गर्थेँ । अहिले पनि त्यही नै हो, त्योभन्दा फरक मानेको छैन । कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । यसलाई मेरुदण्डको रूपमा जस्तो खालको व्यवहार हुनुपथ्र्यो, त्योचाहिँ हुन सकेको छैन ।

यहाँले भन्नु भएजस्तै अर्थतन्त्रको मेरुदण्डकै रूपमा कृषि क्षेत्रलाई व्यवहार गर्न कस्तो योजना बनाउनु भएको छ ?

यो क्षेत्रमा जे, जस्ता व्यावहारिक समस्याहरू छन्, तिनको समाधान हुनुप¥यो । खासगरी, कृषिको सबैभन्दा नजिकको सम्बन्ध सिंचाइसँग छ । सिंचाइबिना कृषि सम्भव छैन । यद्यपि, इजरायलीहरूले विकास गरेको एउटा थोपा सिंचाइ भन्ने प्रविधि छ, जुन थोरै पानीले पनि धेरै सिंचाइ गर्न सकिन्छ । अब हामीले थोरै पानीले धेरै सिंचाइ गर्ने प्रविधि विकास गर्नुपर्छ । जहाँ कृषियोग्य जमिन उपलब्ध छ, त्यो ठाउँमा सिंचाइ गर्न सकियो भने त्यसले ठूलो परिवर्तन ल्याउँछ । अर्थात् सिंचाइ पुग्नेबित्तिकै कृषिमा निकै ठूलो परिवर्तन आउँछ ।

दोस्रो, बढी उत्पादनशील बीऊको व्यवस्था गर्नुप¥यो । उन्नत बीउ, बिजनको व्यवस्था गर्नुपर्छ । जमिन, बीउ, पानीको सम्बन्ध छ कृषिमा । त्यसपछि बढ्नका लागि मल चाहिने भयो । यो चौथो आवश्यकता हो । यी ४ चिज भएपछि कृषिको उत्पादन हुन थाल्छ । हामीले खाएर सक्ने उत्पादन गरेर मात्रै हुँदैन ।

खान पुगेर बढी हुने उत्पादन गर्नुपर्ने छ । हामी आफूलाई खानका लागि भन्दा बढी उत्पादन गरेपछि त्यो उत्पादन बिक्री गर्नलाई बजार चाहियो । बजारमा लान सकिएन भने त्यसलाई अर्को वस्तुमा रूपान्तरण गर्न उद्योगको व्यवस्था गर्नुप¥यो ।

कृषिजन्य उपजमा आधारित उद्योगको व्यवस्था गर्नुप¥यो । तत्काल बजारमा पु¥याउँदा सस्तो पर्छ । तर, अर्को वस्तुमा रूपान्तरण गर्दा बढी पर्न सक्छ । जस्तो टमाटर बजारमा तुरुन्त पठाउँदा सस्तो पर्छ । तर त्यही टमाटरको केचप बनाउने उद्योग गाउँमा भयो भने त गाउँलेले बजार नपाए पनि केचप बनाएर बेच्न सक्ने भए । त्यसबाट बढी आर्थिक लाभ लिन सक्ने भए । त्यसो हुँदा उद्योगमा पनि जानुप¥यो ।

अहिले हामीले आफैँ उत्पादन गर्न सक्ने कतिपय वस्तुमा पनि आयातमा निर्भर हुन थालेका छौँ । आत्मनिर्भर कृषिको विकास कसरी गर्न सकिएला ?

आत्मनिर्भर बनाउने भनेको उत्पादन वृद्धि गरेर नै हो । उत्पादन वृद्धि गर्नका लागि अघि मैले भनेका कुराहरू (जमिन, सिंचाइ, बीउ, मल) हुनुप¥यो । उन्नत जातका र बढी उत्पादन दिने बीउ हुनुप¥यो । बढी पोषण दिन सक्ने गुणस्तरीय मल हुनुप¥यो । र, आवश्यक मात्रामा सिंचाइको व्यस्था हुनुप¥यो । उत्पादन वृद्धि भएपछि बजारमा लानुप¥यो । तर देशलाई पुग्नेभन्दा बढी उत्पादन भए त्यसलाई निर्यात गर्नतर्फ अघि बढ्नु प¥यो । अथवा त्यसलाई उद्योगमा लगेर प्रशोधन गरी नयाँ वस्तुमा रूपान्तरण गर्नुप¥यो ।

नेपालमा उन्नत जातको बीउभन्दा पनि रासायनिक मलको उपलब्धता नै समस्याको विषय बनेको छ । त्यसछि सिंचाइका समस्या त छँदैछन् । यी समस्या समाधान गर्न यहाँले कस्तो योजना बनाउनु भएको छ ?

मुख्य समस्या फेरि पनि सिंचाइ मै छ । हामी जलस्रोतको धनी देश भन्छौँ । तर त्यो जलस्रोत हाम्रो सिंचाइका निम्ति उपयुक्त ढंगले प्रयोग हुन सकेको छैन । हाम्रा नदीबाट पानी बगेर गएको गयै छ तर हाम्रा खेतहरू सिंचाइ हुन नपाएर बञ्जर धर्तीजस्तै छ । त्यसमा हामीले अलि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने देख्छु । त्यसमा मेरो एउटा धारणा छ, त्यो मैले पहिल्यैदेखि भन्दै आएको छु ।

तर त्यसमा खासै सुनुवाइ भएको छैन । त्यो भनेको पूर्वपश्चिम सिंचाइ नहर बनाउने भन्ने हो । सबै हाम्रा नदीबाट बगेको पानीलाई बाँधेर नहरमा ल्याएर कहाँ पु¥याउनु पर्ने हो त्यहाँ पु¥याउनु पर्छ । खास गरी पहाड र मधेश भेट हुने चुरेको फेदीबाट पूर्वपश्चिम नहर बनाउने हो भने हाम्रो सिंचाइको समस्या समाधान हुन्छ । त्यो हुनेबित्तिकै खेतखेतमा जब पानी पुग्न थाल्छ, नेपालीले आफैं स्वतःस्फुर्त खेती गर्न थाल्छन् । अहिले सिंचाइ नभएको कारणले उत्पादन कम हुन्छ । अझ सिंचाइ नभएको ठाँउँमा त आकाशे खेतीमा मात्रै भर पर्नु परेको छ । बर्खेबाली मात्रै हुन्छ ।

अर्को समस्या भनेको मलको हो । हामीले आफैंले रासायनिक मलको कारखाना खोल्नु मल आपूर्तिको भरपर्दो उपाय हो । तर त्यो कारखाना खोल्दा पनि हामीले कच्चा पदार्थ कहाँबाट प्राप्त गर्छौँ भन्ने समस्या छ । बाहिरबाट कच्चा पदार्थ ल्याउँदा हामीले उत्पादन गर्ने मल अहिले किनिरहेको भन्दा महँगो पो पर्छ कि । त्यो प्रश्न पनि छ । त्यसो भएर अहिले यो विषय अध्ययनमा छ ।
अहिले हामी सरकारमा आइसकेपछि पनि दुई वटा कम्पनीलाई अध्ययन गर्न अनुमति दिइएको छ । यो हाम्रो लगानी बोर्डको बैठकले अनुमति दिएको छ । उनीहरूले कस्तो रिपोर्ट ल्याउँछन्, त्यसकै आधारमा अघि बढ्ने कुरा हुन्छ ।

अर्को भनेको आउँदो वर्षका लागि मल ल्याउन यो वर्ष काम गर्नुपर्छ । अहिलेको हाम्रो प्रक्रिया अनुसार २२७ दिन लाग्छ, प्रक्रिया पूरा गर्न । यसको अर्थ मल आयात गर्न प्रक्रिया सुरु गरेको ७ महिनापछि मात्रै बल्ल मल नेपाल आइपुग्छ । तर हामी वैशाख, जेठ, असार लागेपछि बल्ल मल ल्याउने कुरा गर्छौँ ।

त्यो सम्भव हुँदैन । त्यसकारण हामीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट आयातमा बाधा पु¥याउने कानून सहज बनाउने र ठेक्कापट्टामा जाँदा बढी समय लाग्ने भएकोले जिटुजीमै जाने निर्णय गरेका छौँ । तर जिटुजीमा जाँदा पहिला पैसा भुक्तानी गर्नुपर्छ । हामीसँग पैसा नहुने समस्या कसरी समाधान गर्ने त्यो पनि महत्वपूर्ण छ । नियमित आपूर्तिका लागि जिटुजी नै सहज हुन्छ ।

यसपालि हामीले प्रक्रिया सबै टुंग्याएर पठाइसकेको अवस्था छ । हामीले ल्याउने मल खरिद भइसकेको अवस्था छ । त्यसो हुँदा यो वर्ष समस्या रहँदैन । साथै, बीउ, बिजनमा त्यति धेरै ठूलो समस्या छैन । हामीले पनि आफ्ना बीउका विभिन्न नश्लको विकास गरिरहेका छौं । बाहिरबाट पनि आइरहेको छ । अलिअलि कमी होला, त्यति ठूलो हुँदैन । यसलाई चाँडै समाधान गर्न सकिन्छ ।

उत्पादन भए पनि नेपालमा कृषि बजारको समस्या छ । यो समस्या कसरी समाधान गर्न सकिएला ?

मैले अघि नै भनेँ नि आफूलाई खाएर बढी हुने गरी उत्पादन गर्नुपर्छ । उत्पादन बढाउँदा बजारको व्यवस्थापन गर्न सक्नुपर्छ । र तत्काल भएको उत्पादनलाई बजारको व्यवस्था गर्न नसक्ने हो भने त्यसका लागि उद्योग खोलेर अर्को उत्पादन गरी अर्को समय र अर्को बजारमा पनि पठाउन सकिन्छ ।

जस्तो, टमाटर बढी उत्पादन भए केचप बनाएर बेच्न सकिन्छ । यसका लाग कृषिमा आधारित तथा आन्तरिक कच्चा पदार्थमा आधारित साना, मझौला तथा घरेलु उद्योगलाई अनुदानलगायतका सुविधा दिने सरकारको नीति पनि छ । सरकारले सबै ठाउँमा आफैंले उद्योग खोल्न सक्दैन । उद्योग खोल्नलाई प्ररित गर्ने हो । सँगै, हामी कृषिमा यान्त्रिकीकरणमा जानुपर्छ । हरेकजसो काममा यन्त्रको प्रयोग गर्ने हो भने उत्पादन लागत कम पर्छ । जनशक्ति कम पर्छ । श्रम कम पर्छ । समय कम लाग्छ । र बढी उत्पादन प्रतिस्पर्धी मूल्यमा गर्न सकिन्छ ।

अब अलिकति पशुपन्छी क्षेत्रको कुरा गरौँ । पछिल्लो समय लम्पी स्किन रोगको महामारीले देशभर गाईभैँसी मर्न थालेका छन् । त्यस्तै, बर्डफ्लुले कुखुराका खोर नै सखाप भइरहेका छन् । अफ्रिकन स्वाइन फिबरले पनि समस्या पारेको छ । यो समस्या समाधान कसरी गर्न सकिएला ?

पशुपन्छीमा लाग्ने लम्पी स्किन नयाँ रोग हो । त्यसो भएकाले हामीसँग लम्पी स्किन र खोरेतबाहेक अरू रोगको भ्याक्सिन यहीँ उत्पादन हुन्छ । हाम्रो त्रिपुरेश्वरस्थित जुन खोप उत्पादन प्रयोगशाला छ, त्यहीँबाट उत्पादन हुन्छ । कहिले केही मात्रा नपुगेर समस्या आउने त हुन सक्छ । तर ठूलो समस्या छैन ।

त्यस्तै, अफ्रिकन स्वाइन फिवरले गत साल धेरै बंगुर मरे । यसले धेरै ठूलो क्षति भएको छ । क्षति न्यूनीकरण गर्न धेरै पहलहरू भएका छन् । सँगै किसानको क्षतिमा राहत पुगोस् भनेर बीमा गर्ने नीति पनि ल्याएका छौँ । तर हामीकहाँ समस्या कस्तो छ भने त्यही बीमा पनि नगरिदिने । गत साल अफ्रिकन स्वाइन फिवरबाट क्षति भोगेका धेरै किसानले आफ्नो बंगुरको बीमा नगरेका कारण क्षतिपूर्ति पाउन सकेनन् भन्ने छ । त्यसकारण सचेतना अभियान पनि हामीले चलाउनु पर्ने अवस्था छ ।

खोरेत नियन्त्रणका लागि पनि भ्याक्सिन उत्पादन गर्न थालिएको छ । लम्पी स्किनको खोप पनि बजारमा चाहिँ आउन थालेको छ । बाहिर पनि कहीँ परीक्षणमा छ । भारतमा पनि यो रोग छ । त्यहाँ पनि आफ्नो प्रयोगका लागि भ्याक्सिन उत्पादन गरेका रहेछन् ।

व्यावसायिक उत्पादन सुरु गरेका छैनन् भन्ने जानकारी पाएका छौँ । तर लम्पी स्किन नियन्त्रणका लागि भित्रभित्रै भारतीय खोप आइरहेको छ भन्ने पनि सुनेका छौँ । अहिलेचाहिँ जोर्डनबाट खोप आइरहेको छ । त्यो महँगो परेको छ । नेपालमा बाहिरबाट खोप किन्नका लागि बजेट नभएकाले सरकारले किन्न अप्ठ्यारो परेको छ । बाहिरबाट निजी क्षेत्रले ल्याएको खोप भने अहिले बिक्री गर्न थालिएको छ । लम्पी स्किन लागिसकेको पशुलाई खोप लगाएर काम छैन । यो रोग नलागेको पशुलाई खोप लगाइयो भने मात्रै त्यसले रोग लाग्न नदिने रहेछ ।

बर्डफ्लु रोग नियन्त्रणका लागि पनि खोप लगाउन नपाएर बेलाबेला कुखुरा मरेको गुनासो किसानको छ । यसलाई कसरी लिनुभएको छ ?

खोप लगाउने व्यवस्था छ । उनीहरूले किनेर पनि लगाउन सक्नुहुन्छ ।

तर, आयातमा प्रतिबन्ध लगाइएको छ भन्ने गुनासो किसान तथा कुखुरापालक व्यवसायीको छ ?

त्यस्तो होइन होला । यहाँ व्यवस्था छैन भने ल्याउनु पर्छ । अध्ययन गरेर आयात अनुमति दिनु पनि पर्छ ।

अब अन्त्यमा, आम किसान दाजुभाइ, दिदीबहिनीलाई के कस्तो सन्देश दिन चाहनुहुन्छ ?

कृषि अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बित्तिकै त्यो कृषिलाई अघि बढाइरहेका आम किसान दाजुभाइ, दिदीबहिनी पनि कृषिको आधार हुनुहुन्छ । कृषिमा किसान र कृषि कर्मको महत्व छ । यसबाट नै हामीले विकासको अभियान अघि बढाउन सक्छौँ भनेर नै लाग्नुपर्छ । सरकारले कृषि क्षेत्रको विकासका लागि थप्रै किसिमका अनुदान दिएको छ । सुविधा दिएको छ ।

तर किसानले थाहा नपाएर पनि त्यो सुविधा लिनबाट वञ्चित भइरहनु भएको छ । किसानका लागि छुट्याइएको अनुदान बीचबीचबाटै गायब पारिन्छ भन्ने पनि आएको छ । त्यसो हुँदा किसानलाई आएको अनुदान वास्तविक किसानले नै पाउने वातावरण बनाउन किसान सचेत हुनुपर्छ । हामी राजनीतिक क्षेत्रबाट नेतृत्व गर्नेहरूले पनि ध्यान दिनुप¥यो । सरकारका विभिन्न निकायमा बस्नेहरूले ध्यान दिनुपर्छ ।

सँगसँगै मिडियाकर्मीहरूले पनि ध्यान दिनुप¥यो । सबैले मिलेर काम ग¥यौँ भने कृषि क्षेत्रमा हामीले उत्पादन वृद्धिको अभियानलाई अघि बढाउन सक्छौँ । यसले अर्थतन्त्रलाई बलियो बनाउन सक्छ । अर्थतन्त्र बलियो भयो भने मात्रै हाम्रो राष्ट्रियता र स्वाधीनता पनि बलियो हुन्छ ।

जुन राष्ट्रको अर्थतन्त्र कमजोर छ, त्यो कहिल्यै पनि राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनताको हिसाबले बलियो बन्न सक्दैन । त्यसो हुँदा हामीले गर्ने गरेको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता यी सबै उत्पादनसँग जोडिएका छन् । उत्पादन त हामीले अहिले तत्कालै गर्न सक्ने कहाँबाट हो भन्दा कृषिबाट हो ।

अहिले तत्कालै टेक्सटाइल उद्योग खोलेर प्रतिस्पर्धा गर्छौं वा आत्मनिर्भर हुन्छौँ भनेर गर्न सकिने विषय हुँदैन । यसका लागि समय लाग्छ । कृषिमा आत्मनिर्भरता मात्रै होइन, निर्यात पनि सम्भव छ भनेर प्रमाणित भएको विषय हो । जस्तो हामीले यो वर्ष मात्रै ४ अर्बको चिया निर्यात गरेका छौँ ।

छुर्पी, स्कुसलगायत अर्बौंको कृषि उत्पादन निर्यात भइरहेका छन् । अन्न उत्पादन गर्न सक्यो भने त अन्न निर्यात हुन सक्ने झनै प्रशस्त सम्भावना छ । जमिन र माटो नै नभएका देशले अन्तबाट माटो लगएर कृषि उत्पादन गरिरहेका छन् । त्यही ठाउँमा हाम्रा दाजुभाइले गएर काम गरिहुनु भएको छ । हामीसँग त जमिन छ । उर्बर जमिन छ । पानी पनि छ । यसमा केही थप सुविधा वृद्धि ग¥र्यौं भने उत्पादन हुन सक्छ । त्यसो हुँदा कृषि उत्पादन बढाउन सबै किसान मिलेर लाग्नुपर्छ । यस अर्थमा किसानको महत्व छ । सबै मिलेर किसानको श्रमलाई सम्मान गर्ने, प्रोत्साहन गर्ने वातावरण बनाउँदै जानुपर्छ । -भेट टाइम्सबाट

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ७ : ०५ बजे