१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मानव–हात्ती द्वन्द्व चर्कदै



बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्तीक्षेत्र लगायत खाता जैविकमार्गमा मानव–हात्ती द्वन्द्व बढेको छ । शनिबार बर्दिया निकुञ्जमा १२ औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइरहेको चार दिनअघि राजापुर नगरपालिका–१० मझेरास्थित दुई हात्तीले तीन वटा घर भत्काएका थिए ।

हात्तीले सोही ठाउँका ईश्वरी थारुको खरले छाएको दुई वटा कच्ची घर भत्काउँदै अन्नबाली खाएको छ । यसैगरी मयालु थारुको जस्तापाताले छाएको भित्ता भत्काउँदै अन्नपात खाएको छ । सोही ठाउँका बलीराम थारुको जस्तापाताले छाएको घरको भित्ता भत्काउँदै अन्नपात क्षति पुर्‍याएको छ । गत आर्थिक वर्ष ०७९/८० मा हात्तीले ७८ घर गोठ क्षति पुर्‍याएको थियो । सोही अवधिमा हात्तीले ४ सय २६ ठाउँमा खेतीबालीमा क्षति पुर्‍याएको निकुञ्जले जनाएको छ । हात्तीको आक्रमणमा गत आर्थिक वर्षमा एक जना मानिसको ज्यान जानुका साथै २ जना घाइते भएका थिए । हात्तीले दुई दशकयता ५ सय बढी घर भत्काउनुका साथै सयौं बिघामा लगाएको अन्नबालीमा क्षति पुर्‍याएको निकुञ्जले जनाएको छ ।

०५६ सालयता हालसम्म हात्तीले मध्यवर्ती क्षेत्रमा ३६ जनाको ज्यान गएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए । बाघसँगै हात्तीको संख्या करिब करिब उस्तैउस्तै छ । निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बर्दिया निकुञ्जमा १ सय २० भन्दा बढी हात्ती रहेको अनुमान गरिएको बताए । बाघको संख्या १ सय २५ रहेको छ । हात्ती बर्दिया निकुञ्जको कर्णाली र बबई तटीय क्षेत्र लगायत खाता जैविकमार्गमा बढी मात्रामा देखिने गरेको छ । बाघ र हात्ती बढैसँगै चुनौती पनि उत्तिकै चुनौती थपिएको संरक्षणकर्मी वासुदेव भट्टराईले बताए । ‘बाघले मानिसलाई बढी आक्रमण गरेको पाइएको छ,’ उनले भने, ‘हात्तीले अन्नबाली र भौतिक संरचना बढी क्षति पुर्‍याउँदै आएको छ ।’ उनले हात्तीले मानिस मार्न पनि छाडेको छैन बताए । भारतीय सिमाना कतरनियाघाट वन्यजन्तु आरक्षबाट आउने हात्तीले साबिक भिम्मापुर गाविसमा किसानका अन्नबाली, घर र मानवीय क्षति पुर्‍याउँदै आएको छ । एक दशकयता यहाँ दुई वटा हात्ती विद्युतीय धरापमा मारिएका थिए ।

हात्तीको बासस्थान र आहाराको कमीले गर्दा गाउँ, घर र करेसा बारीमा पस्छ । हात्ती विशेष गरी भारतसँग जोडिएको कतरनियाघाट वन्यजन्तु आरक्ष हुँदै खाता जैविकमार्गबाट बर्दिया निकुञ्ज प्रवेश गर्छ । हात्ती भने एक्लै हिँड्दैन बुढी हात्तीको अगुवाइमा समूहमा आउजाउ गर्ने गरेको बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । हात्तीको संख्या बढ्दै गएपनि बासस्थान साँघुरिएकोले वन क्षेत्र छाडेर बस्तीमा प्रवेश गर्छन्,’ उनले भने, ‘हात्तीले गाउँमा पसेर अन्नबाली र मानवीय क्षति पुर्‍याएपछि मानव र वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ ।’

हात्ती शाकाहारी भएकाले मानव बस्तीमा पसेर अन्नबाली, भौतिक संरचना र मानवमाथि आक्रमण गर्ने गरेको छ । बाघ र हात्तीको संख्या बढ्दै गएपछि साँझ पर्नासाथ घर बाहिर निस्कने अवस्था नरहेको स्थानीय बताउँछन् । पालिका, प्रदेश र संघीय सरकारले कम्तिमा मानिसको जिउ ज्यान सुरक्षाका लागि तारबार लगाउन जरुरी रहेको संरक्षणकर्मी राम शाहीले बताए ।

संरक्षणकर्मी शाहीले ९ सय ६८ वर्ग किमी क्षेत्रफलमा रहेको बर्दिया निकुञ्जमा बाघ र हात्तीको संख्या बढ्नु सकारात्मक भएको बताउँछन् । तर मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन गरिएन भने चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँछ । बेलैमा सरकारले यसको व्यवस्थापनका लागि बजेटको सुनिश्चिता गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०८० शनिबार ००:००  २ : ३६ बजे