२९ असार २०८१, शुक्रबार | Sat Jul 13 2024

कपिलवस्तुः नदी पस्ने डरले रातभर जाग्राम बस्छन् तीन गाउँका बासिन्दा



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँबासीहरु विगत ढेड महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्।

कपिलवस्तु नगरपालिका- १० अकबरपुर, महराजगंज नगरपालिका- १० हर्दौना र यशोधरा गाउँपालिका- ८ खोरिया गाउँका बासिन्दाहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्ने गरेका हुन्। उनीहरु कती खेर गाउँमा भेल पस्ने हो भनेर खोलामा बाढी हुँदा रातभर जाग्राम बस्ने गरेका हुन्।

गाउँसँगै सटेर बाणगंगा नदी बग्न थालेपछि दक्षिणी पश्चिमका ती गाउँका बासिन्दाको जीवनयापन संत्रासमय बनेकोे छ। जिल्लाको महाराजगंज नगरपालिको ८ कजरहबा र सिंग्रहा तथा वडा नम्बर १० को हर्दौना र करईलिया तथा कपिलवस्तु नगरपालिका १० को सौराहाको अकबरपुर, यशोधरा गाउँपालिका- ८ खोरिया गाउँका बासीन्दाको जीवन संत्रासमय बनेको छ।

गाउँलाई सुरक्षित गर्न नदीमा विभिन्न ठाउँमा बनाइएको पक्की तटबन्ध (ठोक्कर) नदीले भत्काउँदै बगाई लगेपछि अहिले गाउँ बगाउने खतरा बढेको हो। उत्तर पूर्वबाट आएको बाणगंगा नदी र पश्चिम दक्षिणबाट आएको सोतबा नदीले घरेको चार गाउँका वासिन्दा बर्षेनी कटान र डुवानको समस्याबाट पिडित हुँदै आएका छन्। नदीका कारण ५० बिघा खेत गुमाएको यशोधरा गाउँपालिका– ८ खोरियाका जमिरल्लाह मुसलमानले नदी कटान आफ्नो लागि अभिसाप बनेको बताए। विगत ढेड महिना देखि आफूहरु रातभरी जाग्राम बस्ने गरेको उनले बताए। ‘पालैपाले गरी पहरेदारी गर्छौ’ उनले भने। ‘भएको खेत जति सबै नदीले खायो, थोरै मात्र बाँकी छ परिवारको गुजारा चलाउन पनि मुस्किल बनेको छ’ उनले दुःखी हुदै भने।

नदीले २५ बिघा खेत बगर बनाएपछि पीडामा रहेको अनारुल हाजीले नदीले गर्दा गाउलाई नै गरिब बनाएको बताए। ‘उर्भर जमिन जति सबै नदीले बालुवा बनायो, खान लाउन पनि समस्या परेको छ’ उनले भने।

बनाइएको तटबन्ध भत्काउन थालेपछि गाउँलेहरु त्रसित बनेका छन्। नदीको बहाव बस्ती तर्फ च्याप्दै गएपछि गाउँलेहरु डराएका हुन्। तटबन्ध नरहेको दक्षिण तर्फ नदीले धमाधम कटान गर्न थालेको छ। ‘तटबन्ध नभएको ठाउमा नदीले कटान गर्दै गाउँ तिर धकेल्न थालेको छ’ स्थानीय राम मिलन कोरीले भने, ‘चाडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ खोरिया गाउँमा ढाई सय जति परिवारको बसोबास छ। कजरहवा र सिंग्रहा गाउँका दुई सय बढी परिवारको तीन सय विघा भन्दा बढी जमिन सो नदीले बगर र बालुवामा परिणत गरेको स्थानियवासिन्दाहरु बताउँछन्।

नदी कटान र डुबानका कारण तीन पटक सिंग्रहा गाउँ सर्नु परेको दुखेसो पोख्दै स्थानीय बासिन्दा कुमारे यादवले भने ‘नदीले हाम्रो खेत पनि खायो घर पनि बगायो, अहिले पूरै गाउँ टापु बनेको छ, अविरल वर्षा र बाढी आएको बेला हाम्रो भोक निद्रा नै हराउने गर्छ। ‘नदी गाउँमा कहिले पस्ने हो जहिले पनि चिन्ताले सताउँछ, बर्षायाममा रातभरी सुत्न पाउँदैनौँ, पालैपालो चौकीदारी गर्छौ।’ सौराहा ९ अकबरपुरका सूर्य गिरीले नदीले दिएको दुःखको विवरण सुनाउँदै भने ‘वर्षौ देखिको हाम्रो पीडा कसैले सुनुवाई गरेको छैन। ’ नदी कटान सर्दै गाउँ तिर आएको छ।

नदीले गाँउलाई छुन केही मिटर मात्र बाँकी छ। अकबरपुरमा नदीले गाउँलेहरुको सय बिघा बढी खेतीयोग्य जमिन बगर बनाएको छ। बाणगंगा नदीले हदौना बासिन्दालाई समेत कटान र डुबानले सताएको छ। हर्दौनाका रमेशबहादुर सिंहले भने, ‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने त्यही चिन्ताले सताउँछ।’ यहाँका साढे चार सय घर परिवार नदीको चपेटामा परेका छन्।

हर्दौनाको ९० विघा भन्दा बढी खेत नदीले बगर बनाएको छ। बाढीको अति जोखिममा रहेका ती गाउँहरुमा जलउत्पन्न प्रकोप, तत्कालीन जिविस, रेडक्रस लगायतका निकायले तटबन्धको नाममा कराडौं रुपैया लागनी गरेपनि अहिले त्यहाँ नाम निशान छैन। हरेक वर्ष नदी नियन्त्रणको नाममा लगानी हुन्छ, तर समस्या ज्युका त्यु हुन्छ। पंचालयी शासन, बहुदलीय शासन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरे पनि कुनै पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको पीडित गाउँलेहरुको दुःखेको छ। सरकार, दल र प्रशासकहरुले मौखिक आश्वासन बाहेक केहि नदिए पछी स्थानीयवासी निराश हुँदै भन्छन् ‘, भगवानले बचाए बाच्ने हो नत्र के पो गर्न सकिन्छ र ?’

भारतले अनुदान नदिंदा बाणगंगा नदी नियन्त्रणको कार्य अलपत्र

भारतले सरकारले बाणगंगा नदी नियन्त्रण र संरक्षणका लागि अनुदान दिने घोषणा गरे अनुसारको रकम दिन बेवास्ता गरे पछि अहिले नदी नियन्त्रणको काम अलपत्र परेको छ। भारतले सरकारले अनुदान दिने भने पछि जनता तटबन्ध कार्यालय बुटवलको अगुवाईमा एक बर्ष लगाएर नदीको डिपीआर समेत निर्माण गरेको छ।

करिब ६ अर्वको लगानीको डिपीआर तयार गरेर ठेक्का समेत आह्वानको तयारी गरे पनि भारतले घोषणा गरे अनुसारको अनुदान नदिंदा नदी नियन्त्रणको काम अघि बढन नसकेको जनता तटबन्धका प्रमुख ईश्वर तिवारीले बताए। अनुदानका लागि नेपाल र भारत सरकारको प्रतिनिधि बीच बस्नु पर्ने संयुक्त बैठक (जेटीआईएफएम) समेत हालसम्म हुन नसकेको उनले बताए।

‘भारतीय पक्षले बैठक बस्न नै खोजेका छैनन, त्यसले बाणगंगा नदी नियन्त्रणको काम सुरु नै हुन सकेको छैन्’ उनले भने ‘ हामी डिपीआर बनाएर ठेक्का समेत आवहन गर्ने तयारीमा कुरेर बसेका छौ।’ भारतले अनुदान नदिदा सम्म काम सुरु हुन नसक्ने उनले बताए। ६ अर्बको लगानीमा बाणगंगा नदी नियन्त्रणको काम हुने भन्दै खुशी भएका कपिलवस्तुबासी भने अहिलेसम्म काम नै सुरु नभए पछि निराश बनेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८० सोमबार ००:००  ९ : २९ बजे