११ असार २०८१, सोमबार | Tue Jun 25 2024

राजनीति छोडेर पुनः आरनमा



बेनी ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन् । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन् ।

गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याएका छन्। बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउँछन् । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो ।

विसं २०७५ देखि नै पार्टी राजनीतिसँगसँगै आरन उद्योगमा समेत उनले आफैँ काम गर्न थालेका थिए । करिब एक रोपनी जग्गामा मासिक रु सात हजार शुल्क तिर्ने गरी भाडामा लिएका उनले आरन उद्योगसँगसँगै सामग्री बिक्रीकक्षसमेत सञ्चालन गरेका छन् ।

केही वर्षअघिसम्म पार्टीको राजनीतिक गतिविधिमा सक्रिय हुने उनी अहिले आफ्नै पौरखको पेसामा फर्किएका छन्। ‘‘हरेक दिन आरनकै काम गर्नेमा मेरो समय खर्चिएको छु, कहिलेकाहीँ पार्टीको बैठक, भेला, प्रशिक्षणहरूमा भाग लिनुपर्दा मात्रै यहाँ आउन सक्दिनँ, पार्टीको नेतृत्व पनि अधिवेशनबाट हस्तान्तरण गर्ने योजनामा छु’, उनले भने ।

जिल्लामा पार्टी सङ्गठनको आकार ठूलो नहुँदा राजनीतिक गतिविधिसमेत कम हुने र घरपरिवारको जीविकोपार्जनका लागि पनि अन्य स्रोत नभएपछि विश्वकर्माले आरन उद्योगलाई पेसा–व्यवसायको रूपमा रोजेका थिए । सङ्घीयता नआउँदै जिल्लास्तरमा राजनीतिक दलका नेताहरू बैठक, अन्तक्र्रिया, सभा, समारोह, योजना, अनुगमनलगायतको क्षेत्रमा समेत व्यस्त बन्ने गरेको भए पनि स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जिल्लास्तरीय नेताहरूको भूमिका खुम्चिएको छ ।

पार्टी कामबाहेक अन्य समय फुर्सदिलो हुने भएकाले आफूले आरन उद्योग खोलेको नेता विश्वकर्माले बताए । सुरुआतमा रु तीन लाख लगानीबाट आरन सञ्चालन गरेका विश्वकर्माले परम्परागत आरनलाई आधुनिकीकरणसमेत गरेका छन् । पहिले फलाम काट्ने, जोड्ने र धार लगाउने सबै काम हातले नै गर्नुपर्ने भए पनि अहिले भने फलाम काट्ने, जोड्ने र धार लगाउन मेसिनको प्रयोग गर्ने गरेको उनले बताए ।

विश्वकर्माको आरन उद्योगलाई मालिका गाउँपालिकाले परम्परागत आरन आधुनिकीकरण गर्ने कार्यक्रमअन्तर्गत वेल्डिङ र ग्रेण्डर मेसिन अनुदानमा दिएको छ । आरनमा घरेलु कृषि औजार आँसी, बाउसा, कोदाला, थेबे, बन्चरो, फाली, ओदान, खुकुरी, दाबेलगायतका सामग्री निर्माण हुने गरेको छ ।

उद्योगमा आफूसँगै थप दुई जनाले काम गर्दै आएको विश्वकर्माले बताए । एक्लैले सामग्री तयार गर्न सम्भव नभएपछि एक जना मुख्य मिस्त्री र एक जना सहयोगी राखेर आरन चलाउँदै आएको उनले जानकारी दिए ।

‘राजनीति सेवा हो, घरपरिवार चलाउन त पेसा अँगाल्नै पर्यो, आफूले गरेको पेसाले पुख्र्यौली पेसाको संरक्षण र कृषि उत्पादनमा टेवा पुर्याओस् भन्ने चाहनाले आरन खोलेको हुँ’, उनले भने । आरनबाटै भएको आम्दानीले एक छोरालाई कक्षा १२ सम्म र अर्को छोरालाई स्नातक तहको पठनपाठन गराउन सम्भव भएको उनले बताए । घरायसी कृषि र आरनबाटै विश्वकर्माको बुवा–आमा, दुई छोरा र श्रीमतीसहित छ जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।

आरनमा आवश्यक पर्ने कोइला स्थानीय सामुदायिक वनमा निश्चित शुल्क तिरेर तयार गर्दै आएको उद्योगले जनाएको छ । आरनमा मुख्य चुनौती भनेको उत्पादन भएका कृषिजन्य सामग्री र औजारको बजारीकरणमा देखिएको छ । बाहिरबाट आयात गरिएका सामग्रीको मूल्य सस्तो पर्ने र आफ्नो उद्योगमा बनाइएको सामग्री टिकाउ र भरपर्दो बनाउँदा लागत बढी लाग्ने भएकाले बाहिरबाट आउने कमसल र सस्तो मूल्यका सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिनाइ हुने गरेको उनको अनुभव छ ।

परम्परागत सीपको उपयोग हुने आरन पेसा हराएर जाने अवस्थामा पुगेपछि त्यसको संरक्षणमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले अरु पेसा व्यवसायको विकल्प हुँदाहुँदै आरनमा लागेको विश्वकर्माले बताए। जनप्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्दा १४ वर्षको उमेरमा नै अनेरास्ववियू छैटौँको प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिमा होमिएका उनले सात वर्षदेखि जनमोर्चाको जिल्ला नेतृत्व सम्हालेका छन्। नेता विश्वकर्मा जिल्लामा शालिन र सरल नेताको रूपमा परिचित छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८० शुक्रबार ००:००  १ : ०१ बजे