९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मार्क्सवाद र यसको सान्दर्भिकता



कृष्ण भुसाल ।
मे ५ १८१८ तारिखको दिन मार्क्सवादका प्रतिपादक तथा बैज्ञानिक समाजवादका सिद्धान्तकार कार्ल मार्क्सको जन्म जर्मनको राइन प्रान्तमा एक सभ्य परिवारमा भएको थियो । कार्ल मार्क्सले आफ्ना अनन्य मित्र फ्रेडरिक एंगेल्सको सहयोगमा कम्युनिष्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी १२ तारिखको दिन कम्युनिष्ट घोषणापत्र जारी गर्नुभयो । त्यस पश्चात कम्युनिष्ट घोषणापत्र विश्व सर्वहारा बर्गको मुक्तिको सिद्धान्त र मागदर्शक सिद्धान्त बन्यो । कम्युनिष्ट घोषणापत्रको पहिलो प्रकाशन हुँदा कार्ल मार्क्सको उमेर २९ वर्ष र फ्रेडरिक एंगेल्सकको उमेर २७ बर्ष मात्रै थियो ।

घोषणापत्र तयार गर्दाको समयमा मजदुर वर्ग स्वतन्त्र सामाजिक शक्तिको रुपमा स्थापित हुने कुराको कल्पना समेत गर्न कठिन थियो । त्यतिबेला मजदुर वर्गहरुको संगठित आन्दोलनलाई राज्यसत्ताको विकल्पको रुपमा लिने अवसथा नै थिएन । त्यस समयमा कम्युनिष्ट पार्टीको घोषणापत्रका माध्ययमबाट माक्र्स र एंगेल्सले मजदुर वर्ग स्वतन्त्र स्वतन्त्र सामाजिक शक्तिका रुपमा विकास भइरहेको कुरामात्र गर्नुभएको थिएन, उहाँहरुले मजदुर वर्गकै नेतृत्वमा हुने राजनैतिक क्रान्तिले उदाउँदै गरेको पुँजिवादको अन्त्य हुने समेत उद्घोष समेत गर्नुभयो । साथै पुँजीवादको अन्त्यपछि श्रमजिवि बर्गको नेतृत्वमा समाजवाद हुँदै साम्यवाद निमार्ण हुने वैज्ञानिक निष्कर्ष अगाडी सार्नुभयो । वास्तवमै कम्युनिष्ट घोषणापत्रको प्रकाशनलेनै सर्वहारा, श्रमजिवि वर्ग एउटा नयाँ राजनैतिक शक्तिको रुपमा स्थापित भयो ।

पुँजीवादी राजनैतिक अर्थशास्त्रको गहन अध्ययनको क्रममा कार्ल मार्क्सले, पुँजीवादको पत्रहरु केलाउँदै सन १८६७ मा पुँजीको प्रथम खण्ड प्रकाशन गर्नुभयो । त्यसले मार्क्सलाई मजदुर वर्गको बीचमा मात्रै होइन, बौद्धिक बर्गका बीचमा पनि गहिरो गरी स्थापित गर्ने काम गर्यो । कार्ल मार्क्सद्वारा लिखित पुँजीको दोस्रो र तेस्रो खण्ड चाहिँ उहाँको अवसानपछि उहाँका अनन्य मित्र एंगेल्सले प्रकाशनमा ल्याउनुभयो । मार्क्सद्धारा लिखित पुँजीको तीन खण्डहरु अध्ययन गर्ने जो कोहिले पनि माक्र्सको राजनैतिक अर्थशास्त्रमा कति गहन दखल थियो भन्ने कुरा सजिलै अनुमान गर्न सक्दछन । साथै मार्क्सको देहान्तपछि पनि पुँजीको दोस्रो र तेस्रो खण्ड प्रकाशन हुनुले मार्क्सवादको विकासमा माक्र्स एंगेल्सको सहकार्य कस्तो रहेछ भन्ने कुरा प्रष्ट पार्दछ ।

मार्क्सको जीवनकाल भन्दा पहिले पनि समाजवादका चिन्तक नभएका होइनन । मार्क्स खास खालको ऐतिहासिक कालखण्डमा वा पुँजीवादी युगमा जन्मिएको हुनाले उनले पुँजीवाद अगाडिको मानव इतिहासको वर्गीकरण गर्नको लागि विभिन्न दार्शनिकहरुका विचारधारालाई आत्मसात गरेको पाइन्छ । दार्शनिक कार्ल मार्क्स भन्दा पहिले समाजवादका चिन्तकहरुमा सेन्ट सायमन, चाल्र्स फुरिए, रोबर्ट आवेन आदि थिए । मार्क्सवादले मानव प्रकृति वा स्वभावलाई श्रमको सक्षमताको लागि उद्देश्यपूर्ण र रचनात्मक कार्यमा प्रयोग हुन्छ भनेर चित्रण गरेकोे छ । जतिबेला मार्क्सवादको बिकास भयो त्यतिबेला विश्व यति खुला भइसकेको थिएन । ज्ञान सिद्धान्तहरु प्नि एक ठाउँबाट अर्को ठाउँमा सहजै हस्तान्तरण हुने अवस्था तयार भइसकेको थिएन । तसर्थ मार्क्सवादको विकासमा युरोपेली समाजको वर्ग संघर्ष र त्यहाँ विकास भएका ज्ञान सिद्धान्तहरुको भुमिका ज्यादा रहेको पाइन्छ । कार्ल मार्क्स आफैले पनि युरोपको मजदुर आन्दोलन र राजनैतिक आन्दोलनलाई नजिकबाट अध्ययन गर्नुभयो साथै प्रत्यक्ष र परोक्ष रुपमा सहभागि हुनुभयो । मार्क्सपछिको समयमा मार्क्सवादको सिर्जनात्मक विकासको पक्षसमेत एक हदसम्म ओझेलमा पर्यो ।

समकालिन विश्व परिस्थितीमा मार्क्सवादको सान्दर्भिकताको कुरा गरिरहँदा विश्व प्रशिद्ध कम्युनिष्ट घोषणपत्रको प्रकाशन भएको पनि १७२ बर्ष पुगेको छ । यस अवधिमा पुँजीवादी दुनियाँ र विश्व कम्युनिष्ट आन्दोलनमा निकै ठुलो परिवर्तन आइसकेको छ । अक्टोबर क्रान्तिको सफलतापछि विश्व व्यवस्थाको एक महत्वपूर्ण हिस्सा बन्न सफल भएको कम्युनिष्ट आन्दोलन सोभियत संघको बिघटनपछि रक्षात्मक अवस्थामा पुगैकै हो । राज्यसत्ताको सवालमा विश्व कम्युनिष्ट आन्दोलन यतिबेला कमजोर अवस्थामानै रहेको छ । आफ्नो देशको विशेषतामा आधारित रहेर मार्क्सवादको सिर्जनात्मक प्रयोगको नाममा मार्क्सवादको आम बुझाइमा समेत समस्या देखिएको छ । मार्क्सवाद लागू गर्ने सन्दर्भमा उर्पयुक्त राजनैतिक प्रणाली कस्तो रहने भन्ने सन्दर्भमा समेत बहस चलाउन जरुरी देखिन्छ । साथै मार्क्सवादी दर्शनले मानव समाजको समृद्धिमा के कस्ता प्रभाव पारेका छन् भन्ने विषयमा पनि बहस सुरु गर्नु आवश्यक छ ।

आज धेरै विद्वान तथा विश्लेषकहरुले यो बुझेका छन कि मार्क्सवादी दर्शन विश्वको व्याख्या गर्न र विद्यमान बिरोधाभाषहरुले ल्याएको सामाजिक आर्थिक संकटबाट छुटकरा दिनको लागि अत्यन्तै सुसंगत दर्शन हो । समकालिन समाजका केही बुर्जुवा बौद्धिकहरले पनि, मार्क्सले निचोड निकालेको मानव इतिहास, वर्गीय विभेदको धारणा र सामाजिक विकासको आर्थिक नियमलाई उपयोग गर्नुपर्ने आवश्यकता बुझेका छन । हालसालै ग्रीसका अर्थशास्त्री, शिक्षाविद एवं पूर्व अर्थमन्त्री यानिस वरौफकिस लेख्छन कि, मार्क्सको विश्लेषण वर्तमान द्विबिधा बुझ्नको लागि र यसबाट निस्कनको लागि प्रयोग गरिने चाबि हो । अहिलेसम्म पनि, बुर्जुवा बौद्धिकहरुले सोभियत संघको पतनलाई मार्क्सवादी दर्शनको झुठा प्रमाणको रुपमा औँल्याएपनि समग्रमा पुँजीवादी संकटबाट पार लगाउने चाबी भनेकै मार्क्सवाद हो ।

सोभियत संघको बिघटनलाई सिंगो मार्क्सवादको असफलतासंग जोड्नु किमार्थ सहि होइन । सोभियत संघ बिघटन हुनुमा विभिन्न आन्तरिक समस्याहरु रहेका देखिन्छन् । जस्तै सबै घटक राज्यहरुलाई संवैधानिक रुपमै आत्मनिर्णयको अधिकार प्रदान गरिनु, राज्य संस्थाका प्रतिनिधिहरु जनताको सेवकको रुपमा भन्दा नोकरशाही रुपले प्रस्तुत हुनु, जनताबाट पार्टी अलग हुनु, भिन्न मतलाई दबाइनु, कृषि प्रणाली र उद्योगलाई आधुनिकीकरण गर्न नसक्नु, पश्चिमी देशमा पेट्रोलियम पदार्थमा आएको लगातार गिराबटले अर्थव्यवस्थालाई असुरक्षित बनाउनु, चरम गुटबन्दी आदी थिए । यी समस्याहरुलाई र कमजोरीहरुलाई मार्क्सवादको असफलतासंग जोड्नु कुनै पनि बिन्दुबाट पनि सान्दर्भिक देखिँदैन । मार्क्सवाद विश्वमा असफल भएको होइन बरु सोभियत नमुना मात्रै असफल भएको मान्न सकिन्छ । कार्ल मार्क्स र कम्युनिष्ट बिचारधाराका धेरै आलोचकहरुले प्राय सामान्य अनुसन्धानकै आधारमा वा सतही रुपमै आलोचना गरेको पाइन्छ । त्यो कदापि राम्रो होइन ।

मार्क्सवादको सान्दर्भिकता दिन प्रतिदिन बढ्दै गइरहेको छ, किनभने यो विश्व सर्वहारावर्ग र उत्पीडित वर्गसंग जोडिएको छ । आज सर्वहारा, श्रमजिवि वर्गमात्र होइन, महिला, दलित, आदीवासी जनजाती, अल्पसंख्यक समुदायपनि विभिन्न किसिमको दमन, शोषण र विभेदमा परेका छन । अहिलेको अवस्थामा सर्वहारा वर्ग र उत्पीडित जनसमुदायबीच बलियो एकता आवश्यकता कायम हुनु पर्दछ । सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको लागि मार्क्सवादले नै पथ प्रदर्शन गर्दछ । बर्तमान विश्वमा संकटग्रस्त तथा बर्बर साम्राज्यवादको विकल्प केबल मार्क्सवादले मात्र प्रस्तुत गर्न सक्दछ र त्यो विकल्प भनेकै बैज्ञानिक समाजवाद हो । मार्क्सवाद स्थिर रहन सक्दैन, यो गतिशिल विज्ञान हो र यसले प्रयोगको माग गर्दछ । यसको विकास प्रयोगका बीचबाटै हुने गर्दछ ।

मार्क्सवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्व श्रेष्ठ रहेको छ दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनैतिक अर्थशास्त्रको क्षेत्रमा श्रमको मूल्य तथा अतिरिक्त मूल्यको सिद्धान्त, समाजवादको क्षेत्रमा वर्ग, वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व एवं राज्य सत्ताको बिलोपिकरण अर्थात साम्यवादमा आधारित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानिक र वस्तुनिष्ठ रहेको छ । मार्क्सवादको विकासमा युरोपेली ज्ञान सिद्धान्तको प्रमुख योगदान रहेको छ, जसलाई रुसि समाजवादी क्रान्तिका नायक लेनिनले मार्क्सवादका तीन स्रोतको रुपमा त्यसको विश्लेषण गर्नुभएको छ । ती स्रोतहरुमा जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवाद रहेका छन् । उहाँले माक्र्सवादका तिन संगठक अंगहरुमा द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मुल्यको सिद्धान्त र वर्ग संघर्षको सिद्धान्तको उल्लेख गर्नुभएको छ । ती सवै क्षेत्रमा मार्क्स र एंगेल्सका योगदानहरु ऋद्वितिय रहेका छन् । मार्क्सवादका रुपमा स्थापित उहाँहरुका ती बिचार तथा सिद्धान्तहरुले यतिबेला पनि मानवसमाजलाई गहिरो गरी दिशानिर्देश गरिरहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८० बुधबार ००:००  १० : ४० बजे