१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

धादिङको तरकारी जोनबाट लाभान्वित हुँदै व्यवसायिक किसान



काठमाडौं ।
३९ बर्षीय युद्ध प्रसाद न्यौपाने व्यवसायिक तरकारी खेतीमा तल्लिन हुनुहुन्छ । विहान देखि साँझसम्म उहाँको दैनिकी खेतबारी मै वित्छ । धादिङ धुनीबेसी नगरपालिका वडा नं. ५ मा उहाँले झण्डै १० बर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।

रोजगारीका लागि हजारौं युवा दैनिक परदेश उडिरहेको बेला न्यौपाने भने स्वदेशमै कृषि कर्ममा जम्नु भएको छ । ‘दैनिक रुपमा युवाहरु विदेश पलायन भइरहेका छन्, म भने स्वदेश भित्रै कृषिमा सम्भावना देखेको छु, दिनरात कृषि कर्ममा जुटिरहेको छु,’ उहाँले भन्नुभयो ।

न्यौपानेले ७० रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुहुन्छ । जुन यस क्षेत्रमा ठूलो व्यवसायिक तरकारी खेती हो ।पहाडको टाकुरामा उहाँको घर छ । जसोतसो घरआँगनसम्म सडक सञ्जाल विस्तार भएको छ । पहाडको टाकुरामा नै उहाँको भीरालो जग्गा छ । त्यही जग्गामा लटरम्म तरकारी देख्न सकिन्छ । झट्ट हेर्दा लाग्छ, आँट र जाँगर भए जस्तो सुकै जग्गामा सुन फलाउन सकिन्छ ।

मान्छे पनि अडिन नसकिने भीरालो बारीलाई उहाँले सदुपयोग गरी चक्लाबन्दी मार्फत तरकारी खेती गर्दै आउनुभएको । ‘मेरा बारीका पाटा ३९ वटा थिए, ती सबैलाई एकन्त्रित गरी ९ ओटा बनाएको छु, चक्लाबन्दीमा गएकै कारण सोचेजस्तो सफलता पुगेको हो’, न्यौपानेले सुनाउनुभयो ।

परम्परागत खेती हुँदै आएको यो जग्गामा बर्षभरी मकै फल्थ्यो । अगाडि, पछाडी बाँझै रहन्थ्यो । भीरपाखोमा अरु हुने कुरै भएन । तर न्यौपाने भने यही जग्गामा आफ्नो व्यवसायिक जीवन खोज्न सफल हुनुभएको हो ।

भीरालो बारीलाई चक्लाबन्दी गरेर जानू पर्छ भन्ने योजना कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई धादिङले दिएको हो ।

परियोजनाले यस क्षेत्रमा तरकारी जोन सञ्चालन गर्छ । तरकारीका लागि राम्रो सम्भावना रहेको यस ठाउँमा जोनले विभिन्न सहयोग गर्दै आएको छ । जसमा चक्लाबन्दीको अभ्यास एक हो ।

जोनबाट पचास पचास प्रतिशत साझेदारीमा रु २२ लाख ५० हजार चक्लाबन्दीका लागि न्यौपानेले प्राप्त गर्नुभयो । ‘सुरु सुरुमा यो जग्गामा कसरी तरकारी खेती गर्न सकिएला भन्ने सोचेको थिए, जोनले यसमा सम्भावना हुन्छ भनेरै प्रेरणासँगै लगानी पनि गरेको हो,’ न्यौपानेले सुनाउनुभयो ।

न्यौपाने जागिरका लागि विदेशसमेत पुग्नुभएको छ । दलालले भनेको देशमा नपठाएपछि विरक्तिएर नेपाल फर्केको उहाँ सुनाउनुहुन्छ । गाउँकै साना किसान सहकारीमा आवद्ध न्यौपानेलाई एघार महिना इजरायल पुगेर कृषि सम्बन्धी ज्ञान र सीप हासिल गर्ने अवसर जुट्यो । एघार महिना इजरायल बस्दा उहाँले कृषिका क्षेत्रमा थुप्रै ज्ञान र सीप हासिल गर्नुभएको छ ।

कृषि सम्बन्धी प्राविधिक ज्ञान, सीप हुनु, तरकारी जोनले उत्प्रेरणासँगै थोरै भएपनि लगानी गर्नु नै न्यौपाने व्यवसायिक तरकारी खेतीमा सफल हुनुको कारण हो ।

न्यौपानेले मौसमी तथा बेमौसमी गरी बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । राजधानी काठमाडौंँसँग जोडिएको क्षेत्र भएकाले बजारको समस्या छैन् । उद्यपी बजार मूल्यमा भने समस्या छ । ‘तरकारी बेच्न समस्या छैन्। तर बजार भाउको भने समस्या उस्तै छ । भनेजति पैसा पर्दैन्, यो मेरो मात्र समस्या होइन्, सिंगो देशभरका किसानको समस्या हो,’ उहाँ भन्नुहुन्छ ।

न्यौपानेका अनुसार तरकारीबाट न्यूनतम बार्षिक एक करोडको कारोबार हुनेगरेको छ । तीन जना कर्मचारी राख्नुभएको छ । कामको प्रकृति हेरेर दैनिक ज्यालादारीमा काम गर्ने पनि उस्तै छन् ।

न्यौपाने र यस क्षेत्रको एक उदाहरणीय किसान हुनुहुन्छ । जिल्लामा यस्ता किसान दर्जनौं छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण धादिङमा तरकारी जोनको पकेट क्षेत्र छन् । जसबाट यहाँका किसान लाभान्वित रहदै आएका छन् । परियोजना कार्यान्वयन एकाई धादिङका प्रमुख धन बहादुर थापाले न्यौपाने तरकारी जोन भित्रको एक उहादरणीय किसान भएको बताउनुभयो । ‘जुन जग्गामा न्यौपानेले तरकारी खेती गर्नुभएको छ, त्यो उदाहरणीय छ, म पनि प्रभावित भएको छु,’ थापाले भन्नुभयो ।

जिल्लामा तरकारीको क्षेत्रमा परियोजनाले प्रत्यक्ष सघाउँदै आएको उहाँले सुनाउनुभयो । कृषि औजार, कृषि सीप, चक्लाबन्दी, कृषि उत्पादन सामग्री, साना सिंचाई लगायतका क्षेत्रमा परियोजनाले किसानलाई प्रत्यक्ष सघाउने गरेको छ ।

धादिङ व्यवसायिक तरकारी खेतीको उर्वर भूमि हो । राजधानी काठमाडौंसँगै जोडिएको धादिङमा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या अत्याधिक छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८० मंगलबार ००:००  ८ : ४९ बजे