७ असार २०८१, बिहिबार | Thu Jun 20 2024

सगरहवाको कथा र मूर्ति कार्यशाला



सिद्धिचरण भट्टराई ।
कपिलवस्तुको ऐतिहासिक र पुरातात्विक स्थल सगरहवामा पुस २३ राष्ट्रिय मूर्ति कला कार्यशाला चलिरहेको छ । माघ ८ सम्म चल्ने यस कार्यशालामा ३० मूर्तिकारले मूर्ति कुद्नेछन् । यो कार्यशालामा सगरहवा क्षेत्रका जनता, जनप्रतिनिधि, स्थानीय संस्था र सामुदायिक संगठनहरू क्रियाशील भएर सक्रियता देखाएका छन् ।

सगरहवाको कथा र पर्यटन
कपिलवस्तु कोशल राज्यअन्तर्गतकै एक गण राज्य थियो । कोशल नरेश प्रसेनजितले शाक्य कुलकी राजकुमारीसँग विवाह गरेर उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने चाहना राखे । त्यो चाहना कपिलवस्तुका शाक्यहरूले पूरा गर्न लाचार थिए तर प्रसेनजित क्षत्रीय भएकाले जातीय अहंकारले गर्दा उनीहरूले राजकुमारी विवाह नगरिदिएर झुक्काएर महानाम शाक्य (राजा शुद्धोदनका भाइ) कि दासीपुत्री वशभखतियासँग प्रसेनजितको विवाह गरिदिए ।

उक्त विवाहपश्चात् वशभखतियाले एक छोरा जन्माइन् । उनको नाम विरुढक राखियो । सुरुमा राजकुमार विरुढकलाई आमाले मामाघर जान दिएकी थिइनन् । आफू दासीपुत्री भएको भेद खुल्ने र दुई राज्यबिच वैमनश्यता भई युद्ध हुने भय उनलाई थियो । यसबाट जोगाउन पनि धेरैपटक उनले विरुढकलाई मामाघर जान रोकिरहिन् । राजकुमार ठूला भएपछि आफ्ना साथीहरू र अङ्गरक्षक लिएर कपिलवस्तु पुगे ।

कपिलवस्तुमा उनको भव्य स्वागत गरियो । खानपान र बसाइँ–उठाइ राम्रै गरियो । उनी कोशल राज्यतर्फ फर्कने क्रममा उनको तरबार छुट्न गयो । तरबार लिन उनले आफ्नाा अंगरक्षकलाई पठाए । अंगरक्षक त्यहाँ पुग्दा विरुढक बसेको ठाउँमा दूधले पखालिँदै थियो । वशभखतियाबाट जन्मेको राजकुमार तल्लो जातको भएको हुँदा स्थान शुद्धिका लागि दूधले पखालिएको रहेछ । यो कुरा अङ्गरक्षकले विरुढकलाई सुनाए । यसरी कोशल राज्यका राजा प्रसेनजितमाथि भएको यो अपमान र षड्यन्त्रका विरुद्ध विरुढकले शाक्यहरूको रगतले नुहाउने भयानक संकल्प गरे । त्यही संकल्पको आदि र अन्त्य, उकुसमुकुसपूर्ण दरबारी कथा, भगवान् बुद्धले युद्ध रोक्न गरेका प्रयास, प्रसेनजित र बुद्धको संवाद नै सगरहवाको कथा हो ।

यो कथा जातीय अहङ्कारका कारण कसरी समृद्ध गणराज्य पतन हुन्छ भन्ने कहानीको कथा पनि हो । यो कथा कर्म फलले कसरी मानिसलाई छाया जसरी आफ्ना कर्ममा पछाउँछ भन्ने सन्देश दिने कथा पनि हो । कोशल राज्यका अगाडि कपिलवस्तु राज्य सानो थियो । कोशल भने विशाल सैन्य शक्ति भएको राज्य थियो । भगवान् बुद्धसँगको मित्रताका कारण प्रसेनजितले कपिलवस्तुमाथि आक्रमण गर्न सकेका थिएनन् । युवराज विरुढकले भने आक्रमण गर्ने भए । उनी आक्रमण गर्न कपिलवस्तुतर्फ जाँदै गर्दा बाटोमा बुद्धले सुकेका वृक्षमुनि बसेर ध्यान गरिरहेका थिए । आफन्तको काख अमृतसरह हुने बताउँदै बुद्धले विरुढकलाई रोके । यसरी दुईपटकसम्म बुद्धले युद्ध रोकेका थिए, तेस्रोपटक भने रोक्न सकेनन् । बुद्धले अन्तध्र्यानबाट कारण खोज्दा देखे- पूर्वजन्ममा शाक्यहरूले खोलामा विष हाली माछा मारेकाले प्रारब्धकै कारण युद्ध हुन पुगेको रहेछ । त्यसैले तेस्रोपटक बुद्धले युद्ध रोकेनन् भनेर बौद्ध ग्रन्थहरूमा उल्लेख छ ।

त्यो युद्ध भएको स्थल सगरहवा कपिलवस्तु नगरपालिका–९ को लम्बुसागर हो भन्ने आधारमा यहाँ ५२ बिघा क्षेत्रफलको जग्गा लुम्बिनी विकास कोषले अधिग्रहण गरेर तारबार गरेको छ । यही स्थानमा त्यो प्राचीन कथालाई मूर्तिमा उतार्न मूर्ति कार्यशाला राखिएको हो ।

यो त कथा भयो तर ऐतिहासिक प्रामाणिक तथ्य के हो भन्ने कुरा आउँछ । शाक्यमुनि बुुद्धको जीवनको उत्तराद्र्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधवश प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ । स्थानीयले लुुम्बुुसागरको नामकरण गरेको यहाँ प्राचीन स्तुुपा, विहार, इँटा लगायत संरचना भेटिएका छन् ।

पोखरीको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार गरेको सम्झनामा सयौँ स्तुुपाहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा। फुुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूूलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको संख्यामा साना स्तूप र मुख्य स्तूपभित्र हड्डी, सुनचाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री भेटिएको थियो ।

यो स्थान विश्ववन्यजन्तु संरक्षण कोषले संरक्षित क्षेत्रमा राखेको जगदिशपुर तालबाट करिब दुई मिटरको दूरीमा छ । यहाँबाट ५०० मिटर वरिपरि विश्वकै अग्लो बुद्ध मूर्तिस्थल बनाउने गरी एउटा परियोजनाले पनि काम गरिरहेको छ । यहीँ नजिक बाणगंगा किनारकै जंगलमा त्रिपिटक पार्क बनाउने अर्को परियोजना पनि चर्चामा छ ।

विकास र परिवर्तन सरकारको एक्लो प्रयासले मात्र हुने होइन । समान उद्देश्य बोकेकाहरू, स्वार्थ वा लाभ लिने र मिल्ने समूहहरू एक लयमा काम गरेर मात्र विकास सम्भव हुन्छ । यसका लागि लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, कपिलवस्तु नगरपालिका, पर्यटन पूर्वाधार कार्यालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद्, पर्यटन व्यवसायीको संस्था नाटा, टुरगाइड उत्पादन गर्ने संस्था नाथम, नेपाल पर्यटन बोर्ड लगायत स्थानीय संघ–संस्था एक ठाउँमा आएर काम गर्नुपर्छ ।

पुरातत्त्व विभागले पुरातात्त्विक संरक्षित क्षेत्र, पर्यटन व्यवस्थापनका लागि पूर्वाधार निर्माणका क्षेत्र, बिहार निर्माण तथा सांस्कृतिक गतिविधि गर्ने क्षेत्र भनी क्षेत्रको वर्गीकरण गरिदिनुपर्छ । सम्भावनाका हिसाबले तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुने क्रममा छ । सगरहवा क्षेत्र पनि तिलौराकोटकै सम्बन्धित क्षेत्र भएकाले लुम्बिनी र तिलौराकोट आउने पर्यटकलाई सगरहवा तान्ने योजना सजिलो हुन्छ ।

सबै क्षेत्र संघीय सरकारले मात्र काँध थाप्न नसक्ने भएर नै तीन तहको सरकारको परिकल्पना संविधानले गरेको हो । प्रदेश सरकार र स्थानीय सरकारले पनि पुरातात्त्विक क्षेत्रको संरक्षण र विकासबारे कामहरू गर्ने अधिकार बाँडिएको छ । स्थानीय सरकार पालिका तहले पनि पर्यटन र पुरातत्त्वको शाखा गठन गरेर काम अघि बढाउन सक्छन् । पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने संस्थाहरूले टुर प्याकेजहरू बनाउने र कथाहरूलाई लक्षित समूह अनुसार प्रचारप्रसार गरेर पर्यटकहरू भित्र्याउन सहकार्य गर्नुपर्छ । यो शाक्यहरूको पितृस्थलको स्मारक क्षेत्र हो, यसर्थ शाक्य कुलवंशीहरूले यसलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा ग्रहण गर्नुपर्छ । पर्यटन भनेकै आकर्षण र कथा बेचेर व्यावसायिक क्रियाकलाप हुन् ।

(लेखक भट्टराई लुम्बिनी विकास कोषका कोषाध्यक्ष हुन् ।)

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  ११ : ३९ बजे