९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

गर्मीमा पिसाब संक्रमणबाट जोगिने उपाय



काठमाडौँ ।
पिसाब पोल्ने समस्याले धेरैलाई सताउने गर्छ। पुरुषको तुलनामा महिला बढी यो समस्याबाट ग्रसित हुन्छन्। पिसाब नलीमा भएको संक्रमणका कारण पिसाब पोल्ने समस्या देखिने नेपाल नेसनल हस्पिटलका युरोलोजिस्ट डा. सञ्जीवभक्त विष्ट बताउँछन्।

उनका अनुसार कतिपय महिलाले लाजका कारण पिसाब संक्रमण पीडा खपेर हिँड्ने गरेका छन्। यसरी रोग लुकाउँदा पछि ठूलो समस्या निम्तिने भएकाले समयमा उपचार गर्न डा. विष्टको सुझाव छ।

डा. विष्ट भन्छन्, ‘पिसाब संक्रमण अर्थात ‘युरिन इन्फेक्सन’ पिसाब प्रणालीको कुनै पनि भागमा हुने संक्रमण हो। पिसाब प्रणालीमा मूत्रनली, मूत्राशय र मिर्गौला पर्दछन्। धेरैजसो संक्रमण पिसाब नली, पिसाबथैली र मूत्र मार्गमा हुने गर्दछन्। पिसाब संक्रमण मिर्गौलासम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ।’

मूत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुन्छ। यस्तो समस्या तुलनात्मक रुपमा महिलालाई बढी हुन्छ। ७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको सिकार हुने गरेको विभिन्न स्वास्थ्य सर्वेक्षणले देखाएको चिकित्सकहरु बताउँछन्। धेरै महिला लापरवाही एवं लाजको कारणले आफ्नो समस्या खुलस्त भन्न नसकेर पीडित हुने गरेको मिर्गौला प्रत्यारोपण सर्जन डा। उत्तम शर्मा बताउँछन्। शर्माका अनुसार गर्मीमा युरिन इन्फेक्सनका बिरामी बढ्ने गरेका छन्।

गर्मीमा किन बढ्छन् त युरिन इन्फेक्सनका बिरामीरु डा. शर्मा भन्छन्, ‘मिर्गौलाबाट पिसाब थैली हुँदै नलीबाट बाहिरिने जुनसुकै ठाउँमा कीटाणुबाट हुने संक्रमण नै पिसाबको संक्रमण हो। सामान्यतया शरीरभित्रका विषाक्त पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट बाहिर पठाउँछ। तर, गर्मीमा धेरैजसो पानी पसिनाबाट बाहिरिन्छ र विषाक्त वस्तु बाहिर निस्कन पाउँदैन। प्रशस्त पिसाब नहुँदा पानी कम पिउने मानिसको शरीरमा रहेका विषाक्त वस्तुहरू नलीमै रहन्छन्, जसका कारण संक्रमणको सम्भावना उच्च रहन्छ।’

पिसाब नली सानो, महिनावारी तथा पिसाब र दिसा गर्ने नली सँगसँगै हुने भएकाले संक्रमणको सम्भावना बढी रहन्छ। रोगप्रतिरोधी क्षमता कमजोर रहेका व्यक्तिलाई पनि पिसाब संक्रमणले दुःख दिनसक्ने डा. शर्मा बताउँछन्। पिसाबको संक्रमण जुनसुकै उमेर समुहका मानिसलाई पनि हुन सक्छ।

महिलाको तुलनामा कम पुरुषलाई पिसाब सक्रमण हुने गरेको छ। वृद्ध अवस्थाका पुरुषमा बढी संक्रमण देखिने डा. शर्मा बताउँछन्। भन्छन्, ‘वृद्ध पुरुषमा हुने प्रोस्टेट ग्रन्थीको समस्याका कारण पिसाब नली साघुँरो हुँदै जान्छ। त्यसबाट पनि संक्रमण हुने गर्छ। पुरुषहरूमा पिसाब फर्केर माथि जाने, ननिख्रिने र विभिन्न कारणले नली साँघुरो भएमा संक्रमणको जोखिम धेरै हुन्छ। शरीरमा अन्यखाले संक्रमण भइरहने र मधुमेहका बिरामीमा पनि पिसाबको संक्रमण हुने जोखिम हुन्छ। कतिपयको पिसाब नली नै छोटो हुन्छ, जसले पनि संक्रमण निम्त्याउँछ।’

पिसाब संक्रमण भएको कसरी थाहा पाउने ?
पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, बिस्तारै पिसाब कम हुँदै जाने, पिसाब गर्दा कोखा दुख्ने, नलीबाट पिसाबसँगै पिप बग्नेजस्ता लक्षण देखिए भने संक्रमण भयो भनेर बुझ्नु पर्दछ।

यस्तै, पिसाब गर्दा तल्लो पेट दुख्ने, शरीर कम्पन हुने र बालबालिकामा ज्वरो आइरहने समस्या पनि देखिन्छ। कतिपयमा पिसाबको मात्रा कम हुँदै जाने र कडा ज्वरो आउने समस्या देखापर्छ। संक्रमण बढ्दै जाँदा रगत बग्ने सम्भावना पनि हुन्छ। त्यसका कारण मिर्गौलामा असर पर्छ र संक्रमण अन्य अंगमा फैलिएर ज्यानसमेत जान सक्छ।

पिसाब संक्रमणबाट जोगिन निम्न उपाय अपनाउन सकिने चिकित्सकहरूको सुझाव छः

धेरैबेर पिसाब रोक्नु हुँदैन
कतिपयले पिसाब लागेको लामो समयसम्म रोक्ने गरेका छन्। यो स्वास्थ्यका हिसाबले असाध्यै नराम्रो बानी हो। पिसाब लागेको ५ मिनेट मात्रै रोकेर राख्दा त्यसको टक्सिन तत्व मिर्गौलामा फर्केर जान्छ। यसलाई रिटेन्सन अफ यूरिन भनिन्छ। धेरै पटक यो क्रिया दोहोरिएमा मिर्गौलामा पत्थरी जम्न सक्छ।

यौन सम्पर्कपछि पिसाब फेर्नुपर्छ
यौन सम्पर्कपछि पिसाब फेर्नु आवश्यक हुन्छ। यसो गर्दा भित्रको ब्याक्टेरिया बाहिर निस्कन्छ र संक्रमणको खतरा कम हुन्छ। विशेष गरी महिलाले यौन सम्पर्कपछि पिसाब फेर्दा संक्रमणको जोखिम कम हुन्छ।

योनी ओसिलो राख्नु हुँदैन
संक्रमणबाट जोगिन महिलाले योनीलाई ओसिलो बनाएर राख्नुहुँदैन। पिसाब फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ। साथै त्यसलाई सुख्खा राख्नुपर्छ। यसो गर्नाले मूत्रमार्गमा ब्याक्टेरिया फैलन पाउँदैन।

मासिकस्राव सफाइ
मासिक स्रावको बेला अरूबेलाभन्दा बढी योनीको सरसफाइमा ध्यान दिनुपर्छ। स्यानिटरी प्याडलाई हरेक ६ घण्टामा परिवर्तन गर्नुपर्छ।

पिसाब संक्रमणबाट बच्नका लागि दिनमा साढे दुईदेखि तीन लिटर पानी पिउनुपर्छ। कागती र अनारजस्ता भिटामिन सी भएका रसिला फलफूलको सेवन गर्नुपर्छ।

पिसाब संक्रमणको उपचार
संक्रमण भएको खण्डमा धेरैले मेडिकलमा गएर औषधि खाने र त्यसको नकारात्मक असरको जोखिम उठाउने गरेको युरोलोजिस्ट डा. सञ्जीवभक्त विष्ट बताउँछन्।

उनी भन्छन्, ‘संक्रमण भएमा सुरुमा सबैभन्दा कमन कीटाणुलाई टार्गेट गरेर एन्टिबायोटिक दिइन्छ। पिसाब शीतल बनाउने औषधि दिइन्छ। छिनछिनमा पिसाब नलाग्ने औषधी सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने सिटामोल दिने गरिन्छ। यो सबै कल्चर रिपोर्ट आउनुभन्दा अगाडिका औषधिहरू हुन्। कल्चरको रिपोर्ट आइसकेपछि त्यसअनुसार औषधि दिइन्छ।’

प्रकाशित मिति : ३ चैत्र २०८० शनिबार ००:००  ९ : ३३ बजे