९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती



ढोरपाटन (बागलुङ) ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ । उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ । लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन् ।

बागलुङमा करिब एक सय ४२ किलोमिटर फैलिएको लोकमार्गले काठेखोलाको बिहुँ खण्डअन्तर्गत १२ किमीबाहेक सबै कालोपत्र भइसकेको छ । लोकमार्ग विस्तार र स्तरोन्नति भएसँगै छेउछाउमा बस्ती निर्माण हुँदै गएका छन् । बागलुङ दशकौँ अगाडि पनि बजार र बाक्लो बस्ती भएको क्षेत्र थियो ।

पछिल्लो समय काठेखोलाको अक्षते, गलकोटको हटिया, बडिगाडको हाँडीखोला, खर्बाङ, न्वारा, खौलारा, खारा, भीमगिठे, निसीखोलाको देवीस्थान, खाडु, जुग्जाखोला, ढुवाखोर, झिवाखोला, कानाबर, निसी, भल्कोट, सीप हुँदै पातीहाल्नेमा पनि बस्ती विस्तार हुँदै गएका हुन् ।

विकासको दृष्टिकोणमा पश्चिम बागलुङका सबै पालिका पछाडि रहेकामा मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँ विकासले गति लिन थालेको स्थानीय पदमबहादुर खत्रीले बताए । उनका अनुसार पछिल्ला केही वर्षयतादेखि बढ्दो बसाइँसराइ कम भएको छ ।

जिल्लाकै सबैभन्दा विकट मानिने निसीखोला क्षेत्रका लागि लोकमार्ग वरदान सावित भएको छ । धेरैजसो ठाउँमा बस्तीसँगै बजारसमेत बस्न थालेका छन् । बस्ती विस्तार हुन थालेपछि लोकमार्ग छेउछाउका जग्गाको मूल्यसमेत आकासिएको स्थानीय बताउँछन् ।

गलकोटको हटियामा एक दशक अगाडि थोरै घर र सानो बजार थियो । बजार नजिकका जग्गामा धानखेती हुन्थ्यो । अहिले धान उत्पादन हुने खेत ठूला–ठूला कङ्क्रिटका घरले भरिएका स्थानीय खत्रीले बताए । उनका अनुसार जिल्लाको तेस्रो ठूला बजारका रूपमा हटिया क्षेत्र विस्तार भएको छ । घर तथा अन्य भौतिक संरचना निर्माणका लागि खाली जग्गा पाउनै गाह्रो हुन थालेको उनी बताउँछन् ।

करिब १५ वर्ष अगाडिसम्म सुनसान हुने हटिया बजारमा अहिले चहलपहल निकै बढेको खत्रीले बताए । लोकमार्गले जोडिएर कालोपत्र भएपछि गाउँबाट धमाधम हटिया झरेर बस्न थालेका उनले बताए । “विकास हुन धेरै समय लाग्दोरहेनछ । हेर्दाहेर्दै हटिया घरैघरले ढाकिएको छ । साँघुरो ठाउँ थियो, अहिले यहाँ खाली जग्गा कतै देखिँदैन । बजार परका खेत पनि घरले भरिन थालेका छन्”, खत्रीले भने, “पहिला खेती हुने ठाउँ सबै मासेर अधिकांशले घर बनाउन थालेका छन्, विकास र सुविधाले बस्ती बाक्लिँदै छ ।”

काठेखोला गाउँपालिका–२ अक्षतेमा डेढ दशक अगाडिसम्म धान, गहुँ र तोरी फल्ने खेत थियो । दुई–चार साना छाप्रा थिए । अहिले बजारको स्वरुप लिएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षतेको पछिल्लो एक दशकमा मुहार फेरिएको छ । लोकमार्ग छेउमै रहेको अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ ।

काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँहरू यही बजार हुँदै जानु पर्दछ । विसं २०५४ मा सडक सञ्जालसँग जोडिएको अक्षेत बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । अहिले यहाँ घर, ठुल्ठूला भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भइरहेको स्थानीय मेखबहादुर भण्डारीले बताए । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्नुपर्नेमा अहिले घरघरमै पाउन थालेको उनले भने ।

अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायत गाउँका स्थानीयको नजिकको बजार बनेको भण्डारीले बताए । गाउँ सडक सञ्जालसँग जोडिन थालेपछि चहलपहल बढ्न थालेको छ । स्थानीय भण्डारीले उदयीमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै स्थानीय निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए । हरेक वर्ष नयाँ घर बन्ने क्रम बढेको सुनाउँदै ढल व्यवस्थापन, खानेपानी तथा पूर्वाधार विकास, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उनले बताए ।

“विकासको मेरुदण्ड सडक रहेछ, जब सडकले यो ठाउँ जोडियो, त्यसपछि यहाँ विकाससँगै बस्ती विस्तार हुँदै गए । अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो । यसअघि नुन, तेललगायत दैनिक उपभोग्य वस्तु ल्याउन पर्वतको कार्कीनेट वा बागलुङ बजार पुग्नुपथ्र्यो”, उनले भने, “अहिले पहिलेजस्तो समस्या छैन, सबै सेवा सुविधा घरै अगाडि आएका छन् ।”

बागलुङमा लोकमार्गको सबैभन्दा बढी खण्ड करिब ४० किमी निसीखोला गाउँपालिकामा पर्दछ । पाखुट्टेबाट पातीहाल्नेसम्म करिब दर्जन स्थानमा बजार बन्न थालेका छन् । निसीखोलाकै सबैभन्दा ठूला बजारका रुपमा झिवाखोलालाई लिइन्छ । झिवाखोला एक दशक अगाडिसम्म सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीहरूले त्यही साना घरटहरामा दोकान राखेर सामान बिक्री वितरण गर्दथे ।

मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ । यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो । अहिले धानखेत घर तथा भवनले भरिएका छन् ।

पूर्वीरुकुम र रोल्पाको प्रवेशद्वारका रूपमा रहेको झिवाखोला पनि पछिल्लो समय व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय प्रेम पौडेलले बताए । विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको उनी बताउँछन् ।

लोकमार्गले गर्दा सहरबजारमा पाइने सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरू बढेका पौडेलले बताए । लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइ नसकेको उनले जानकारी दिए ।

“पहिले साना किराना पसलमात्रै थिए, त्यो पनि घोडा खच्चडमा सामान लिएर बेच्ने गर्थे, मानिसको आवतजावत पनि निकै कम थियो । अहिले बजार क्षेत्रमा मानिसको भीडभाड बढ्न थालेको छ, किनमेल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जानेहरू दैनिक यहाँ आउने गर्छन्”, पौडेलले भने, “पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ । यहाँ वरपर घरघडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरी आउने पनि बढेका छन् ।”

सबैभन्दा दुर्गम गाउँका रूपमा लिइने निसीमा पनि अहिले बजार बनेको छ । पहिले बुटवल, तानसेनलगायत ठाउँबाट सामान बोकेर उपभोग गर्ने गरिएकामा अहिले घर–घरमै पसल सञ्चालन हुन थालेका निसीवासी बताउँछन् । लोकमार्ग भएर पूर्वबाट पश्चिमतर्फ दैनिक दर्जनौँ गाडी गुड्छन् । पूर्वाधार विकास, सडक सञ्जाल विस्तारसँगै दुर्गम गाउँको परिचय बदलिँदै गएको छ । रासस

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  ३ : ०५ बजे