१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

डढेलोले कपिलवस्तुका वन सखापः सामुदायिक वन रुख काट्नमा मस्त, वन संरक्षण अभियान खरानीमा सीमित



मायादेवी अनलाइन, बाणगंगा ।
बैशाख पहिलो साता भित्रै कपिलवस्तुको अधिकांश वन डढेलोले सखाप पारेको छ । केही दिन यता चर्कदो गर्मीसँगै चलेको हावाहुरीका कारण वनमा फैलिएको डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ ।

वन डढेलोले सखाप पारिरहदा ढलेपढेका काठ दाउरा खरानी मात्र भएका छैनन् हुर्काएर राखेका साना बोटविरुवा सखाप भएका छन् ।

डिभिजनल वन कार्यालय तौलिहवा कपिलवस्तुका सूचना अधिकारी खिल बहादुर तामाङमा अनुसार मंगलबारसम्मको तथ्याङ्क अनुसार झण्डै ८ सय हेक्टर वनमा डढेलो लागिसकेको छ ।

‘हाम्रो रेकर्डमा झण्डै ८ सय वनमा डढेलो लागि सक्यौं, यो अवस्था अझै बढ्न सक्ने जोखिम छ’, तामाङले मायादेवीसँग भने ।

लुम्बिनी प्रदेशमा वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना लागू छ । दशक अगाडि सुरु गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना सरकारले खारेज गरेपनि प्रदेश भित्र उस्तै किसिमको अर्को कार्ययोजना बनाइएको हो ।

७ प्रदेश भित्र अधिकांश प्रदेशमा वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना लागू नभएपनि लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको छ । कार्ययोजना अनुसार केही बर्ष रोकिएको रुखको छपान, कटान, मुछान र घाटगद्धी पश्चात हुने लिलामको काम धमाधम भइरहेको छ ।

डिभिजनल वन कार्यालय तौलिहवा कपिलवस्तुमा एक बर्षमा झण्डै दुई लाख क्यूफिट सालका काठ काटिन्छ भने ५० हजार क्यूफिट अन्य जातका काठ काटिने गरेको रेकर्ड छ । यहाँका दुई साझेदारी वन, ४० भन्दा बढी सामुदायिक वनले काठदाउरा काट्दै आएका छन् ।

पुराना रुख काट्ने, सोही स्थानमा नयाँ रुख विरुवाको संरक्षण गर्ने गरी बनाइएको वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना हो । तर डढेलो नियन्त्रण गर्न नसक्दा यो कार्ययोजना अनुसारको कार्यक्रम सफल हुनेमा शंका छ ।

‘ठूला रुख काट्दा एकातिर वन उजाड भएका छन् । रुख काटेको ठाउँमा साना विरुवा संरक्षणमा भने सम्बन्धित सरोकारवाला निकायको चासो कम छ । जसोतसो संरक्षण गरेका बोटविरुवा पनि डढेलो नियन्त्रण गर्न नसक्दा खरानी बनेका छन्’, एक सामुदायिक वनका अध्यक्षले मायादेवीसँग भने ।

लाखौँको परिणाममा रुख काट्दा उत्तिकै मात्रामा साना बोट विरुवाको संरक्षण गर्नुपर्ने हुन्छ । तर रुख काट्नमा तछाडमछाड गर्ने साझेदारी र सामुदायिक वन बोटविरुवाको संरक्षणमा उदासिन बन्ने गरेका छन् । त्यसैको फलस्वरुप बर्षेनी संरक्षण गरेका राखेका बोटविरुवा डढेलोले सखाप पार्ने गरेको छ ।

हिउँदे बर्षात नहुनु, मौसम सुख्खा भएको कारण आगालागी बढेको सूचना अधिकारी तामाङ बताउँछन् । आगलागी नियन्त्रणका लागि भने पूर्व तयारीका थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको उनको तर्क छ । आगलागी नलागोस् भनेर पूर्व तयारी स्वरुप अग्नी रेखाको सरसफाई, अग्नीदस्ता तयार र विभिन्न प्रविधि झिकाइएको उनको भनाई छ । आगलागी भइहाले उपकरणको प्रयोगले नियन्त्रणको प्रयास गरिएको उनको भनाई छ । आम उपभोक्तलाई आगालागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको भएपनि सोचे अनुसार आगलागी नियन्त्रण हुन नसकेको उनी स्विकार गर्छन् ।

वनको लाग्ने डेढेलोले साना बोट विरुवा मात्र नभई बन्यजन्तुको वासस्थानमा असर पुग्ने देखि तापक्रममा बढोत्तरी हुने गरेको छ । बर्षेनी आगलागीका लागि भनेर लाखौंँ रकम खर्च गरेपनि परिणाम हात लाग्यो शून्य छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  १० : १९ बजे