काठमाडौँ ।
तीन–चार महिना लगाएर फलाएको बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा किसानलाई ठुलो नोक्सान हुने गरेको छ । यस्तो नोक्सानबाट जोगाउन किसानलाई मौसमबारे पूर्वजानकारी आवश्यक हुन्छ ।
पछिल्लो समय किसानमा मौसमबारे चेत बढ्न थालेको छ । किसानले बाली लगाउनुअघि र बाली भित्र्याउँदा मौसमबारे चासो राख्न थालेका छन् ।
किसानलाई खासगरी बाली लगाउन र भित्र्याउन अनुकूल मौसम आवश्यक पर्छ । प्रविधिको विकाससँगै किसानलाई मौसमबारे जानकारी लिन सहज हुँदै गएको छ ।
सिराहाकी किसान शारदा चौधरी मौसमबारे सूचना पाउनका लागि रेडियो सुन्ने, टोल छिमेकमा सोधीखोजी गर्ने बताउँछिन् । ‘मलाई मोबाइलमा फेसबुक चलाउन आउँदैन, फेसबुक चलाउनेसँग मौसमबारे जानकारी लिन्छु । धान काट्दा, गहुँ काट्दा मौसमबारे सोधखोज गर्छु,’ उनले भनिन्, ‘मौसम केही दिन सफा रहने रहेछ भने बाली भित्र्याउँछौँ, होइन भने केही दिन कुर्छौं ।’
जल तथा मौसम विभागकी मौसमविद् बिनु महर्जनका अनुसार कुनै पनि ठाउँमा छोटो समयका लागि देखापर्ने वायुमण्डलको अवस्था नै मौसम हो । केही घण्टा, दिन वा हप्तासम्मको मौसमी अवस्थाको पूर्वानुमान गरेर विभिन्न माध्यमबाट जानकारी दिँदै आएको उनको भनाइ छ ।
यसरी प्रवाह हुने मौसमी सूचना बुझेरमात्रै किसानले पछिल्लो समय बाली लगाउने तथा भित्र्याउने गरेका छन् । मौसम सम्बन्धी जानकारीले किसानलाई बाली रोप्ने र फसल काट्ने तालिका निर्धारण गर्न सहज हुन्छ । यसले बालीमा हुने क्षति न्यूनीकरणमा सहयोग पुर्याउँछ ।
वरिष्ठ कृषि अधिकृत तथा प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशीले मौसमबारे किसान आफैँ सचेत भइसकेको बताए । ‘आजभोलि किसानले धान काट्ने, रोप्ने बेला आफैँ मौसमको बारेमा जानकारी लिन खोज्छन्,’ उनले भने ।
नेपालका अधिकांश कृषि क्षेत्र आकाशे पानीमै निर्भर छन् । नेपालमा भौगोलिक अवस्थाअनुसार फरक–फरक बाली लगाउने गरिन्छ । हिउँदमा तोरी, गहुँ, उवा, जौ, केराउ, मुसुरोलगायतको बाली लगाइन्छ । बर्खामा धान, मकै र वसन्तमा मकैजस्ता बाली लगाइन्छ । बालीका लागि मौसमी सूचना निकै महत्त्वपूर्ण हुन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले किसान तथा कृषिसँग सरोकार राख्ने व्यक्तिलाई मौसमी सूचना विभिन्न माध्यमबाट प्रवाह गरिरहेको बताए । उनका अनुसार पालिकास्तरमा मौसम सम्बन्धी बुलेटिन पुर्याउन ‘नार्क एग्रोमेट गुगल सर्भिसेज ग्रुप’ छ । सबै स्थानीय निकाय, कार्यरत कर्मचारी तथा प्रविधिक, प्रधानमन्त्री कृषि अधुनिकीकरणको ५८ वटा परियोजना एकाई, गाउँपालिका संघ, नगरपालिका संघ, राष्ट्रिय किसान महासंघ लगायतलाई मौसमबारे जानकारी दिँदै आएको रिमाल बताउँछन् ।
नार्कले सातापिच्छे निकाल्ने कृषि–मौसम सल्लाह बुलेटिन पत्रकार र सरोकारवालालाई उपलब्ध गराउँदै आएको छ । यस्तै, कृषि वातावरण नामको फेसबुक पेजबाट पनि मौसमबारे सूचना दिने गरेको रिमालको भनाइ छ ।
यसका साथै, नेपाल टेलिभिजन, रेडियो नेपालमा शनिबार साँझ यसबारे कार्यक्रम नै प्रसारण हुने गरेको छ । ‘देशभरका ९ हजारभन्दा बढी किसानका मोबाइल फोनमा एसएमएस पनि पठाउँछौँ,’ रिमालले भने, ‘हामीले ह्वाट्स एप ग्रुप बनाएर सूचना पठाउने अभ्यास सुरु गरेका छौँ । यसमा सबैको सहयोग भएमा झनै प्रभावकारी बन्ने छ ।’
केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रिमालले मौसम बिग्रिने बित्तिकै पत्रपत्रिका, रेडियो, टेलिभिजन, आनलाइनहरूबाट पनि जानकारी दिने गरेको बताए ।
यद्यपि, किसानलाई सही सूचना पाउन भने सकस नै छ । त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्राडा प्रेमसागर चापागाईंको अनुसन्धानले मौसम सम्बन्धी सूचनाको विश्वसनीयता कम रहेको देखाएको छ । ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपाल केन्द्रित अनुसन्धानले तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसम सम्बन्धी प्राप्त सूचनामा पूर्ण रूपमा विश्वास गर्ने देखाएको छ ।
मौसम सम्बन्धी सूचनाको विश्वसनीयता मुख्यतः विगतको पूर्वानुमानको सत्यतामा निर्भर गर्दछ । भौगोलिक जटिलता र सुक्ष्म स्थानगत सूचनाको कमीका कारण हिमाली क्षेत्रमा पहाडी र तराई क्षेत्रको तुलनामा विश्वसनीयता कम छ ।
कृषि सम्बन्धी क्रियाकलापका लागि मौसम सम्बन्धी विश्वसनीय सूचना महत्त्वपूर्ण हुन्छ । किसानहरूले विभिन्न स्रोतबाट मौसम सम्बन्धी जानकारी प्राप्त गर्दछन् । हिमाली क्षेत्रमा सामुदायिक संस्था र सार्वजनिक सञ्चार माध्यम सूचनाको प्रमुख स्रोत हुन् भने पहाडी क्षेत्रमा सामुदायिक संस्था तथा स्थानीय एफएम रेडियो महत्त्वपूर्ण स्रोत हुन् । तराईमा स्थानीय एफएम रेडियो, सार्वजनिक सञ्चार माध्यम मुख्य स्रोत छन् ।
उपलब्ध मौसम सम्बन्धी सूचनामा किसानको विश्वासको स्तर पनि क्षेत्र अनुसार फरक छ । मौसम सूचनामा विश्वासिलो र प्रभावकारी बनाउन अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने सरोकारवाला बताउँछन् ।







प्रतिक्रिया