काठमाडौँ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा सवारी आवागमन नराम्ररी प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः२५ बजे सार्वजनिक गरेको विवरण अनुसार, राजधानी जोड्ने मुख्य नाकादेखि पहाडी जिल्लाका सडकहरूमा अवरोध देखिएको छ।
काठमाडौँ-धादिङ जोड्ने चन्द्रगिरी नगरपालिका-२ चिसोपानीमा पहिरो खसेका कारण अहिले सडक एकतर्फी मात्र सञ्चालनमा छ। यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै १० टनसम्मका मालवाहक सवारी साधनलाई मात्र रात्रिकालीन समयमा चल्न दिइएको छ भने दिउँसोको समयमा परिस्थितिको विचार गरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
रसुवातर्फ जाने त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्डको उत्तरगया-५ खाल्टेमा बाढीले बाटो पूर्ण रूपमा अवरुद्ध पारेको छ। यो सडक लामो समयसम्म अवरुद्ध हुनसक्ने देखिएको छ। नुवाकोटको टोखा-छहरे र पासाङ ल्हामु राजमार्गमा पनि बाढी र पहिरोको जोखिमका कारण रातको समयमा सवारी चलाउन रोक लगाइएको छ भने कतिपय स्थानमा बाटो पूर्ण रूपमा ठप्प छ।
सबैभन्दा बढी चाप रहने पृथ्वी राजमार्गको अवस्था पनि चिन्ताजनक छ। धादिङको कृष्ण भिरमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। यस्तै, परेवा भिरमा साना गाडी मात्र एकतर्फी चल्न सक्ने अवस्था छ भने जवाखोला र कमेरेभिरमा पनि पहिरोले गर्दा सडक एकतर्फी मात्र सुचारु छ।
प्रहरीले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिएर मात्र घरबाट निस्कन र सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।











प्रतिक्रिया