२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनद्वारा ट्राफिक सचेतना कार्यक्रम



कपिलवस्तु । वाणगंगा नगर भित्र विद्यालयमा कार्यरत चालक तथा सहचालकहरूका लागि एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनद्वारा आयोजित कार्यक्रममा ९४ जना चालक तथा सहचालकहरूको सहभागिता रहेको थियो।
सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासनको प्रवर्द्धन तथा सुरक्षित यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले कपिलवस्तु उद्याेग वाणिज्य संघकाे सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष रोटरियन रोमकान्त घिमिरेको अध्यक्षता तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सवारी चालकको जिम्मेवारी केवल एउटा पेशा वा रोजगारीमा सीमित नभई यात्रुहरूको जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सेवाका रूपमा बुझ्नुपर्ने बताउनुभयो। सडकमा हुने सामान्य असावधानी, लापरबाही तथा ट्राफिक नियमको उल्लङ्घनले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले चालकहरू सधैँ सजग, संयमित र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले सुरक्षित यातायातका लागि ट्राफिक नियमको पालना मात्र नभई चालकहरूमा जिम्मेवारीबोध, अनुशासन र सकारात्मक व्यवहारको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले सडक सुरक्षा सरकार वा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई चालक, यात्रु, विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले सडक सुरक्षा कायम गर्न प्रहरी र चालक समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै नियमको पालना र जिम्मेवार सवारी सञ्चालनबाट दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।
इलाका प्रहरी कार्यालय पिपराका प्रमुख अर्जुन पौडेलले चालकहरूले सडकमा अपनाउनुपर्ने सावधानी, यात्रुसँग गर्नुपर्ने व्यवहार तथा दुर्घटना न्यूनीकरणका उपायबारे आफ्नो मन्तव्य राख्नुभयो। अन्तर्राष्ट्रियस्तरको तालिमका लागि नेपाल सरकारबाट छनोट भई जान लाग्नुभएको अवसरमा उहाँलाई रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको तर्फबाट मायाको चिनो तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख राजन ढकाल तथा प्रहरी नायव निरीक्षक राजिव विश्वकर्माले ट्राफिक नियमको पालना, सडक अनुशासन, सवारी सञ्चालनका क्रममा अपनाउनुपर्ने सावधानी तथा सम्भावित दुर्घटनाबाट जोगिने व्यवहारिक उपायबारे सहभागीहरूलाई प्राविधिक सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीले सुरक्षित यातायात र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम संयोजक तथा मिड टाउनका पूर्व अध्यक्ष बद्री प्रसाद काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट भोकेसनल सर्भिस चेयर बासुदेव घिमिरेले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ एवं क्लबका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, निवर्तमान अध्यक्ष ९क्ष्एए० लेखा शर्मा घिमिरे, सचिव हेमन्त थापा, पब्लिक इमेज चेयर जुनुमणी पाण्डे, सर्जन एट आर्म्स शारदा काफ्ले, रोटरियन बुद्धिराज आचार्य, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा पत्रकारद्वय हरि अधिकारी र कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सफलताका लागि सहभागी चालक तथा सहचालक, अतिथिहरू, विभिन्न विद्यालय तथा निकायका प्रतिनिधिहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ। सचेतना कार्यक्रमले दैनिक व्यवहारमा उतार्दै सुरक्षित सडक, जिम्मेवार चालक र सभ्य यातायात संस्कृतिको निर्माणमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रकाशित मिति : २१ भदौ २०८३ आइतबार ००:००  ६ : ३३ बजे