मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ धनेशपुरमा निर्माण सुरु भएको बाणगंगा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमै नआउँदै जीर्ण र अस्तव्यस्त बन्न थालेको छ ।
आयोजना निर्माण सुरु भएको करिब ११ वर्ष बितिसक्दा पनि उपभोक्ताले खानेपानी पाउन सकेका छैनन्। लामो समयदेखि संस्थाको साधारणसभा र अधिवेशनसमेत हुन नसकेको भन्दै स्थानीयले व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्।
खानेपानी आयोजना सञ्चालनको टुंगो नलाग्दै संरचना जीर्ण बन्दै गएको, उपकरणको उचित संरक्षण नभएको तथा संस्थाको आर्थिक गतिविधि पारदर्शी नभएको स्थानीयको आरोप छ । आयोजना र संस्थाको वर्तमान अवस्थाप्रति धनेशपुर टोलका स्थानीयले चासो व्यक्त गर्दै हिसाब–किताब सार्वजनिक गर्न माग गरेका छन् ।
खानेपानी कार्यालय भित्रका पाईपहरु हराएका छन् । कार्यालय परिसर झाडीमा परिणत भएको छ । द्मयालका ढोकाहरु फुटेका छन् । खानेपानी को जग चर्किएको छ । यस्तो हुदाँ समेत सम्बन्धीत निकायले चासो दिन नसक्नु दुःखद भएको एक वृद्धले बताए । उनले भने बोले थकाउछन् बोलि सक्नु छैन् बाबु दुरुपयोग भएको देख्दा दुः ख लाग्छ । नाम नभन्नु यस्तै छ ।
आयोजनाको आय–व्यय तथा विगतमा संस्थाका नाममा प्राप्त भएको रकमको स्पष्ट हिसाब सार्वजनिक हुन नसकेको भन्दै स्थानीयले प्रश्न उठाएका थिए । उनीहरूले आयोजना निर्माणमा भएको खर्च, प्राप्त सहयोग, संस्थाको सम्पत्ति तथा हालसम्मको आर्थिक अवस्थाबारे साधारणसभा गरेरै उपभोक्तालाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
स्थानीयका अनुसार खानेपानी आयोजनाका लागि विभिन्न स्रोतबाट रकमसमेत प्राप्त भएको थियो । सरकारी निकाय बाहेक त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिबाट आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपैयाँ, नदीजन्य पदार्थको ठेक्काबाट ५ लाख रुपैयाँ प्राप्त भएको दाबी स्थानीयले गरेका छन् । यी रकमको उपयोग र खर्चबारे स्पष्ट विवरण सार्वजनिक नभएको भन्दै भेलामा आवाज उठाइएको थियो ।
त्यसको हालसम्म कुनैपनी लेखापरीक्षण भएको छैन ।
खानेपानीको जेनेरेटर निजी कार्यालयमा !

अध्यक्षले खानेपानी आयोजनाका लागि ल्याइएको जेनेरेटरको प्रयोगसमेत प्रश्नको घेरामा रहेको छ । बनगाईका एक स्थानीयका अनुसार आयोजनाका लागि ल्याइएको जेनेरेटर खानेपानी सञ्चालनमा प्रयोग हुनुको सट्टा संस्थाका अध्यक्ष बोमबहादुर उचाई ठकुरीको व्यावसायिक संस्था निजी केबल को कार्यालयमा प्रयोग भइरहेको पाइएको छ।
आयोजनाको सम्पत्ति निजी प्रयोजनमा प्रयोग गरिएको भए त्यसको वैधानिकता र निर्णय प्रक्रियाबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने स्थानीयको माग छ।
११ वर्षमा न साधारणसभा, न अधिवेशन
बाणगंगा खानेपानी तथा सरसफाई समितिको संस्थागत गतिविधिमाथि पनि स्थानीयले प्रश्न उठाएका छन्। आयोजना निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि नियमित साधारणसभा र अधिवेशन हुन नसकेको उनीहरूको भनाइ छ।
उपभोक्ताबाट गठन भएको संस्थामा लामो समयसम्म साधारणसभा र अधिवेशन नहुनु, आर्थिक विवरण सार्वजनिक नहुनु तथा आयोजना सञ्चालनमा आउन नसक्नुले संस्थाको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको स्थानीय बताउँछन्।
स्थानीयको आरोपअनुसार संस्थाका अध्यक्ष उचाई ठकुरीको नेतृत्वमा आयोजना व्यवस्थापन प्रभावकारी हुन नसकेको र आयोजना लथालिंग अवस्थामा पुगेको हो।
एउटै नेतृत्वमाथि अरू संस्थाको हिसाबको समेत प्रश्न
स्थानीयले खानेपानी आयोजनासँगै अध्यक्ष उचाई ठकुरीको नेतृत्वमा रहेका अन्य संस्थाको आर्थिक पारदर्शितामाथि समेत प्रश्न उठाएका छन्। नागेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति र नवदुर्गा भवानी क्लबसँग सम्बन्धित आर्थिक गतिविधिको हिसाब–किताबबारे समेत स्थानीयले प्रश्न उठाएका हुन् ।
स्थानीय कृष्ण शर्मा, राधा खनाल लगायतले ती संस्थामा भएको आम्दानी तथा खर्चको विवरणसमेत पर्याप्त रूपमा सार्वजनिक नभएको भन्दै टोल भेलामा आवाज उठाइएको थियो । एउटै व्यक्तिको नेतृत्वमा रहेका विभिन्न संस्थाको आर्थिक कारोबारबारे प्रश्न उठेपछि सम्बन्धित संस्थाहरूले आय–व्यय सार्वजनिक गरी वास्तविकता स्पष्ट पार्नुपर्ने स्थानीयको माग छ ।
आयोजना कि संरचना मात्रै ?
बाणगंगा खानेपानी आयोजना निर्माणको उद्देश्य स्थानीयलाई सुरक्षित र सहज खानेपानी उपलब्ध गराउनु थियो । तर निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्दा करोडौँको लगानी तथा संरचना प्रयोगविहीन बन्ने जोखिम बढेको स्थानीयको गुनासो छ।
खानेपानीका संरचना, उपकरण र अन्य भौतिक सम्पत्तिको संरक्षण हुन नसके आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउन थप खर्च आवश्यक पर्न सक्छ। यसले उपभोक्ता र राज्य दुवैमाथि थप आर्थिक भार पर्ने स्थानीयको चिन्ता छ।
स्थानीयले आयोजना किन समयमा सञ्चालनमा आउन सकेन, निर्माणमा कति रकम खर्च भयो, हालसम्म कति रकम प्राप्त भयो, खर्च कहाँ–कहाँ भयो, संस्थाको सम्पत्ति कहाँ प्रयोग भइरहेको छ र आयोजना सञ्चालनको आगामी योजना के हो भन्ने प्रश्नको जवाफ माग गरेका छन्।
उनीहरूले बाणगंगा नगरपालिका, खानेपानी तथा सरसफाईसँग सम्बन्धित सरकारी निकाय र अन्य सरोकारवाला संस्थाले आयोजनाको अवस्थाबारे तत्काल चासो लिनुपर्ने माग गरेका छन्।
यस विषयमा बाणगंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष बाबुराम अर्यालले साधारणसभा तथा अधिवेशन नभएको कुरा सत्य भएको भन्दै समितिले पाईपलाईनको काम गर्न नसक्दा खानेपानीको काम अगाडी बढ्न नसकेको बताए । उनले अब खानेपानी मन्त्रालयदेखि ५० लाख परेको हुदाँ संचालकले सहि ढंगमा काम गरे सफल हुने बताए । अर्यालले भने ‘त्यो खानेपानीका विषय धेरै छन् कुरागरि साध्य छैन् के भन्ने भन्दै अगाडी बढ्न चाहेनन् ।’









प्रतिक्रिया