२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आजदेखि पाल्पामा चिच्याएर वर माग्ने सत्यवती मेला



बुटवल ।

पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा धार्मिक मेलाका आजदेखि सुरु भएको छ । हरेक वर्षको कात्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेलायो वर्ष कात्तिक २२ गते परेको पूर्णिमाका लागि १८ गतेदेखि नै मेला शुभारम्भ गरिने सत्यवती ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीय बासीको भनाई छ । कार्तिक १८ गतेदेखि सुरु हुने धार्मिक मेलामा १ लाख ५० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताए ।

यसैगरी मेलामा मन्दिरको दानपेटीकामा मात्रै ६ लाख बढी आर्थिक संकलन हुने तथा मेला अवधिभर ५ हजार बढीले स्वरोजगार हुने अवसर प्राप्त गर्ने आयोजकको अपेक्षा छ । मेलास्थलमा व्यवस्थित पार्किङसहित १५० बढी स्टल राखिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतबाट समेत आउने गर्दछन् । पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्दछन् ।

धार्मिक मेलाको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयम् सेवकहरुको व्यवस्था गरिने भएको छ । विभिन्न सुरक्षा निकायहरुबाट ३ दर्जन बढी जनशक्तिको माग रिएको छ भने मन्दिर व्यवस्थापन समितिले थप एक दर्जन सुरक्षा स्वयम् सेवकको व्यवस्था गरिने अध्यक्ष गाहाले जानकारी दिए । हरियाली जँगलको बीचमा रहेको सत्यवती तालमा बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न भक्तजनहरु पुग्ने गर्दछन् ।

सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा र चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् । मेला अवधिमा सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्राथमिक उपचार कक्षको व्यवस्था गरिने भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  १२ : २६ बजे