वाणगङ्गा ।
कपिलवस्तुको बाणगङ्गा ओदारीस्थित हथौसा लिटल स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी मेधावी छात्रा प्रतिक्षा शर्मा अन्ततः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपीए प्राप्त गर्न सफल भएकी छन्। प्रारम्भिक नतिजामा अपेक्षाभन्दा निकै कम अंक आएपछि उनी करिब ७५ दिनसम्म मानसिक तनाव र अन्योलमा परेकी थिइन्।
विद्यालयका अनुसार प्रतिक्षा सधैँ उत्कृष्ट नतिजा ल्याउने तथा विद्यालयकै प्रथम स्थान हासिल गर्ने विद्यार्थी हुन्। उनले ओदारी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन्। प्रारम्भिक नतिजामा उनको जीपीए ३.८५ मात्र आएपछि विद्यार्थी, अभिभावक र विद्यालय सबै आश्चर्यचकित बनेका थिए।
विद्यालयका अनुसार ओदारी माध्यमिक विद्यालयका अंग्रेजी र नेपाली शिक्षकले गरेकाे उत्तरपुस्तिका परीक्षणमा त्रुटिको आशंका भएपछि प्रतिक्षाले पुनः योगफल परीक्षण (Re-totaling) उत्तरपुस्तिका अवलोकन (Answer Script Viewing) र पुनः परीक्षण (Re-checking) गरी तीन चरणको प्रक्रिया पूरा गरेकी थिइन्। यी सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्ततः उनको नतिजा सच्याइँदै ४ जीपीए कायम भएको हो।
प्रारम्भिक परीक्षणकाे नतिजामा प्रतिक्षाले अंग्रेजीमा ३.२ र नेपालीमा ३.६ जीपीए प्राप्त गरेको देखिएको थियो, जुन उनको शैक्षिक उपलब्धी र विगतकाे नतिजासँग मेल नखाने भएकाले उत्तरपुस्तिका परीक्षण प्रक्रियामै गम्भीर त्रुटि भएको आशंका गरिएको थियो। विद्यालयको दाबीअनुसार ती विषयका उत्तरपुस्तिका सोही विद्यालयका शिक्षकहरूले परीक्षण गरेका थिए।
विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले अन्ततः प्रतिक्षाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन्। उनले सधैँ उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिक्षाले अन्ततः आफ्नो वास्तविक क्षमता अनुरूप ४ जीपीए प्राप्त गरेकोमा बधाई दिँदै यो उपलब्धि सत्य र न्यायको जीत भएको बताए।
विद्यालयले भने यस घटनाले एक प्रतिभाशाली विद्यार्थीले अनाहकमा ठूलो मानसिक पीडा भोग्नुपरेको, अभिभावकले पटक पटक काठमाडौं धाउनुपरेको तथा विभिन्न परीक्षण प्रक्रियामा करिब १ लाख बराबरको आर्थिक भार व्यहोर्नुपरेको जनाएको छ। विद्यालयले यसको जिम्मेवारी उत्तरपुस्तिका परीक्षणमा संलग्न निरीक्षक तथा सम्बन्धित राज्य निकायले लिनुपर्ने माग गरेको छ।
यसअघि पनि सोही विद्यालयकी पुष्पा पाण्डेले एसईईमा ४ जीपीए प्राप्त गरेकी थिइन्। प्रतिक्षा शर्माले भने तीन चरणको कठिन पुनः परीक्षण प्रक्रिया पार गर्दै अन्ततः ४ जीपीए हासिल गरेकी हुन्। विद्यालय परिवारले प्रतिक्षाको सफलताप्रति खुसी व्यक्त गर्दै सहयोग गर्ने अभिभावक, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको छ।








प्रतिक्रिया