२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

चिनियाँ कम्पनीलाई तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिज निर्माणको ठेक्का



बुटवल ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको तिनाउ नदीमाथि बन्ने आधुनिक सिग्नेचर ब्रिज निर्माणको लागि ठेक्का सम्झौता भएको छ । सिग्नेचर ब्रिजसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनी एमरएस आनहुई सिनजियान होल्डिङ ग्रुपले ठेक्का पाएको हो ।

भ्याट तथा पीएससहित १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा उक्त चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले अबको ३ वर्ष अर्थात्, २०८६ भदौमा पुल निर्माणको काम पूरा गर्नुपर्नेछ । सम्झौताअनुसार पुल निर्माण भएपछि ५ वर्षसम्मको मर्मतसम्भारको काम समेत निर्माण कम्पनीले गर्नुपर्ने महाशाखाका प्रमुख तथा परियोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हाल पुल भएकै स्थानको छेउमा नयाँ पुल बन्नेछ । नयाँ बन्ने सिग्नेचर ब्रिजको लम्बाइ करिब २४० मिटर हुनेछ । सम्झौताअनुसार हाल रहेको पुलको दुवैतर्फ दुईरदुई लेनको नयाँ पुल, पैदल यात्रु मार्ग र कुल ९८० मिटर न्यूनतम पहुँच मार्ग निर्माण गरिनेछ । २०३८ सालमा निर्माण भएको हालको तिनाउ पुल साँघुरो र जीर्ण बन्दै जाँदा बढ्दो सवारी चाप व्यवस्थापन गर्न कठिन हुँदै आएको छ ।

तिनाउको सिग्नेचर ब्रिज बुटवलको दीर्घकालीन पूर्वाधार योजनामध्ये महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमै नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने भन्दै बजेटको व्यवस्था गरेको थियो । सोहीअनुसार नारायणी नदीमा पुल निर्माण सुरु भइसकेको छ भने तिनाउ नदीको पुलको लागि गत मंगर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

सडक विभागले करिब दुई अर्ब रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । बोलपत्रमा छवटा चिनियाँ कम्पनी सहभागी भएका थिए । दुई कम्पनीले भने नेपाली निर्माण व्यवसायीसँग संयुक्त रूपमा प्रस्ताव पेस गरेका थिए । जसमा प्राविधिक र आर्थिक प्रस्तावलाई छुट्टाछुट्टै मूल्याङ्कन गरी दुवैको प्राप्ताङ्कका आधारमा एमरएस आनहुई सिनजियान होल्डिङ ग्रुप छनोट भएको हो ।

तिनाउ नदीमा निर्माण हुने ब्रिज आसपास रहेको ऐतिहासिक जितगढी किल्लालाई समेत पर्यटनसँग जोड्ने उद्देश्यसहित परिकल्पना गरिएको छ । सिग्नेचर ब्रिज निर्माण भएपछि पूर्वपश्चिम राजमार्गको आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ । परियोजना निर्देशक अर्यालका अनुसार सिग्नेचर ब्रिज सामान्य पुलभन्दा फरक हुन्छ । शहर वा कुनै क्षेत्रको पहिचान बन्ने गरी विशेष वास्तुकला, आकर्षक डिजाइन र आधुनिक इन्जिनियरिङ प्रयोग गरेर निर्माण गरिएको ‘आइकोनिक’ पुललाई सिग्नेचर ब्रिज भनिन्छ । यस्ता ब्रिजको उद्देश्य नदी वारपार गर्ने सुविधासँगै शहरको ल्यान्डमार्क, पर्यटकीय आकर्षण र आधुनिक पूर्वाधारको प्रतीक बन्ने गरी डिजाइन गरिन्छ ।

प्रकाशित मिति : २० भदौ २०८३ शनिबार ००:००  १२ : १४ बजे