८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिल्ला बन कार्यालय कपिलवस्तुले ६६ हेक्टरमा विरुवा रोप्यो



दिपक अनुरागी, कपिलवस्तु, २८ साउन ।
जिल्ला वन कार्यलय कपिलवस्तुले साढे ६६ हेक्टर क्षेत्रफलमा विरुवा रोपेको छ । यस बर्ष ४० हेक्टरमा विरुवा रोप्ने लक्ष्य राखेको बन कार्यलयले लक्ष्य भन्दा बढी विरुवा रोप्न सफल भएको हो । रोपिएको विरुवा मध्ये २६ हेक्टर अतिक्रमित बन क्षेत्र रहेको जिल्ला बन कार्यालयका निमित्त बन प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।
कुल ६३ हजार हेक्टर क्षेत्रफल बन रहेको कपिलवस्तुमा १० हजार हेक्टर अतिक्रमणको चपेटामा छ । बर्षेनी अतिक्रमित क्षेत्रफल हटाउन विभिन्न प्रयास थाल्दै आएको बन कार्यलयले यस बर्ष पनि २६ हेक्टर क्षेत्रफलमा विरुवा रोपेर अतिक्रमित क्षेत्र हटाउने प्रयास थालेको न्यौपानेले बताउनुभयो ।
बन अतिक्रमित क्षेत्र मध्ये ठेकरी, निग्लिहवा, चेत्रादेउ, बग्डेरिया, जवावैराठ, उज्जवलपुर, पटना, मेचकुरी डाँडा लगायतको क्षेत्रमा विरुवा रोपिएको हो । प्रति हेक्टर १६ सयको दरले विरुवा रोपिएको बन कार्यालयले जनाएको छ । ६६ हेक्टरमा रोपिएको विरुवा १ देखि डेढ लाख सम्म रहेको बन अधिकृत न्यौपानेले बताउनुभयो । रोपिएका विरुवामा सबैभन्दा धेरै सिसौ, खयर, बेल, सिमल, टिक, बाँस र मसला रहेका छन् ।
कसरी उत्पादन हुन्छन् त विरुवा
बर्सेनी लाखौका विरुवा उत्पादन गर्दै आएको बन कार्यालयले कसरी उत्पादन गर्छ विरुवा धेरैलाई थाहा छैन् । विरुवा उत्पादन गर्न निकै गाह्रो रहेको बन कार्यालयले जनाएको छ । विरुवा उत्पादनको विउ कार्यालयले नेपाल र भारतबाट ल्याउने गरेको छ । केहि स्थानीय जातका विरुवा यहि नै उत्पादन गर्ने गरिएको छ । यसपालि कार्यालयले बृक्ष सुधार, बृक्षारोपण तथा नीजि बन कार्यक्रमबाट ८ लाख १५ हजार विरुवा उत्पादन गरेको छ । यसैगरि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रमबाट १ लाख ५० विरुवा उत्पादन गरेको छ भने साझेदारी बन व्यवस्थापन समितिहरुबाट १ लाख ५५ हजार विरुवा उत्पादन भएको जिल्ला बन कार्यालयले जनाएको छ । सबैले उत्पादन गरेको विरुवा ११ लाख २० हजार थिए
विरुवा उत्पादन बृक्ष सुधार शाखाबाट गरिन्छ । यहाँबाट बन कार्यालयले विरुवा तयार गर्छ । यस्तै जिल्लाका कतिपय ठाउमा विउ बगैचा, विउ उत्पादन क्षेत्र पनि छन् । बन कार्यालयले खयर, लोमन, निम र बडहरका विरुवा यहि उत्पादन गर्दै आएको छ । पचेहरामा सिसौको विरुवा उत्पादन हुदै आएको छ । उत्पादित विरुवालाई राख्ने कोल्ड स्टोर नहुँदा समस्या हुदै आएको छ । केहि विरुवाहरु लामो समय रहन सक्ने र कोहि उखेल्न साथ लगाई हाल्नुपर्ने हुदा चाडो मर्ने गर्दछन् । विरुवा लगाउने समय प्रयाप्त बर्षा नहुदा कतिपय विरुवा बाँच्न नसक्ने गरेको जिल्ला बन अधिकृत न्यौपानेले बताउनुभयो ।
विरुवा प्रतिको मोह ज्यादै
पछिल्ला केहि बर्ष यता कपिलवस्तुबासी विरुवा प्रति निकै उत्साहित हुने गरेको बन कार्यालयले जनाएको छ । गर्मी ज्यादा हुने हुदा पनि धनिबर्गका मानिसले पनि विरुवा रोप्ने गरेका छन् । कतिपयले नीजि बन बनाएर विरुवा लगाउने गरेका छन् भने अधिकांशले घरवरपर भएपनि विरुवा रोप्ने गरेका छन । आम जनमानसमा बन विना बाँच्न सकिन्न भन्ने मान्यता भएको पाइएको छ । यसमा खुसी हुनुपर्छ, बन अधिकृत न्यौपाने भन्नुहुन्छ । जिल्ला बन कार्यालयले हरेक बर्ष सर्वसाधारणलाई निशुल्क विरुवा दिँदै आएको छ । लाखौँ विरुवा उत्पादन गर्ने वन कार्यालयले निशुल्क विरुवा वितरण गर्ने गरेको हो । यद्यपि विरुवा लिन जादा केहि प्रक्रिया भने पु¥याउनुपर्ने हुन्छ । बर्षेनी लाखौ विरुवा रोपिए पनि उपलब्धी शुन्य जस्तै छ । यस बिषयलाई बुज्न खोज्दा बन बन कर्मचारी उपलब्धी शुन्य भएको स्विकार गर्दैनन । लगाएका सबै विरुवा बाँच्छन् नै भन्ने हुदैन । बचाउने धेरै प्रयास गर्दा पनि बचाउन नसिकएको कर्मचारी स्विकार गर्छन । लाखौका विरुवा उत्पादन गर्नुनै उपलब्धी भएको कर्मचारी ठान्दछन् ।
विरुवा कुन प्रक्रियाबाट लिन सकिन्छ
कुनै व्यक्तिले ५ देखि १० विरुवा लैजान चाहे व्यक्तिगत नाम र ठेगाना दिएमात्र पुग्छ । ५० देखि १०० विरुवा लैजान गरे एउटा निवेदन र नागरिकताको फोटोकापी चाहिन्छ । साथै हजारौ विरुवा लान परे लगाउने जग्गाको कित्ता नम्बर सहित लालपूर्जा चाहिने गरेको जिल्ला बन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ११ : २६ बजे