८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अव्यवस्थित तार एक महिनामै हटाइने



काठमाडौं, ३२ साउन ।
सरकारले उपत्यकामा छरपस्ट रहेका फोन, इन्टरनेट लगायतका तार एक महिनाभित्र व्यवस्थित गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्रै काठमाडौंका सडकबाट अव्यवस्थित तार हटाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सहरी सौन्दर्य कायम राख्न सरोकारवालालाई तार हटाउन निर्देशन दिएका छन् । मन्त्रालयमा मंगलबार भएको छलफलमा उनले अनावश्यक तार हटाउन नेपाल टेलिकम कप्पनी, इन्टरनेट सेवाप्रदायक र केबल अपरेटरलाई तार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
कलंकीदेखि त्रिपुरेश्वरसम्म एक साताभित्रै र उपत्यकाका सबै युटिलिटीका तार एक महिनाभित्र व्यवस्थित गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयले आगामी १५ दिनभित्रै सबै सेवाप्रदायकलाई आआफ्नो तार पहिचान गर्न र एउटा पोलदेखि अर्कोसम्म कम्पनीको तार पहिचानको ट्याग राख्न आग्रह गरेको छ। तार व्यवस्थापन नगरिए सरकारले काट्ने उनको भनाइ छ ।
इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवं सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । सहरी सौन्दर्य कायम गर्न र अव्यवस्थित तार हटाउन आवश्यक सहयोगका लागि तार काट्ने श्रमिकको खर्च बेहोर्ने नेपाल दूरसञ्चार प्राधिकरण तयार रहेको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए । ‘यसअघि २०७१ सालमै सरकारले उपत्यकाको तार हटाउन गरेको प्रयास असफल भएको थियो’, उनले भने । त्यसपछि पनि पटकपटकको प्रयासमा सेवाप्रदायकले नै बेवास्ता गरेको उनको भनाइ छ ।
सडकमै लत्रिरहेका, बीचमा तार टुक्रिएर सडकसम्म झुन्डिएको, एउटै पोलमा धेरै तार जेलेर राखिएको, अनावश्यक तार नहटाउँदा सौन्दर्यसमेत बिग्रिएको छ । साथै सम्भावित दुर्घटनाबाट जोगिन पनि अव्यवस्थित तार हटाउनुपर्ने मन्त्रालयले बताएको छ । एउटा नियकाले अर्कोसम्म समन्वय नगरी तार तान्ने, भएकै तारलाई पनि व्यवस्थित नगर्ने, तारको अन्डरग्राउन्ड प्रयोग नभएकोलगायत कारण सहरी सौन्दर्य बिग्रिएको छ ।
बिजुली र फोनका पोल सार्दा तार लत्रिएको नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। केबल अपरेटर्स र इन्टरनेट सेवाप्रदायकका आफ्ना पोल छैनन्। टेलिकमले एउटै तारबाट ७२ वटासम्मलाई सेवा दिन सक्ने अवस्था छ । कम्पनीसँग सहकार्य गर्ने र नयाँ पूर्वाधार कम्पनीलाई नै तार पनि भूमिगत गर्ने जिम्मा दिए अहिलेको समस्या ५० प्रतिशत समाधान हुने उनको दाबी छ ।
आजको अन्नपूर्णमा राजु बाँस्कोटाले खबर लेख्नुभएको छ ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : २२ बजे