२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

क्षयरोग परिक्षणका लागि ल्याइयो ‘जीन एक्सपर्ट’ मेसिन



भुपाल थापा, कपिलबस्तु, २२ असोज ।
अति सवेदनशील र गम्भिर प्रकृतिका बिरामीमा केहि घण्टामै क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन जिल्लाको तौलिहवा अस्पतालमा संचालनमा आएसंगै जिल्लाबासीहरुलाई सहज भएको छ । निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ ।

एचआइभी सङ्क्रमित बिरामी, जतिपटक परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको तर उसको शारीरिक अवस्थामा रोग देखिएको, क्षयरोग लागेका व्यक्तिको परिवारका सदस्यलाई उक्त मेसिनबाट परीक्षण गरिने अस्पतालका ल्याब असिस्टेन्ट संजीव सिंहले बताउनुभयो । जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिने सिंहले बताउनुभयो । खकारलाई कीटमा राखेर माइक्रोस्कोपको सहायतामा हेरेर रोग पत्ता लगाइने पुरानो पद्धतीले गर्दा दुईपटकसम्म परीक्षण गर्नुपर्ने र त्रुटिको सम्भावना पनि हुने उहाले बताउनुभयो ।

भाद्र २६ गते देखि जिन एक्स्पर्ट मेसिन अस्पतालमा संचालनमा आएपछि हालसम्म कपिलबस्तुमा १५ जनाको परीक्षण गरिएको थियो । उनीहरूमध्ये मात्र १ जनामा क्षयरोगको पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । नियमित औषधि खाए निको हुने दर करिब शतप्रतिशत नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । जिल्लामा क्षयरोग परिक्षण गर्ने मेशिन सरकारले उपलब्ध गराएपछि परिक्षणका लागि टाढा पुग्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई राहत मिलेको भगतको भनाइ छ ।

छोटो समयमै विश्वसनिय परिणाम आउने भएपछि बिरामीहरु ढुक्क हुन सक्ने बताइएको छ । निक साइमन्स इन्स्टिच्युट र विराट नेपाल मेडिकल ट्रस्टले अस्पताललाई सो मेसिन प्रदान गरेको हो । टिबी रिसर्च परियोजना अन्तर्गत जिल्ला अस्पतालहरुलाई नयाँ मेसिन उपलब्ध गराइएको हो । करिब ३० लाख रुपैयाँ पर्ने यो मेसिनबाट क्षयरोगका साथै एचआइभी, हेपाटाइटिस बी, इबोला जस्ता २५ थरीका रोग परीक्षण गरी पत्ता लगाउन सकिनेछ । तर, अहिले क्षयरोग पत्ता लगाउने कार्टिज मात्र जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।

माईक्रोस्कोपमा जाच गर्दा १० हजार ब्याक्टेरिया भएमा मात्र टिबि रोग पत्ता लगाउन सक्छ । जिन एक्सपोर्ट मेशिनले १ सय ३१ किटाणु भएपनि रोग बारे स्पष्ट देखाउने गर्दछ । अहिले यो मेसिन कपिलबस्तु, प्यूठान, बर्दिया र गुल्मीमा जिल्लालाई उपलब्ध गराएको र सन् २०२० सम्म नेपालमा ७५ वटै जिल्लालाई वितरण गर्ने लक्ष्य रहेको बताइएको छ । कम्प्यूटरको प्रयोगद्धारा खकार जाँच गरेको २ घण्टामै रिर्पोट आउने चिकित्सकको भनाइ छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ३५ बजे