४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पढाउन छाडेर पशुपालनमा, गोपाललाई भ्याइनभ्याई



दाङ ।
दाङको घोराही उपमहानगरपालिका–२ रामपुरका ३४ वर्षीय गोपाल खनाल ०७३ सालअगाडि सम्म शिक्षण पेसामा थिए । गाउँमै रहेको एउटा निजी स्कुलमा पढाउँदै आएका उनी पछिल्लो ८ वर्षदेखि भने पढाउन छोडेर कृषि पेसामा रमाइरहेका छन् ।

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेर खनाल पशुपालनमा र कृषिमा रमाइरहेका हुन् । ‘शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिएँ । अहिले यसमै रमाइरहेको छु’, खनालले भने, ‘कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।’

सुरुआती दिनमा ४ लिटरबाट दूध बेच्न सुरू गरेका खनालले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गर्दै आएका छन् । अहिले उनलाई बिहान उठेदेखि बेलुकासम्म गाईभैंसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याई छ ।

परिवारको सहयोग र आफ्नो मेहनतले ४० हजार रुपैयाँबाट सुरू भएको व्यवसायमा अहिले ६० लाख रुपैयाँ लगानी पुगिसकेको खनालको भनाइ छ । ‘सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ,’ खनालले भने, ‘अहिले मासिक एक लाख रुपैयाँभन्दा बढी कारोबार गरिराखेको छु ।’

खनालले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्न सके थप सहज हुने उनको बुझाइ छ ।

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा उनको छ । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुने उनी बताउँछन् ।

‘मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारण जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्द गरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ’, उनले भने ।

डेरीलाई ७० रुपैयाँ प्रतिलिटर दूध बेच्दै आएका उनी उक्त मूल्यबाट सन्तुष्टि छैनन् । आफैंले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सहभागी हुन नपाउँदा उनको ठूलो चित्त दुखाइ छ । ‘हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ’, खनालले गुनासो गरे ।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उनीलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१ बुधबार ००:००  ७ : ४४ बजे