११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

सरकार चुनाव सार्ने षडयन्त्रमा रहेको विपक्षको आशंका, गृहमन्त्रीसँग प्रधानमन्त्री रुष्ट



 

काठमाडौं २४।

वाम गठबन्धनले सरकार चुनाव सार्ने बहानामा रहेको भन्दै नसार्न चेतावनी दिएको छ ।

माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने, राप्रपा अध्यक्ष कमल थापासहित केही मन्त्री थप गर्ने र चुनाव वैशाखसम्म सार्ने षडयन्त्रमा रहेको उच्च स्रोतले जानकारी दियो ।
यो षडयन्त्रमा रहेको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरुले यस्तो षडयन्त्र नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित सिंहदरबारमा बसेको बैठकले गठबन्धनपछि कांग्रेस आत्तिएर चुनाव सार्ने षडयन्त्र गरेको ठहर गरेको छ ।

“कांग्रेस अहिले आत्तिएको अवस्था छ,” नेकपा एमालेका नेता वामदेव गौतमले भने, “यस्तो बेलामा हामीलाई तथानाम गाली गर्दै बदनाम गराउने काम गरेको छ । यस्तो आत्तिएको बेलामा कि अराजक हुन्छ कि आत्मसमर्पण गर्छ या आतंक फैलाउने काम गर्न सक्छन् कि भन्ने शंका लागेको छ ।”

बम
उनले यस्तो बेलामा विभिन्न बहानामा चुनाव सार्ने सपना नदेख्न पनि चेतावनी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि निर्वाचन आचारसंहीताको ख्याल गर्दै कुनै पनि हालतमा मन्त्री हेरफेर नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
उनले सरकार कामचलाउ भैसकेको बताउँदै अहिले मन्त्री हेरफेर नगर्न चेतावनी दिएका हुन् ।

सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले सरकारसँग निर्वाचन गर्नुबाहेक अन्य विकल्प नरहेको बताए । “सरकारसँग निर्वाचनबाहेक अर्को विकल्प छैन,” उनले भने, “मन्त्री हेरफेर र थपघट गर्ने कुरा आचारसंहिताले दिँदैन । यसअघि पनि निर्वाचन आयोगले सरकारलाई चेतावनी दिइसकेको छ । मन्त्री हेरफेर गर्ने काम अब सरकारले नगरोस् ।”

तर सरकारले भने अहिले त्यसबारेमा कुनै छलफल र तयारी नै नभएको जनाएको छ । प्रधानमन्त्री निकट स्रोतकाअनुसार चुनाव सार्ने विषयमा कुनै छलफल नभए पनि राप्रपालाई सरकारमा सहभागी गराउने भन्ने बारेमा भने छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अहिले चुनाव सार्ने विषयमा कुनै पनि छलफल नभएको बताए ।

माओवादी बाहिरिए पनि देउवा सरकार बहुमतमा, यस्तो छ अंकगणित

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिँदा पनि देउवा सरकारको बहुमत कायम रहने भएको छ ।

माओवादी बाहेक देउवा सरकारसँग कांग्रेसका २०७, राष्ट्रिय जनता पार्टीका २५, राप्रपाका १९, नेपाल लोकतान्त्रिक फोरमका १८, राप्रपा प्रजातान्त्रिकका १८ र संघीय समाजवादी फोरमका १५ सांसद छन् ।

लोकतान्त्रिक गठबन्धन बनाउन लागेका यी पार्टीमात्रै मिल्दा पनि ३०२ मत पुग्ने भएकाले देउवा सरकार अल्पमतबाट जोगिने देखिएको छ ।

यससँगै प्रधानमन्त्री देउवाले माओवादीले समर्थन फिर्ता नलिए पनि गृहमन्त्री जनार्दन शर्मालाई हटाएर राप्रपा अध्यक्ष थापालाई उपप्रधान तथा गृहमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

माओवादीले सरकारलाई आफूले नैतिक रुपमा समर्थन फिर्ता नलिने बताए पनि गृहमन्त्री जनार्दन शर्मा नै विपक्षी दल एमालेसँगको गठबन्धन बनाउने सूत्र भएकोले उनलाई हटाउन चाहन्छन् देउवा ।

माओवादीलाई गृहमन्त्री छोड्दा चुनावमा पनि बाम गठबन्धनले प्रभाव पार्न सक्ने भन्दै देउवाले गृहमन्त्री हटाउन चाहेको बताइएको छ । स्रोतका अनुसार देउवाले गृहमन्त्री शर्मालाई हटाएमा माओवादीले आफ्ना सबै मन्त्री फिर्ता बोलाउने सोच बनाएको छ । मन्त्री हेरफेर गर्न निर्वाचन अयोगले रोक्ने पनि माओवादीको विश्वास छ ।

निर्वाचन आयोगले गत शुक्रबार विज्ञप्ति निकालेर निर्वाचनलाई प्रभावित गर्ने कुनै निर्णय नगर्न सरोकारवालाहरुलाई आग्रह गरेको थियो । आयोगका प्रवक्ता नवराज ढकालले सरकारले निर्वाचन आचारसंहिताअनुसार आयोगकै परामर्श र अनुमतिमा राजनीतिक निर्णय गर्ने विश्वास लिएको बताए । आयोगसँग परामर्श गरेरै सरकारले कुनै निर्णय लिने र मिल्ने नमिल्ने निर्णय पनि त्यतिबेलै दिने जानकारी उनले दिए ।

यस्तो छ संसदको हिसाब
व्यवस्थापिका–संसदमा हाल ५९१ जना सांसद छन् । सरकारलाई बहुमतका लागि २९६ सांसद भए पुग्छ । देउवालाई साना दलको समर्थन नरहँदा समेत ६ दलको भोटले बहुमत पुग्छ ।

संसदमा कायम दल र सांसद
कांग्रेस २०७
एमाले १८०
माओवादी ८१
राजपा २५
राप्रपा १९
नेपाल लोकतान्त्रिक फोरम १८
राप्रपा प्रजातान्त्रिक १८
संघीय समाजवादी फोरम १५
माले ५
नेमकिपा ४
राजमो ३
नेकपा संयुक्त ३
परिवार दल २
बहुजन शक्ति पार्टी १
संघीय लोकतान्त्रिक थरुहट १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
वौद्धिक जनतान्त्रिक परिषद नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
अखण्ड नेपाल पार्टी १
जनजागरण पार्टी १
मधेस समता पार्टी नेपाल १
नयाँ शक्ति पार्टी नेपाल १
स्वतन्त्र १

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ५ : ०३ बजे