११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

केरामा पनि भारतकै दबदबा, तीन लाखका नेपाली केरा ‘पटपटी’ फुटे, किसान मारमा



दिपक अनुरागी, वाणगंगा ।
कपिलवस्तु वाणगंगा ४ झुँगाका तुलसी प्रसाद पौडेलले केरा खेती गर्न लागेको २७ बर्ष भयो । झण्डै एक विगाह जग्गामा व्यवसायिक रुपमा केरा खेती गर्दै आउनुभएका पौडेललाई सधै बजारको समस्या पर्छ । उत्पादित केरा बजारमा बेच्न नसक्दा उहाँ बारम्बार समस्यामा पर्दै आउनु भएको छ । अहिले एक ट्रक केरा बेच्न ठिक्क छन् । तर, केरा विक्री नहुँदा पौडेल चिन्तामा हुनुहुन्छ । “एक ट्रक केरा बोटमै पाक्न थाल्यो उहाँले भन्नुभयो, बजारमा बिक्री गर्न समस्या छ ।” जेनतेन स्थानीय बजारमा केरा खपत गर्दै आउनुभएका उहाँका केरा व्यवसायीले लिने सुरसार गरेका छैनन । एक साता देखि केराको भाउ सोध्दै स्थानीय बजार घुमिरहेको छु, पौडेलले निरास हुँदै भन्नुभयो, “केरा कसैले किन्न चाहँदैनन, केरा किनि हाले पनि निकै सस्तो मूल्य छ जसले लगानी पनि उठ्दैन ।” अबको दुई÷तीन दिनमा केरा बेच्न नसके झण्डै डेढ लाख घाटा लाग्ने उहाँ बताउनुहुन्छ ।
अहिले यहाँका किसानले २५ देखि ३० रुपैँयामा केरा बजारमा बेचिरहेका छन । जुन न्यून मूल्य हो । यो मूल्यमा केरा बेच्दा लगानी पनि उठाउन समस्या हुँने किसान बताउँछन । खुल्ला सीमानाको कारण भारतीय केरा दैनिक आयात भैरहेको छ । भारतीय केरा सस्तैमा पाउने भएपछि व्यापारीले नेपाली केरा लिन नमान्ने गरेको पौडेलले बताउँनुभयो ।
केरा खेतीबाटै जीवन निर्वाह गर्दै आउनुभएका पौडेलले अब व्यवसाय परिवर्तन गर्ने सोचमा हुनुहुन्छ । गत बर्षहरुमा दुई विगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका उहाँ अहिले एक विगाहमा झर्नुभएको छ । अब केरा खेतीलाई विस्थापित गरेर पशुपालन तर्फ लाग्ने सोँचमा पौडेल हुनुहुन्छ । सधै केरा विक्री गर्न समस्या हुन्छ, राज्यले यसको व्यवस्थापन गर्न खोज्दैन, अब पेशा नै परिवर्तन गर्ने सोचमा छु, “पौडेलले आर्थिक खबरसंग भन्नुभयो ।”
जिल्लामा व्यवसायिक केरा खेती गर्दै आएका जिल्लाका अरु किसान पनि यस्तै चिन्तामा छन । केरा बिक्री नहुुँनुमा बिचौलियाको चलखेलले पनि स्थानीय उत्पादन महँगो भएर सहजै बजार पाउन नसकेको कृषकहरु बताउँछन । बिचौलियाकै कारण स्थानीय उत्पादन महँगो भई भारतीय आयात केरासँग पतिस्पर्धा गर्न नसक्दा बिक्री नभएको वाणगंगा नगरपालिकाका केरा किसान नेत्र प्रसाद चालिसेको भनाई छ । आफुले लगाएका केराहरु बेच्नका लागि तयार भएपनि उचित मूल्य नपाए पछि बोटमै केरा कुहिन थालेको दुखेसो गर्नुभयो । चालिसेले भन्नुभयो, ‘केरा पटपटी फुटे, घामले सुक्न थाले, जाडोको यो बेला कुहिने थालेका छन्, बजार छैन ।’ यस्तै झुँगाकै राम प्रसाद चालिसेको समस्या पनि उस्तै छ । दश कट्ठा बढी जग्गामा केरा खेती गर्नुभएका उहाँ केरा बिक्री नभए पछि केरा नोक्सान हुने हुन की भनेर चिन्तामा हुनुहुन्छ । उहाँको खेतमा करिब ५० हजार बराबरका केराका थान तयार भैसकेका छन । तर, विक्री भएको छैन ।
बारीदेखि उपभोक्तासम्म पुग्दा केराको मूल्य दोब्बरभन्दा बढी हुँदा स्थानीय उत्पादनले भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसकेको हो । बिचौलियाले बढी मुनाफा लिँदा स्थानीयको मूल्य आयातको भन्दा निकै महँगो पर्ने गरेको छ । अहिले कृषकले काचो केरा प्रतिदर्जन २५÷३० रुपैयाँ पाइरहेका छन । त्यही उपभोक्तासम्म पुग्दा ७०÷७५ सम्म पर्छ । कृषकको बारीबाट उपभोक्तासम्म पुग्दा दोब्बरभन्दा बढी तिर्नुपरेको छ ।
विचोलिया संगै केरा विक्री नहुँनुमा भारतीय केराको आयात बढ्नु पनि हो । अन्य फलफुलमा भन्सार प्रति ट्रक ८० हजार देखि १ लाख रुपैयाँसम्म लिने गरिएको भएपनि केरामा २० हजार मात्रै लिने गरेकाले भारतीय केराले सहज बजार पाएका हुन । भारतमा अनुदानका कारण केराको उत्पादन लागत सस्तो हुन्छ । नेपालमा कृषिमा अनुदान कम छ । यसले पनि नेपाली केरा किसान मर्कामा परेको सरोकारवाला बताउँछन ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ८० हेक्टरमा व्यवसायिक केरा खेती हुदै आएको छ । जिल्लामा विशेष गरी हर्दौना, मोतीपुर, शिवपुर, सौरहवा, रंगपुर, कजहरा लगायतका स्थानमा केरा खेती हुँदै आएको कृषि प्राविधिक खुर्सेद अहमद खाँ बताउनुहुन्छ । ‘केरा खेती गर्नेको संख्या पछिल्लो समय बढेको छ, उहाँले भन्नुभयो ।’

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  २ : ५० बजे