१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

तरकारीबाट फेरिएको धनकौली गाउँ, लाखौँको कमाई



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० स्थित ८ वटा गाउँका किसान व्यवसायिक तरकारी खेतीमा लागेका छन् । देउपुरा लोहोरौला, बिजगौरी गगनी, हर्राहवा, पिपराहवा, धरमपुर र झलवा लगाएत गाउँका पुरै परिवार तरकारी खेतीमा लागेका हुन् । सदरमुकाम तौलिहवासँग सटेको बुद्धभूमि नगरपालिका– १० धनकौलीका यी गाउँ व्यवसायिक तरकारी खेतीका लागि नमूना बनेको छ ।

तीन दशक अघिसम्म घर खर्चका लागि मात्र खेती गरिने त्यहाँ मौसमी र बेमौमसी तरकारी टनका टन उत्पादन हुने गरेको छ । छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही र जिल्लासँग सीमा जोडिएको भारतको सीमावर्ती क्षेत्रहरुमा समेत व्यवसायिक तरकारी खेतीका लागि धनकौलीले ख्याती कमाएको छ ।

चार दशक अघि देशका विभिन्न स्थानबाट बसाईसराई गरी आएका पाँच/दश जनाले मात्र आफ्नो घर खर्चका लागि तरकारी उत्पादन गर्दथे । तर अहिले तरकारी उत्पादनमा सो गाउँले फड्को मारेको छ । केवट जातिका किसानले गरेको नमूना तरकारी खेती हेर्न लायक छ ।

बाह्रैमास तरकारी खेती गरेर त्यहाँका किसानले बार्षिक एक देखि १० लाख रुपैयाँ कमाउने गरेका छन । गाउँको कुल एक हजार ३ सय परिवार मध्ये ५ सय बढी तरकारी खेतीमा लागेर आयआर्जन गर्दै आएका छन् । त्यसमध्ये तरकारी खेतीबाटै गाउँका ३ जना करोड बढी सम्पत्तिको मालिक बन्न सफल भएको किसान बताउँछन ।

बार्षिक एक लाख बढी कमाउने किसान गाउँमा ढेड सय बढी छन । मोटरसाईकल, आफ्नै पम्पसेट लगायतका सामान जोडेका छन् किसानहरुले । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुका अनुसार साविक धनकौली गाविस र हालको बुद्धभूमि नगरपालिका वडा नं. १० मा २ सय २५ हेक्टरमा तरकारी खेती गरिन्छ । जसबाट बसन्ते र हिउँदे गरी ४ हजार ६ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।

परियोजनाले यहाँका किसानका लागि विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । कृषिको यान्त्रीकिकरण, बीउपल, सिंचाई, बजारीकरण लगायतका क्षेत्रमा परियोजनाले सघाएपछि किसानले उत्पादनमा मनग्य वृद्धि भएको हो ।

सदरमुकाम तौलिहवा देखि ४ किलो मिटर उत्तर बाणगंगा नदीको छेउमा रहेको धनकौलीमा सुरुका दिनमा अभाव र कष्ट झेलेका किसानले गरेको महिनेत र परियोजनाले गरेको सहयोगले रंग देखाएको छ । तरकारी खेतीबाट करोडौको मालिक बनेका देबपुरका अगुवा किसान फूलचन्द केवटले तरकारी खेतीबाट बार्षिक १० लाख बढी आम्दानी हुने गएको बताए । सुरुका दिनमा टोकरीमा गाउँ गाउँमा डुलाएर तरकारी बेचेर जीवन निर्वाह गरेका उनले अहिले तरकारी खेतीबाट सबै भन्दा बढी आम्दानी गर्ने किसानको रुपमा चिनिएका छन ।

देउपुरा कै राम सरन केवट, रामजी केवट लगायत २० जना भन्दा बढीले तरकारी खेतीबाट बार्षिक २ देखि ५ लाखसम्म आम्दानी गदै आउनु भएको छ । २०४० साल ताका सिंचाईको सुबिधा नहँुदा गाउँकै घोराही नाला तथा बाणगंगा नदीबाट बधा बाधेर सिंचाई गरी खेती गरिएको धनकौलीमा अहिले घरघरमा पम्म सेट, ढिकी पम्प, बोरिङबाट बालीमा पानी हाल्ने गरिएको ६० बर्षे रामजी केवटले बताए । ‘सुरुका दिनमा गाउँका सबै कृषहरुले निकै संघर्ष गर्न परेको थियो, घर चलाउनै मुस्किल पथ्र्यो । ’ उनले बिगत सम्झदै भने ‘तरकारीबाट यस्तो स्थिति आउँला भन्ने कसैले कल्पनासम्म गरेको थिएन ।’

१५ बर्ष मै हेर्दा हेर्दै तरकारी खेतीबाट गाउँकै जीवनस्तरमा कायापलट भएको उनले बताए । कृषकहरुले सबै भन्दा बढी टमाटरबाट आम्दानी गर्ने गरेका छन् । त्यस्तै गोभी, बन्दा, भान्टा, बोडी, काउली, काक्रो, भिन्डी, लौका लगायतका तरकारीबाट समेत बढी आम्दानी हुने गरेका उनीहरु बताउँछन् । एक कठ्ठा क्षेत्रमा लगाएको टमाटरबाट एकै सिजनमा ७० हजारसम्म आफूहरुले कमाउने गरेका अर्का कृषक उमेश केवटले बताए ।

यस्तै बगरे खेतीमा बदाम, सखरखण्ड, खरबुजा, काँक्रो लगायतका चिसो फल उत्पादन गरेका एकै सिजनमा एक देखि दुई लाख थुप्रै कृषकले आम्दानी गर्ने गरेको मेघनाथ केवट बताउँछन् ।

उत्पादित तरकारीको बजारीकरणका लागि समेत उनीहरुलाई कुनै समस्या छैन । ६ बर्ष अघि किसानको अगुवाईमा खोलिएको रामघाट कृषि उपज संकलन केन्द्रले उनीहरुलाई तरकारी बिक्री गर्न निकै सजिलो भएको बताउँछन् । उत्पादित तरकारी बुटवल, भैरहवा, पाखेरा काठमाडौं अर्घाखाँचीका व्यापारीहरु किन्नका लागि गाडी लिएरै खेतैमा आउने गरेको संकलन केन्द्रका अध्यक्ष बहराची केवटले बताए ।

धनकौली तरकारी उत्पादनमा जिल्लामा अग्रणी स्थानमा रहेको परियोजनाका जिल्ला प्रमुख सहसराम चौधरीले बताए । यो । ‘धनकौलीले तरकारी उत्पादन गरेर जिल्लालाई नै आत्मनिर्भर बनाउने तर्फ उन्मुख गरेको छ’ उनले भने‘ धनकौलीका किसान जस्तै अन्य गाउँले पनि सिको गर्न जरुरी छ । ’ धनकौलीलाई तरकारी जोन कार्यक्रममा समेटिएपछि यहाँका किसान झन उत्साहित बनेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८० शुक्रबार ००:००  ४ : ३७ बजे