१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

फेरिएन प्राचीन नगर कपिलवस्तु, भद्रगोल संरचनाले सबैलाई सास्ती



दिपक अनुरागी, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाभित्रकै स्थानीय अझै टुकीको भरमा छन् । बुद्धकालीन राजधानी कपिलवस्तु ०३९ सालमै नगरपालिका भएको थियो । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट पनि त्यहीँ पर्छ । भद्रगोल संरचनाका कारण त्यहाँ आउने पर्यटकसमेत सास्ती खेप्न बाध्य छन् । यहाँ सडक, नाली, फोहोर, खानेपानी, शौचालय व्यवस्थापनको कामै भएको छैन । यत्रतत्र छरिएको फोहोरले नगर दुर्ग्न्धित छ । सडकमा हिँड्नै नसक्ने अवस्था छ ।
बजारका सडक, गल्ली पनि निकै साँघुरा छन् । मुस्किलले मोटरसाइकल छिर्छन् । अव्यवस्थित बसोवासले पनि बाटोघाटो अतिक्रमणमा परेका छन् । बजारभित्र एउटा पनि सार्वजनिक शौचालय छैन । व्यवस्थित बसपार्क छैन । फोहोर फाल्ने डम्पिङसाइड पनि छैन । बसपार्क र हाटबजार व्यवस्थित बनाउन ठेक्का लगाइए पनि ठेकेदारले समयमै काम नगर्दा समस्या परेको नगरवासीको गुनासो छ ।
साविकका ५ गाविस गाभिनुअघि नै नगरपालिकामा ७५ प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्र थियो । धरमपनिँया, दोहनी, जहदी, निग्लिहवा र सौराहा थपिएपछि ९० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्र भएको छ । १२ वडामध्ये १ र ४ को पूरै बस्ती सहरी क्षेत्र हो । वडा नम्बर ३ को आधीबाहेक सबै ग्रामीण बस्ती हुन् । १२ वडा रहेको नगरपालिकामा ७६ हजार ३ सय ९४ जनसंख्या छ ।
‘पुरानो नगरपालिका भएर पनि कपिलवस्तु निकै पछि परेको छ’, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले भने, ‘नगरमा भौतिक पूर्वाधार अभाव छ । नगरमा गाउँ बढी रहेकाले पिछडिएको छ ।’ ग्रामीण क्षेत्रमा कालोपत्रे बाटो निकै कम छ । अधिकांश ठाउँमा धुलौटे र कहीँ–कहीँ ग्राभेल बाटो छ । अशोक स्तम्भ पुग्ने बाटोको अवस्था झन् दयनीन छ ।
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्राट् अशोकद्वारा निर्मित स्तम्भ बुद्धधर्मावलम्बीका लागि आस्थाको ठाउँ हो । चिनियाँ पैदलयात्री फायहानले गोटिहवालाई क्रकुच्छन्द बुद्धले ज्ञान प्राप्त गरेपछि पितापुत्रले भेटघाट गरेको स्थलका रूपमा चित्रित गरेका छन् । त्यस्तो ऐतिहासिक ठाउँमा जाने बाटो पनि जीर्ण छ ।
गरिबी र अशिक्षा व्याप्त छ । नगरपालिका भए पनि बर्दहवा गाउँका ८ घर दलित समुदायले अझै बिजुली बाल्न पाएका छैनन् । गाउँमा बिजुली पुगेको दशक भइसक्दा पनि उनीहरू टुकी बालेर बसेका छन् । तीन दशकअघिको सबैभन्दा पुरानो नगरपालिकाको गाउँ विकटभन्दा पनि बिजोग छ । नगरको दक्षिण क्षेत्रमा सिँचाइ सुविधा छैन । लौसाकी चनरमति रैदासले भनिन्, ‘भगवान् भरोसामा अन्न उब्जनी गर्छाैं ।’ सिँचाइ नहुँदा कतिखेर पानी पर्छ भनेर आकाश हेर्दै दिन बित्ने गरेको उनले सुनाइन् ।
उनले भनिन्, ‘सरकारी राहतका कार्यक्रम नहँुदा थप मारमा परेका छौंं ।’ यो नगरपालिकाको सबै गाउँमा जाने राम्रो बाटोसमेत छैन । मेयर किरण सिंह भने अब नगरको मुहार फेर्ने बताउँछन् । ‘दुई दशकसम्म जनप्रतिनिधि नहँुदा बेथिति बढेको थियो,’ मेयर सिंहले भने, ‘अब हामी सही बाटोमा ल्याउँछौं, स्रोत कम हुँदा एकै पटक सबै ठाउँमा परिवर्तन देखाउन समस्या भइरहेको हो । ’

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ३ : ३८ बजे