२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कपिलवस्तुमा लेबल बिनाका चाउमिन खुलेयाम विक्री, उपभोक्ताको स्वास्थ्यमा खेलवाड



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका मुख्य बजारहरुमा लेवल बिनाका खाद्यबस्तु खुलेयाम विक्री वितरण गरेको भेटिएको छ । जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा, बुद्धभूमिको गोरुसिंगे, वाणगंगाको चारनम्बर पिपरा, कपिलवस्तु नगरपालिकाको तौलिहवा, कृष्णनगर लगाएतका स्थानमा खुलेयाम लेवल नलगाएका खाद्यबस्तु चाउमिन विक्री वितरण भएको हो ।
दैनिक रुपमा लेबल विनाका चाउमिन सहित अन्य खाद्यवस्तु खुलेयाम विक्री वितरण गर्दा समेत नियमन निकाय बेखबर बनेको हो । मोटरसाईकल तथा साना सवारी साधनबाट लेबल बिनाका खाद्यबस्तु गैर कानुनी रुपले विक्री वितरण गर्दा समेत बजार निरिक्षण भएको पाइदैन ।
उपभोक्ताले उपभोग गर्ने खाद्यवस्तुमा बनेको मिति, मूल्य, नेट तौल, उत्पादक कम्पनी, दर्ता लगाएतका आवश्यक कुनै पनि विवरण उल्लेख छैनन । त्यस्ता चाउमिनहरु कहाँ, कसले विक्री वितरण गरीरहेको छ भन्ने बारेमा समेत होटल संचालक बताउन हिच्चकिचाउने गरेका छन् ।
सस्तो मूल्यका कारण होटल संचालकले त्यस्ता खाद्यवस्तु (चाउमिन) खरिद गर्ने गरेको पाइएको छ । व्यवसाय नै दर्ता नगरी लेवल विनाको चाउमिनहरु धमाधम विक्री हुँदा त्यस्को गुणस्तर मापन गर्न नसकिने सचेत उपभोक्ताहरु बताउछन् । उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न नहुने बताउदै स्थानीय सरकारको यथोचित ध्यान पुग्न नसकेकोले स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने अधिकारकर्मी नन्दराम पौडेल बताउछन् । लेबल नभएका खाद्यवस्तुको नियमन र नियन्त्रणमा उपभोक्ता संरक्षण ऐन अनुसार कार्वाही हुने कानुनी व्यवस्था छ ।
उपभोक्ता हित संरक्षण मंच कपिलवस्तुका सचिव राजेन्द्र विक्रम शाहले सोचे अनुरुप उपभोक्ताको हक अधिकार संरक्षणमा काम गर्न नसकिएको बताए । दैनिक उपभोग्य बस्तुको गुणस्तर कायम गर्दै उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नहुने शाहको भनाई छ । कपिलवस्तुको तौलिहवामा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको इकाई रहेपनि बजारमा विक्री वितरण भएका खाद्यवस्तुको नियमित निरिक्षण भएको छैन । तौलिहवा स्थित कार्यालयले स्थानीय सरकारको समन्वयमा चाडपर्व केन्द्रित बजार अनुगमन गरेता पनि नियमित अनुगमन नगर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परेको समाजसेवी डोलकराम घिमिरेले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले व्यवसाय दर्ता नबीकरण, बजारलाई व्यवस्थित गर्ने र प्रचलित कानुन बमोजिम भए नभएको नियमन गर्ने निकाय आफनो भएपनि खाद्यवस्तुको निरिक्षण गर्न निरिक्षण अधिकृतको अधिकार आफनो कार्यालयमा नभएको स्पष्ट पारे ।
उपभोक्ता हित संरक्षण ऐनको प्रभावकारी कार्यान्वयनमा नियमावली नबन्दा पनि मातहतको कार्यालयले काम गर्न कठिनाई भएको कार्यालय प्रमुख केसीले बताए । ती कार्यलाई नियमन गर्ने निकाय वाणिज्य कार्यालय रहेको भएपनि त्यस कार्यालयको भने उपस्थिती न्यून छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ६ : ४७ बजे