२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

स्पेनी प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाइरस



स्पेन ।

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ।
स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ। स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ुलकडाउनु सुरु गरेको छ।
उसको यो निर्णय प्रमपत्नीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको केही समयपछि आएको हो।
स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न भनेको छ।
उसले खाना लगायतका वस्तुको विक्री गर्ने बाहेकका बार, रेष्टुरेन्ट तथा पसलहरू बन्द गर्न निर्देशन दिएको छ। यसका अलावा सिनेमा हल, स्विमिङ पुल, थिएटर तथा फुटबल रंगशाला जस्ता मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय पनि गरेको छ।
यसैगरी सोमबारबाट लागु हुने गरी उसले आन्तरिक एयरलाइन्स,रेल तथा डुङ्गा संचालकहरूलाई आफ्नो सेवा आधाले कटौती गर्न भनेको छ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ३ : ३९ बजे