१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रजिअ पाण्डेलाई कपिलवस्तु उद्योग बाणिज्य संघले गर्यो स्वागत र सम्मान



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु जिल्लामा भर्खर आउनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे (सहसचिव) लाई कपिलवस्तु उद्योग बाणिज्य संघले स्वागत र सम्मान गरेको छ । संघको कार्यालय जितपुरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी पाण्डेलाई स्वागत र सम्मान गरिएको हो ।
संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान अध्यक्ष उमानाथ पौडेले, पुर्वअध्यक्षहरु बिष्णु प्रसाद न्यौपाने, देवी पाण्डे, यज्ञ प्रसाद भट्टराईले पाण्डेलाई खादा र मायाको चिनोले सम्मान गर्नु भएको थियो ।

सिडिओ पाण्डे कपिलवस्तुमा आएको जम्मा ६ दिन मात्र भएको छ । जिल्लामा उहाँलाई पहिलोपटक संघले सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको अध्यक्ष घिमिरे र पूर्वअध्यक्षहरुले बताउनु भयो ।

संघका अध्यक्ष घिमिरेले तस्करहरुको विगविगी अन्त्य गरी ब्यापारी व्यवसायीलाई सहज वातावरण प्रदान गर्नको लागि पाण्डेलाई आग्रह गर्नु भयो । भन्सार छलेर सामान भित्राउने र कर तिरेका ब्यापारीलाई मर्कामा पार्ने काम तस्करहरुले गर्ने गरेको भन्दै यसमा कडाई गर्न उहाँको विशेष आग्रह छ । लागु पदार्थ दुव्र्यसन लगायतका समस्या यहाँका प्रमुख समस्याको रुपमा रहेको हुँदा यसतर्फ मातहतका निकायलाई सक्रिय बनाउन पनि उहाँको ध्यानाकर्षण छ ।

निवर्तमान अध्यक्ष उमानाथ पौडेलले उद्योग संघ र प्रशासनले अहिलेसम्म गरेका सहकार्यको फेहरिस्त सुनाउँदै ब्यवसायीको हक हित हुने गरी काम गर्न सुझाउनु भयो । पूर्वअध्यक्षहरु विष्णु प्रसाद न्यौपाने, देवी पाण्डे, यज्ञ भट्टराई, नागरिक समाजका अध्यक्ष दोलखराम पछाई, संघका उपाध्यक्षद्धय शालिकराम भुसाल र इन्दिरा पन्त लगायतले बोल्दै जिल्लाका समस्याका बारेमा बताउँदै उद्योगमैत्री वातावरण र प्रशासन बनाउन आग्रह गर्नु भएको थियो ।

सबैका कुरा सुनिसकेपछि प्रमुख अतिथि पाण्डेले आफ्नो कार्यअवधिभर कसैलाई निरास पार्ने गरी काम नगर्ने विश्वास दिलाउनु भएको छ । आफू छिमेकी जिल्लाको बासिन्दा भएकाले पनि कपिलवस्तुलाई राम्रो बनाउने काम आफ्नो हातमा भएको बताउनु भयो । राम्रा र जायज काममा सरल र गलत काममा कठोर बन्ने आफ्नो स्वभाव रहेको हुँदा यसै अनुसार गर्न गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

उद्योगी व्वसायीहरु पनि कानुनको पालक भएको बताउँदै उपभोक्ताको स्वास्थ्य र खाद््य अधिकार हनन हुने गरी केही गर्न नहुने उहाँको भनाई छ । बजार अनुगमन लगायतलाई बारम्बार गर्नु पर्ने भन्दै आफू जहिले पनि सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो । वेथिति, विसंगति, अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायममा आफू नचुक्ने बताउँदैसहज प्रशासनिक सेवा दिने बातावरण बनाउन आफूले मिहिनेत गर्ने उहाँको भनाई छ ।

महासचिव मनोज पौडेलेको संचालनमा सम्पन्न स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छवी रेश्मी मगर, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त न्यौपाने, उद्योग संघका पदाधिकारी, सल्लाहाकार, पत्रकार लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ४ : ५६ बजे