कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्रले बाढीपीडित तथा प्रभावित समुदायको सहयोगका लागि १ लाख ११ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संस्थाले उक्त रकम राहत काेषमा सहयोग गरेको हो।
संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरी जिल्ला प्रशासन कार्यालयमा सहयोग रकमको भौचर तथा विवरणसमेत उपलब्ध गराएको संस्थाका अध्यक्ष तिलोचन घिमिरेले जानकारी दिए।
संस्थाका कोषाध्यक्ष ध्रुव बेल्वासेका अनुसार विपद् राहत कोषबाट ५१ हजार ५५ रुपैयाँ र संस्थाका सदस्य तथा कर्मचारीबाट ६० हजार रुपैयाँ संकलन गरी कुल १ लाख ११ हजार ५५ रुपैयाँ सहयोग गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले विपद्का बेला सहयोग गर्ने सिद्धार्थ सामाजिक विकास केन्द्रप्रति धन्यवाद व्यक्त गर्दै देशमा आइपरेको विपत्तिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।
संस्थाका अध्यक्ष घिमिरेले बाढीका कारण ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरे।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीका कारण हजारौँ नागरिक घरबारविहीन भएका छन्। विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सरकारले सहयोग गर्न आह्वान गरेसँगै विभिन्न संघसंस्था तथा नागरिकले सहयोग रकम उपलब्ध गराउँदै आएका छन्।
यसैबीच संस्थाद्वारा वाणगंगा ८ मा गठित नवदुर्गा स्वावलम्बन समूहले ८ हजार ५ रूपैया प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा पठाएकाे छ ।









प्रतिक्रिया