१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामा विद्यालय–प्रहरी समझदारी पत्रमा हस्ताक्षर, ३० हजार विद्यार्थी लाभान्वित हुने




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयमा विद्यालय–प्रहरी साझेदारी र समझदारी पत्रमा हस्ताक्षर भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नगरपालिकाको हलमा आयोजना गरेको एक भव्य समोराहकाबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारी र क्याम्पसको हकमा सिद्धार्थ क्याम्पस बुङ्चीबाट प्राचार्य खेमराज शर्मा, सामुदायिक विद्यालयबाट जनज्योति मावि मोतिपुरका प्रधानाध्यापक विष्णु भण्डारी र नीजि विद्यालयको तर्फबाट चिल्ड्रेन प्याराडाइज स्कुल बोडगाउँका प्राचार्य केशव सापकोटाले प्रतिनिधित्व गर्दै संयुक्त हस्ताक्षर गर्नु भएको हो । उहाँहरुले यो पाठ्यसामग्रीलाई विद्यालयमा कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता जनाउनु भयो ।

बिभिन्न किसिमका अपराध नियन्त्रण, यौनहिंसा, सामाजिक विकृतिको अन्त्य गरी समाजमा शान्ति सुरक्षा कायममा सहयोग पुगोस् भन्ने उदेश्यले नेपाल प्रहरी मातहत रहेर पाठ्याक्रम नै बनाइएको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सानो तथ्याङ्किय प्रस्तुति राख्नु भएका एसपी अधिकारीले बिभिन्न अपराधहरुमा बालबालिका र विद्यार्थी नै संलग्न रहेको खुलासा गर्नुभयो ।जिल्लामा गत तिन बर्षको जिल्लाको तथ्यांक हेर्दा आपराधिक गतिविधिमा विद्यार्थी र बालबालिकाको संलग्नता उच्च रहेको पनि अधिकारीले प्रष्ट्याउनु भयो । यसकारण पनि यो कार्ष आवश्यक भएको उहाँको भनाई छ ।
पाठ्यसामाग्रीमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गराउन सके मात्र पनि पनि समाजमा शान्ति सुरक्षा कायममा उल्लेख्य प्रगति हुने उहाँको विश्वास छ । समझदारीको कार्यन्वयन पत्र नगरप्रमुख मंगल थारुलाई हस्तान्तरण गर्दै उहाँले लागु पदार्थ दुव्र्यसनी लगायतका समस्याबाट विद्यार्थीलाई जोगाउन पनि यो पाठ्यक्रम निकै उपयोगी हुने बताउनु भयो । कार्यक्रममा नगरका क्याम्पस, सामुदायिक र नीजि विद्यालय गरी ७० बढी प्राचार्य तथा प्रधानाध्यापकहरुको सहभागिता थियो ।


यसैबीच कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समुदाय–प्रहरी साझेदारी पत्रमा हस्ताक्षर गरेर मात्र नभई यसको पूर्ण कार्यान्वयन गराउन सके मात्र नतिजा हासिल गर्न सकिने बताएका छन् ।
नगरप्रमुख मंगल थारु र उपप्रमुख चक्रपाणी अर्यालले प्रहरीको अभियान निकै राम्रो भएको भन्दै नगरले कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता जनाउनु भयो । यसको लागि सबैको साथ आवश्यक रहेको उहाँहरुको भनाई छ ।

कपिलवस्तुमा भर्खर मात्र आउनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विद्यालयहरुमा यो कोर्श आवश्यक रहेको बताउनु भयो । यस कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गराउनु सके नतिजा राम्रो आउने उहाँको भनाई छ ।

शिक्षक समाजको अभिन्न अंग भएकाले उहाँहरुले के सिकाउनु हुन्छ ? कस्तो सिकाउनु हुन्छ ? त्यसैमा यसको सफलता असफलता रहने बताउनु भयो । यो अभ्यासको लागि उहाँले जिल्ला प्रहरी कार्यालयलाई धन्यबाद दिनुभयो । फरक प्रसंगमा जिल्लामा अपराध नियन्त्रण, शान्तिसुरक्षा कायममा आफू जतिखेर पनि खट्ने उहाँको भनाई छ ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँडी, नगरका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख (उपसचिव) बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी, शशष्त्र प्रहरी बलका शशष्त्र प्रहरी उपरिक्षक ध्रुव अधिकारी, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, पंच आधारभूत माविका प्राचार्य जगत्राज रेग्मी लगायतले बोल्दै पाठ्यक्रम कार्यान्वयनमा जोड दिनुभयो ।

शिक्षा शाखा प्रमुख भट्राईले नगरमा ३० हजार विद्यार्थी रहेको बताउँदै यो पाठ्यक्रमले ती सबै लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो । उहाँका अनुसार विद्यालयमा २७ हजार र क्याम्पसमा ३ हजार विद्यार्थी रहेको तथ्याङ्क बताउनु भएको थियो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले संचालन गर्नुभएको कार्यक्रममा पाठ्यक्रम निर्माण सहयोग गर्ने सिद्धार्थ सामाजिक विकास संस्थालाई सम्मान गरिएको थियो भने भर्खर आउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई नगरले स्वागत र सम्मान पनि गरेको थियो ।कार्यक्रममा सहभागिपश्चात नगरको प्राङगणमा खिचिएको तस्विर ।

तस्विरमा नगरका सबै क्याम्पस, विद्यालय (नीजि-सामुदायिक ) का प्रधानाध्यापक तथा प्राचार्यहरु ।

No description available.

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ४ : १८ बजे