११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

बाणगंगामा कार्यकारीलाई टिक्नै सकस ! एक बर्षमै ४ जनाको अदलबदल, भयो के ?



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

इश्मा गाउँपालिका १ गुल्मीका तुलसीराम मरासिनी कपिलवस्तुको बाणगंगा नगरपालिकामा सबैभन्दा लामो समय ३२ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे । २०७३ १२ ९ गते नगरमा हाजिर भएका उनको हातमा सरुवा पत्र आएपछि २०७६ २६ गते उनी विदा भए ।

त्यसपछि नगरमा कार्यकारी प्रमुखको रुपमा पर्वत ८ फलेबास स्थायी घर भई हाल बुटवल बस्दै आएका कृष्ण प्रसाद सापकोटा २०७६ २६ गते नगरमा हाजिर भए । त्यसको तीन महिना पुरा हुँदा नहुँदै उनको हातमा पनि सरुवाको पत्र थमौती भयो । उनले २०७६ २६ गते नगरबाट विदा लिए । सापकोटाको सरुवा लगत्तै फेरि नगरमा रेसुङ्गा नगरपालिका ७ गुल्मीका चुरामणी पन्थी प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरमा अवतरण भए ।

तर, उनी पनि धेरै समय टिक्न सकेनन् । २०७६ १० ६ गते हाजिर भएका उनी २०७७ ३० गते ९ महिनामै विदा भए । त्यसपछि आए तुलसीपुर उपमहानगरपालिका दाङका गेहेन्द्र बहादुर डाँगी । उनी त ‘आयाराम गयाराम’ भनेजस्तै २०७७ १ गते हाजिर लगाउन आएर ७७ १२ १७ गते नगरको हाजिरी रजिष्ट्ररमा अन्तिम हाजिर गरे । उनी त झन् ३ महिनामै विदा भए । अहिले नगरमा ७६ पछि पाँचौँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्घाखाँची स्थायी घर भएका बासुदेव खनाल आएका छन् । उनको कार्यकाल कति समयको हो हाजिर हुँदाको दिनबाट गन्ति सुरु भइसकेको छ ।

मुलुककै उत्कृष्ट नगरपालिकाको ‘पगरी’ गुथेको बाणगंगा नगरपालिकामा अहिले कार्यकारी टिक्ने विषय समस्याको रुपमा देखिएको छ । जसको प्रत्यक्ष मारमा नगरबासी परेका छन् । तुलसीराम मरासिनी ३२ महिना टिके तर त्यसपछिका कार्यकारी प्रमुखहरु १० महिना पनि टिक्न सकेनन् । कतिपय ३ महिनामै विदा भए भने कतिपयले सकसपूर्ण ९ महिना विताए । मरासिनीपछि आएका कार्यकारी कमशल भने होइनन् तर टिक्न नसक्दा यसले चौतर्फी प्रश्न सिर्जना गरेको छ । कार्यसम्पादन र कामको अनुभव हेर्दा सापकोटा, पन्थी र डाँगी कुशल प्रशासक नै मानिन्छन् ।

तुलसीराम पछि आएका सापकोटा बाणगंगा नगरमा आउँदा भव्य स्वागत पनि भयो । रुपन्देहीको तिलोत्तमा नगरलाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सापकोटाले अहम् भूमिका खेलेको भन्दै बाणगंगाबासीमा एक प्रकारले खुसीयाली नै छाएको थियो । तर उनी छोटो समयमै विदा भए । नगरमा बस्दै गर्दा उनको जनप्रतिनिधिसंग हल्का खटपट हुने गरेको सरुवापछि सुन्नमा आयो ।

उनी खर्चमा मितव्ययी र कामलाई प्राथमिकता दिने प्रशासक भएको हुनाले त्यो पचाउन नगरका जनप्रतिनिधि र कर्मचारीलाई सकस भएको अहिले बुझ्दा पाइयो । अर्को तर्फ नगरको प्रशासनीक काम नयाँ भवनमा आउँदा पनि त्यहाँ जनप्रतिनिधिसंग हल्का कुरा नमिलेको बताइन्छ । त्यससंगै ‘नगरको म सफा गर्छु’ मेरो अभियानमा सापकोटाले केही नयाँ पन दिने गरी हरियाली प्रवद्धन पनि थपेर आफ्नै ढंगले काम गर्न चेस्टा गरे । यो कुरा मेयर, उपमेयर र जनप्रतिनिधिलाई त्यति मन नपरेको विशेष श्रोतबाट खुलासा भएको छ । त्यसैले आफ्नो अकाट्य छवि बचाउन रातारात काठमाण्डौँ कुलेलम ठोकेर सापकोटाले सरुवा पत्र बनाएका बुझिन्छ ।

त्यसपछि आएका पन्थी निर्वाचन आयोगबाट लामो अनुभव प्राप्त ‘स्टेट फरवाड’ प्रशासक मानिन्छन् । पन्थी र कर्मचारी, जनप्रतिनिधिको हेलमेल देख्दा सुरुमा उनी टिक्छन् जस्तै लागेको थियो । जनप्रतिनिधि र कर्मचारीसंग पनि उनको राम्रै सम्बन्ध र साँठगाँठ थियो । तर खोला विवादले गर्दा पछि समस्यामा परिन्छ कि भनेर समयमै बाटो रोज्नु उचित मानेर छुट्टी लिइ काठमाण्डौँ गएर सापकोटाले जस्तै पन्थीले पनि सरुवाको सरप्राइज नगरबासीलाई दिए ।

पन्थीपछि आई तिन महिनामै सरुवा भएका डाँगीको कुरा गर्ने हो भने उनी खरो स्वभावका थिए । उनको कुरा गर्नुपर्दा उनी राम्रो छवि बोकेका कार्यकारी मानिन्छन् । विशेष स्रोतका हनुसार उनको यही स्वभावका कारण तिन महिनामा डाँगीसंग नगरका जनप्रतिनिधि र कर्मचारी पनि रुष्ट थिए । पछिल्लो समय डाँगी पिपरा अस्पतालसंग रुष्ट थिए । यस विषयमा जनप्रतिनिधि, स्वास्थ्य शाखा र अस्पतालसंग उनको मत बाझिएको थियो । उनले एक सार्वजनिक कार्यक्रममै यो विषयमा बोलेका थिए भने आफूले स्वच्छ छविले काम गर्न नपाएको गुनासो पनि गरिरहन्थे । उनले आफू अनुकुल काम गर्न नपाएपछि विवादित हुन भन्दा अर्को निर्णयमा जानु उचित ठानेर डाँगीले पनि रातारात काठमाण्डौँ गएर सरुवा पत्र गोजिमा बोकेर आए । यी त प्रतिनिधि एकएक साना कारण मात्र हुन् । स्वयम सरुवा हुने कर्मचारी र नगरका जनप्रतिनिधिलाई अरु थाहा होला ।

मुलुकको उत्कृष्ट नगरपालिकाको उपाधि दिलाउन सफल तुलसीराम मरासिनीबाहेक अरु कार्यकारी टिक्न नसक्नुलाई नगरका पुराना कर्मचारी र जनप्रतिनिधिले आफ्नै कारण भनेका छन् । यस विषयमा बुझ्न खोज्दा प्रमुख मंगलप्रसाद थारुको फोन उठेन । नगर उप–प्रमुख चक्रपाणी अर्यालले भने कार्यकारी सरुवामा आफूहरुबाट कुनै समस्या नभएको बताए ।

आफ्नै बढुवा र गत्तिलो ठाउँ खोज्दै सापकोटा, पन्थी र डाँगीले नगर छाडेको अर्यालले बताए । उनले भने हाम्रो (जनप्रतिनिधि) को कामको स्पिड समात्न नसकेपछि कर्मचारी भाग्छन् । १ बर्षमै ३ कार्यकारी परिवर्तन हुँदा नगरबासीमा भने राम्रो सन्देश नगएको उनको भनाई छ । कार्यकारी सरुवाका कारक जनप्रतिनिधि हुन् ? भन्ने प्रश्नमा उहाँले प्रतिवाद गर्नुभयो । उहाँले भन्नुभयो यसो होइन उहाँहरुले आफ्नै कारणले सरुवा पत्र लिनु भएको हो । नगरको केही दोष छैन ।

तर केही सरोकारवाला भने कार्यकारी सरुवा हुनुमा नगरका जनप्रतिनिधि र कर्मचारी नै कारण भएको बताउँछन् । काम नगर्ने, तलवभत्ता पचाउने, बिभिन्न एनजिओ, आइएनजिओ भत्ते कार्यक्रममा समय दिने, जनताको काम नगर्ने, ठेकदारहरुसंग मिल्ने जनप्रतिनिधि र अरु कर्मचारीको कारण नगरले राम्रा प्रशासक पनि गुमाउन बाध्य भएको नाम नभन्ने सर्तमा एक जनाले बताए । उनले भने स्थानीय सरकार आएको तिनतिन बर्षमा नगरमा के त्यस्तो उल्लेखनीय काम भयो, मलाई बताइदिनुहोस् पत्रकार महोदय । भएका भए अलिअलि बाटो पिच भएका होलान् । अरु के भयो नगरमा उनले प्रश्न गरे ?

यति लामो समयसम्म एउटा डम्पिङ साइट नबन्नु, बसपार्क नबन्नु, गौशाला नबन्नु नगरको लागि विडम्बना हो । यसमा मेयर र उपमेयर असफल भए बाणगंगा १ का बुद्धिसागर बेलबासेले भने । एकदुईजना वडाध्यक्षले नगरको नाक भाँच्नबाट जोगाएका छन् झण्डै उनले भने ।

अर्कोतर्फ नयाँ कार्यकारी नटिक्नुमा कर्मचारी–कर्मचारीबिचको आन्तरिक द्धन्द्ध रहेको पनि विशेष श्रोतबाट खुलासा भएको छ । नयाँ कर्मचारीलाई पुराना कर्मचारीले नटर्ने, हाकिमको आदेश पालना गर्न नखोज्ने, मान मर्दन गर्न खोज्ने, समयमा काम नगरिदिने, आलटाल गरिदिने इत्यादि समस्या पनि कार्यकारी टिक्नुमा समस्या भएको नगरभित्रकै श्रोतले बतायो । यस्तै कतिपय वडाध्यक्षलाई कार्यकारीले मान्नु पर्ने स्थिति पनि नगरमा ब्याप्त हुँदा पनि यो समस्या भएको बताइन्छ । उपसचिवस्तरको ब्यक्तिले यो अपमान सहनुभन्दा चाँडै बाटो तताउनु राम्रो ठानेर पुरा समय कार्यकारी टिक्न नसकेको सरोकारवाला बताउँछन् ।

गर्नै नहुने, अनियमित काममा राजनैतिक दबाब र हस्तक्षेप पनि बाणगंगाको प्रमुख प्रशासकीय अधिकृत सरुवामा कारकको रुपमा देखिएको एकथरी बताउँछन् । नदीजन्य पदार्थको निवासी, ढुवानी, बिभिन्न, टेण्डर इत्यादिमा राजनैतिक दलको सोर्स लगाएर जनप्रतिनिधिले कार्यकारीलाई दबाब दिँदा समस्या उत्पन्न भएको सजिलै बुझ्न सकिन्छ ।

यता छिटोछिटो कार्यकारी सरुवाले नगरबासीको काममा भने मार परेको छ । कतिपय अवस्थामा निमित्तको भरले नगर चलेको छ । पछिल्लो १ बर्षमा ३ महिना जति त शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख (उपसचिव) बाबुराम भट्राइले नै निमित्त भएर काम गर्नु पर्यो । कर्मचारी सरुवाले गर्दा कतिपय योजना र भुक्तिानीका काममा पनि समस्या भएको बुझिन्छ । प्रमुख प्रशासकीयको साइन लिन भन्दै नगरमा जाने र फर्कने समस्या त साधारण हो भने एक दिन आउँदा घण्टौँ कुरेर पनि काम नहुने समस्या समेत भएको सेवाग्राही बताउँछन् ।

यस्तै कार्यकारी नियमित रुपमा कार्यलयमा नहुँदा समग्र विकास निर्माको काम नै प्रभावित हुने स्वयम कर्मचारी बताउँछन् । योजना सम्झ्यौता, अनुगमन, मुल्यांकन, फरफारत, शुसासन, सेवा प्रवाह, नगरका महत्वपूर्ण निर्णय गर्न कार्यान्वयन गराउन, कार्यालय ब्यवस्थापन, आर्थिक अनुशाषनका काम गर्न पनि समस्या हुने बताइन्छ । यसैगरी कर्मचारी र जनप्रतिनिधिमा मनपरीतन्त्र हावी हुने समस्या पनि कार्यकारी नहुँदा ब्याप्त हुन्छ । अर्कोतर्फ सरुवा रोग बढ्दै जाँदा केही जनप्रतिनिधि र कर्मचारीको सिंगो गुट नै कार्यकारी सरुवाको खेलोमेलोमा लागेर आफ्नो स्वार्थ सिद्ध गर्ने जोखिम पनि उत्तिकै हुने जानकारहरु बताउँछन् ।

निजामति सेवा ऐनमा एक जना कार्यकारी कुनै पनि कार्यलयमा कम्तिमा पनि २ बर्ष बसेर काम गर्नु पर्ने प्रावधान छ । तर कोभिडको कारण नेपाल सरकारको सचिवले कार्यसम्पादन सम्झ्यौत गरी कार्यकारीलाई कम्तिामा पनि १ बर्ष टिक्नु पर्ने नियम बनाएको छ । यो प्रावधानको पनि बाणगंगामा धज्जी उडेको छ । बाणगंगा जस्तो नगरमा कर्मचारी किन टिक्न सकेनन् भनेर नागरिक समाज, बुद्धिजिवी, पत्रकार पनि अचम्मका परेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७ बुधबार ००:००  १ : १६ बजे