४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ



बुटवल । भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालनमा रहेको उक्त क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार मंगलबार राति जुवा खेलाउने ४ जना र खेल्ने १५ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका रहेका छन् भने बाँकी काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३ बुधबार ००:००  १० : २१ बजे