२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तु सवारी दुर्घटना अपडेटः घाइते अर्का पुरुषको निधन, ५ जनाको अवस्था गम्भीर



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा हिजो बस र ट्रक ठोक्किदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनाबाट घाइते भएका फुरवान खड्काको उपचारको क्रममा बुटवलस्थित क्रिमसन हस्पिटलमा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यस अघि लु १ ख ५६८४ नम्बरका बस चालक वाणगंगा २ का ४५ बर्षीय कृष्ण कुँवरको दुर्घटनाबाट उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतक खड्काको उमेर र ठेगाना यो समाचार तयार पार्दासम्म खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

दुर्घटनामा परी २८ जना घाइते भएकामध्ये रुपन्देही सैनामैना–३ का ४५ वर्षीय ट्रक चालक नारायण चौधरी, बसमा यात्रु बुद्धभूमि–४ की ३६ वर्षीया सावित्रा कुँवर, बाणगंगा नगरपालिका–८ का ४५ वर्षीय बिष्णु बञ्जाडे, बुद्धभूमि नगरपालिका–४ की २१ वर्षीया सुमित्रा कुमाल, बुद्धभूमि–२ का ५० वर्षीय मुसे थारुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलबार बिहान साढे १०ः४० बजे बुद्धभूमि–९ को जंगलमा ठोक्किएको थियो । घाइतेहरुलाई टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८ बुधबार ००:००  ८ : १० बजे