८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ब्राजिलमा २४ घन्टाभित्र तीन हजार ४७२ संक्रमितको मृत्यु



एजेन्सी

ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ।

त्‍यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार कोभिड–१९ सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनभित्र ज्यान गएको हो।

पछिल्लो मानवीय हताहतीसँगै ब्राजिलमा कोभिड प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको छ। त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। कोरोना भाइरस महामारी शुरू भएयता ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सङ्क्रमण भएको बताइएको छ।

हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेप्नु परेको समाचारमा जनाइएको छ। यस तनावका कारण यहाँका नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुर्‍याउनै समस्या भएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरू आइरहेका छन्। बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भैरहेको छ।

साओ पाओलो राज्य कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँमात्रै ९० हजारभन्दा पनि बढी नागरिकको ज्यान गएको छ। त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन्।

यहाँका नागरिकले कोरोनाका विरुद्धको खोप पनि लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  १२ : ४० बजे