२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कपिलवस्तुमै पहिलो पटक स्थानीयस्तरबाट कर सेवा



मायादेवी अनलाइन, जितपुर । बुद्धभूमि नगरपालिकाले नगरपालिकाबाटै आधारभूत कर सेवा प्रवाहको शुभारम्भ गरेको छ। साउन २६ गतेदेखि सुरु भएको सेवामार्फत नगरवासीले नयाँ प्यान दर्ता, प्यान नवीकरण तथा कर चुक्ता प्रमाणपत्र लगायतका आधारभूत करसम्बन्धी सेवा स्थानीय तहमै प्राप्त गर्न सक्ने भएका छन्।

नगरप्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपाने, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे, कर अधिकृत पिताम्बर न्यौपाने लगायतको सहभागिता रहेको थियो।

यसअघि आधारभूत कर सेवाका लागि सेवाग्राहीले कृष्णनगर तथा तौलिहवा पुग्नुपर्ने बाध्यता थियो। नगरपालिकाबाटै सेवा सुरु भएपछि व्यवसायी, उद्यमी तथा अन्य करदातालाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख कर अधिकृत न्यौपानेले कपिलवस्तु जिल्लामै पहिलोपटक स्थानीय तहबाट आधारभूत कर सेवा प्रवाह सुरु गरिएको बताउँदै यसले कर प्रशासनलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख श्रेष्ठले स्थानीय स्तरबाटै छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप कर सेवा सञ्चालनमा ल्याइएको बताए।

कार्यक्रममा कर अधिकृत पिताम्बर न्यौपानेले प्यान दर्ता तथा नवीकरण, कर चुक्ता, करदाताका दायित्व र आवश्यक प्रक्रियाबारे जानकारी गराएका थिए। कार्यक्रम सञ्चालन वरिष्ठ अधिकृत विजय भुसाल र स्वागत वरिष्ठ लेखा अधिकृत रेणुराम ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८३ बुधबार ००:००  ८ : १२ बजे