१५ आश्विन २०८०, सोमबार | Mon Oct 2 2023

अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पार्‍यो : मन्त्री शर्मा



काठमाण्डौ
अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको हो ।

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उहाँले बताउनुभयो । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पार्नुभयो । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैध बाटोबाट वस्तु आयात हुने गरेको मन्त्री शर्माले बताउनुभयो । उहाँले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नुपर्ने बताउनुभयो ।

अर्थ मन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नका लागि नीतिगत व्यवस्थाहरू स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताउनुभयो । उहाँले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर एक खर्ब ३१ अर्ब रुपैयाँ पुगे पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताउनुभयो । अब सरकारले विभिन्न नीति योजनाहरूमार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए देशको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  १ : ५६ बजे