कपिलवस्तु । मुद्दा मिलाइदिएर जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ठगी गर्ने एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहनुभएको छ।
अदालत र प्रहरीसम्म आफ्नो पहुँच रहेको भन्दै तेलीले पाँच लाख ६२ हजार रुपियाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनुभयो।
तेलीले बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानलाई उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने र कारागारबाट छुटाइदिने प्रलोभन देखाउँदै विभिन्न मितिमा पटक–पटक गरी उक्त रकम लिएका थिए।
अकबर अली २०८१ असोज ३० गते दर्ता भएको सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय तौलिहवा चलान भएका थिए। उनी डेढ महिनाअघि जेलबाट छुटेका थिए। सोही मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका तेली भने २०८२ जेठ १ गते छुटेका थिए।
जेलबाट छुटेपछि तेलीले अकबर अलीका बुवालाई भेटेर छोरालाई जेलबाट छुटाइदिने भन्दै रकम लिएको प्रहरीले जनाएको छ।
तेलीले विभिन्न सरकारी निकायमा आफ्नो चिनजान र प्रभाव रहेको दाबी गर्दै पीडितलाई जेलभित्रैबाट विश्वासमा पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो।
पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले तेलीलाई शिवराज नगरपालिका–७ रुपपुर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।







प्रतिक्रिया